१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

विपद्मा परेका १७ हजारभन्दा बढीको सकुशल उद्धारः गृह मन्त्रालय

गृह मन्त्रालयले मुलुकभरबाट बाढी, पहिरो र डुवान लगायत प्राकृतिक विपद्मा परेका १७ हजारभन्दा बढीको सकुशल उद्धार गरिएको बताएको छ।

विपद्मा खोज उद्धारमा खटिएको नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्वयंसेवकहरुबाट गरी बिहीबार बिहानसम्म १७ हजार हजार १ सय २० जनाको सकुशल  उद्धार गरिएको गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव ऋषिराम तिवारीले बताए।

उनले विपद्मा परी बेपत्ता परेका २२ जनाको खोजी कार्य जारी रहेको जानकारी दिँदै विपद्का घटनामा परी मुलुकभर घाइते भएका १ सय ६९ जनाको विभिन्न अस्पतालहरुमा निःशुल्क उपचारको प्रवन्ध मिलाइएको बताए।

‘घाइते मध्ये धेरैको स्वास्थ्य अवस्था ठिक भएर घर फर्किसक्नु पनि भएको छ।’ प्रवक्ता तिवारीले भने, ‘विपद्का बेला अतिप्रभावित क्षेत्रमा सुरक्षाकर्मीद्धारा घटनास्थलमै स्वास्थ्य शिविर र तत्कालको राहत समेत वितरण गरिएको थियो।’

गृह मन्त्रालयका अनुसार हालसम्म काठमाडौं उपत्याबाट २ हजार १ सय ५८ जना, कोशी प्रदेशबाट ९० जना, मधेश प्रदेशबाट ३५ जना, सबैभन्दा बढी बागमती प्रदेशबाट १३ हजार ६ सय ४० जनाको उद्धार गरिएको छ।

त्यसैगरी गृह मन्त्री रमेश लेखकले खोज, उद्दार तथा राहत वितरणका साथै अवरुद्ध राजमार्ग खुलाउन सरोकारवाल निकाय एवं मन्त्रालयसित समन्वय गरिरहेका छन्।

उनले प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई उद्दार, राहत वितरण र घाइतेहरुको स्वास्थ्य उपचारमा विषेश ध्यान दिन निर्देशन दिएका छन्।

त्यस्तै काठमाडौँ, ललितपुर, भक्तपुर, धादिङ, सिन्धुली लगायतका जिल्लामा विपद्मा मृत्यु भएका मृतकका परिवारलाई आर्थिक सहायता बाफत राहत रकम उपलब्ध गराउनुका साथै घर भत्किाएका परिवारलाई राहत रकम वितरण सुरु गरिएको छ।  

त्यस्तै प्रभावित जिल्लामा विभिन्न दातृ निकाय र दाताहरुबाट पनि राहत सामाग्री जिल्ला विपद् व्यवस्थापन समितिलाई उपलब्ध भइरहेको छ। अवरुद्ध सडक पुनः सुचारु गर्न पहल हुनुका साथै पहिरोको जोखिम रहेका राजमार्गमा सुरक्षा व्यवस्था समेत मजबुद पारिएको छ।

सहसचिवको नेतृत्वमा कार्यदल गठन गरी गृह मन्त्रालयले प्रभावित आठ जिल्लामा आवश्यक, समन्वय सहकार्य र विपद्मा परेका नागरिकहरुको सहजीकरणका लागि कार्यदल खटाएको छ।

कार्यदललाई प्रभावितहरुको तत्काल उद्दार तथा राहत कार्यमा समन्वय र सहजीकरण, मानवीय र भौतिक क्षेत्रको संक्षिप्त विवरण तयारी गरी तत्काल गर्नुपर्ने कार्यका सम्वन्धमा सुझाव दिने लगायतका कार्यदेश दिइएको छ।

प्रकाशित: १७ आश्विन २०८१ १३:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App