२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

रेडियो नेपालमा दनुवार भाषामा समाचार प्रसारण हुने

रेडियो नेपालले दनुवार भाषामा पनि समाचार प्रसारण गर्ने भएको छ । हालसम्म विभिन्न २४ भाषामा समाचार प्रसारण गर्दै आइरहेको रेडियो नेपालले दनुवार भाषामा समेत समाचार प्रशारण गर्न लागेको हो ।  

रेडियो नेपालले आगामी असोज ३० गते दिनको ३ः१५ बजेबाट दनुवार भाषामा समेत समाचार प्रसारण सुरु गर्न लागेको एक विज्ञप्ती मार्फत जानकारी दिएको छ ।  

नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङको उपस्थितिमा उक्त भाषाको समाचार सुरु गरिने रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामाले जानकारी दिए ।  

रेडियो नेपालले दनुवार जागरण समितिलगायतका सरोकारवालाहरुको अनुरोध र  भाषा आयोगको सिफारिसमा २५ औँ राष्ट्रिय भाषाको रुपमा बागमती प्रादेशिक प्रसारण केन्द्रबाट दनुवार भाषामा समाचार प्रसारण गर्न लागेको कार्यकारी निर्देशक लामाको भनाइ छ ।  

दनुवार भाषा विशेषगरी नेपालको काभ्रेपलाञ्चोक, सिन्धुली, सिरहा, सर्लाही, महोत्तरी, सप्तरी, धनुषा, सिन्धुपाल्चोक, ललितपुर, उदयपुर, झापा, मोरङ, सुनसरी, चितवन, नवलपरासी, बारा, पर्सा, मकवानपुरलगायत ६२ वटा जिल्लामा बोलिन्छ । २०७८ सालको राष्ट्रिय जनगणना अनुसार यो समुदायको कुल जनसंख्या ८२ हजार ७८४ अर्थात् कुल जनसंख्याको ०.२८ प्रतिशत रहेको छ । सोही तथ्याङ्कअनुसार नेपालमा दनुवार भाषा बोल्नेको संख्या झण्डै ५० हजार रहेको छ । यो कुल जनसंख्याको ०.१७ प्रतिशतहो ।  

दनुवार भाषामा समाचार तथा कार्यक्रम समावेश भएसँगै रेडियो नेपाललाई भाषा, विषयवस्तु र जनशक्तिमा समेत थप समावेशी बनाउने उद्देश्यका साथ काम भइरहेको कार्यकारी निर्देशक लामाले जानकारी दिए ।  

भाषा आयोगले अतिसिमान्तकृत आदिवासी समुदायमा राखेको दनुवार भाषामा समाचार तथा कार्यक्रम समावेश गर्न पाउनु समावेशी प्रसारणको यात्रामा रेडियो नेपालले हाशिल गरेको थप उपलब्धी भएको उनले बताए ।  

प्रकाशित: २३ आश्विन २०८१ १४:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App