रंगेलीमा एक युवकले श्रीमतीको हत्या गरी आफूले आत्महत्या गरेका छन्। मंगलबार बिहानका पौन ३ बजेतिर युवकले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेको मोरङ प्रहरीले जनाएको छ।
रंगेली नगरपालिका–५ बहुवनका अन्दाजी २१ वर्षीय मुकेशकुमार मण्डलले रंगेली–५ धनपट्टीस्थित ससुराली घर पुगेर पत्नीको हत्या गरेको मोरङ प्रहरीका डिएसपी लीलाराज लामिछानेल जानकारी दिए। उनका अनुसार मुकेश सोमबार बेलुका ससुराली घरमा पुगेका थिए।
ससुराली घरमै श्रीमती अन्दाजी २१ वर्षीया अम्बिकाकुमारी मण्डलको हत्या गरेको प्रहरीले जनाएको छ। घरेलु विवादका क्रममा कुटपिट गर्दै मुकेशले श्रीमती अम्बिकालाई चक्कु प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ।
पतिले चक्कु प्रहार गर्दा अम्बिकाको घटनास्थलमै मृत्यु भएको बताउँदै डिएसपी लामिछानेले भने, ‘पत्नीको मृत्यु भएपछि मुकेशले पनि त्यही चक्कुले आफ्नो घाँटी रेटेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। मुकेशको पनि घटनास्थलमै मृत्यु भएको छ।’
दुवै जनाको शव हाल घटनास्थलमै छ। घटनाको अनुसन्धानका लागि मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाल आफैँ घटनास्थल पुगेका छन्। घटनास्थल पुगेर प्रहरी टोलीले मुचुल्का उठाउने लगायतका कानुनी प्रक्रिया पूरा गर्ने काम गरिरहेको बताइएको छ।
घटनाको वास्तविक कारण तथा अन्य पृष्ठभूमिबारे विस्तृत अनुसन्धान भइरहेको डिएसपी लामिछानेले बताए।
प्रकाशित: २० माघ २०८२ ०८:२० मंगलबार





