१४ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

‘अनिँदा रात, चाउचाउको भर, महामारीको डर’

रौतहट र सर्लाहीको अतिप्रभावित बस्तीमा अहिले महामारीको त्रासले जनजीवन त्रसित बनेको छ। भारतीय सीमासँग जोडिएका क्षेत्रहरू, विशेषगरी सर्लाहीको बलरा र रौतहटका गढीमाई, गौर, र ईशनाथ नगरपालिकामा बाढीले अकल्पनीय क्षति पुर्याएको छ। ती क्षेत्रहरूमा महामारी फैलने सम्भावनाले स्थानीय बासिन्दाको मनमा त्रास छाएको छ।

गौर नगरक्षेत्रमा पानी घट्दै गइरहे पनि बस्ती र चारैतिरका क्षेत्रहरू अझै पनि जलमग्न अवस्थामा छन्। भन्सार क्षेत्र अझै डुबानमै रहेको छ। सदरमुकामसँगको सम्पर्क विच्छेद भएको छ। बाढीले मानवीय सम्बन्ध र जनजीवन ठप्प पारिदिएको छ।

सोमबार दिउँसोदेखि गौर नगरपालिकाले व्यवस्थापन गरेको ट्रयाक्टर प्रयोग गरेर बाढीमा फसेका मानिसहरूको ओसारपसार भइरहेको छ। बस्तीबाट बाहिर निस्किन नपाएका मानिसहरू भय र त्रासमा बाँचिरहेका छन्। महामारीको डरले उनीहरूको दिनरात कटाउनै नसक्ने बनाएको छ।

ईशनाथ नगरपालिकाको बन्जरहा र औरैया गाउँहरू पूरै डुबानमा परेका छन्। भारतले बनाएको बाँधका कारण बकैया नदीको बाढीले यी गाउँहरू टापुमा परिणत गरिदिएको छ।

नगर प्रमुख कौशल्या देवीले राज्यको सहयोग नआए पनि नगरपालिकाले राहत पुर्‍याउन प्रयास गरिरहेको बताइन्। तर यस राहतले बाँच्न संघर्ष गरिरहेका पीडितहरूलाई सान्त्वना दिन सकिरहेको छैन।

राजपुर नगरपालिकाको बैरिया गाउँ पुरै डुबानमा छ। गाउँमा महामारी फैलिने डरले स्थानीयहरू त्रासमा छन्। गढीमाई नगरपालिकाका लक्ष्मीपुर, सिंगारमन, र धर्मपुर गाउँहरूमा पनि बाढीको पानीले जनजीवन अस्तव्यस्त बनाएको छ।

बागमती नदीको भीषण बाढीले तटबन्ध भत्काउँदा यी गाउँहरूमा पानी पसेको थियो, र अहिले पनि चारैतिरबाट बाढीको दुर्गन्ध आइरहेकाले महामारीको सन्त्रास दिनदिनै गहिरिँदै छ।

बलराका अनिँदा रातहरू र महामारीको त्रास

सर्लाहीको बलरा नगरपालिकाका तीन गाउँहरू अहिले पनि बाढीको चपेटामा छन्।

नगर प्रमुख रामाशंकर कुशवाहाले अझै पनि गाउँहरू सदरमुकामसँग सम्पर्कविहीन अवस्थामा रहेको बताए। पूर्व वडाध्यक्ष सुशील मिश्रले दर्जनौँ घरहरू बाढीले भत्काइसकेको र स्थानीय बासिन्दाले चाउचाउ खाएर बाँचिरहेको बताउँदै गाउँको स्थिति निकै गम्भीर रहेको बताए। बाढीको प्रकोपमा परेका बासिन्दाहरू उद्धार र राहतको आशामा छन्।

वडा नम्बर-३ र ४ पूरै डुबानमा छन्, र कतैबाट कुनै किसिमको राहत नआएकोले स्थानीयहरूको पीडा अझै गहिरिएको छ। महामारीको डर, लामखुट्टेको प्रकोप, सर्पको भय, र स्वच्छ पानीको अभावले जनजीवन झनै कष्टकर बनेको छ। कप्लेश्वर महतोका अनुसार यी सबै समस्याहरूले स्थानीय बासिन्दा भित्रभित्रै थकित र निराश भइरहेका छन्।

बाढीले केवल बस्तीहरू डुबानमा पारेर मात्रै हैन, पीडितहरूको मनमा निराशा र असहायपन पनि छोपेर राखेको छ। महामारीको भय, रातको अँध्यारो, र उद्धारको पर्खाइले उनीहरूको दिनरात कहालीलाग्दो बनेको छ।

प्रकाशित: १४ आश्विन २०८१ २०:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App