१४ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

बाढीले बिजुलीको टावर बगाएपछि तीन जिल्ला अन्धकार

बाढीले प्रसारण लाइनको खम्बा बगाइदिएपछि इलाम, पाँचथर र ताप्लेजुङ तीन दिनयता अन्धकार छन् । पाडाजुँगी–गोदक १३२ केभिए प्रसारण लाइनअन्तर्गत महमाईमा रहेको ५१ नम्बरको टावर बाढीले क्षतिग्रस्त बनाएपछि शनिबारयता तीनै जिल्लाको विद्युत् सेवा ठप्प छ ।

पूर्वीपहाडसहित देशभर बुधबार बिहानदेखि भएको अविरल वर्षाले टावर क्षति गर्दा बिजुली कटौती भएको हो । मर्मतको प्रयास भइरहेपनि आज (सोमबार) दिउँसोसम्म बिजुली बल्न सकेको छैन । तर, नेपाल विद्युत् प्राधिकरणले क्षति भएको टावर मर्मत गर्न तीन–चार महिनासम्म लाग्नसक्ने जनाएको छ ।

प्राधिकरण इलाम शाखा प्रमुख बिजलीप्रसाद यादवले वैकल्पिक व्यवस्था गरेर भएपनि यी तीन जिल्लामा बिजुली बाल्ने प्रयास भइरहेको जनाए । ‘बिग्रिएको टावर मर्मत गर्न अहिल्यै सम्भव छैन,’ उनले भने, ‘तर, हामी विकल्प  खोज्दैछौं ।’ उनका अनुसार विभिन्न मिडियामा यहाँका चार टावर क्षति गरेको सूचना आइरहेपनि आफूहरूलाई आधिकारिक रूपमा दुई टावर क्षति भएको जानकारी आएको बताए । ‘अहिले पनि पेट्रोलिङ गरिरहेका छौं,’ उनलेभ भने, ‘कति क्षति भएको छ भन्ने अझै टुंगो भइसकेको छैन ।’

उनले विकल्पका रूपमा स्थानीय जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली नै ती जिल्लामा प्रयोग गर्ने अथवा झापाको १३३ केभिए प्रसारण लाइन प्रयोग गर्ने भन्नेबारे प्रयास भइरहेको बताए । ‘कुनै न कुनै व्यवस्था गरेर सोमबार साँझसम्म बिजुली बाल्ने प्रयत्न गर्दैछौं,’उनले नागरिकन्युजसँग भने, ‘तर, आजै साँझसम्ममा पनि बिजुली आउँछ भन्ने टुंगो चाहिँ छैन ।’

सञ्चारमाध्यम बन्द

तीन दिनदेखि विद्युत् अवरुद्ध भएपछि इलामसहित पाँचथर र ताप्लेजुङका सञ्चारमाध्यम बन्द भएका छन् । एफएम रेडियोहरूको प्रसारण रोकिएको छ भने पत्रिका छापिन सकेका छैनन् । अनलाइनहरू जसोतसो चलिरहेका छन् ।  

इलामका चुलाचुली गाउँपालिकाबाहेक सबैतिर विद्युत् बन्द छ । इलाम सदरमुकामबाट सञ्चालित रेडियो नेपालवाणी एफएम, इलाम एफएम तथा फिक्कलबाट सञ्चालित रेडियो फिक्कल र बुद्धवाणी एफएम तीन दिनयता बन्द छन् । लामो समय बिजुली नहुँदा वैकल्पिक उपाय (इन्भर्टर)को पनि चार्ज सकिएपछि रेडियो बन्द भएको नेपालवाणी एफएम समाचार शाखाका गोपाल निरौलाले जानकारी दिए । इलाम एफएमका स्टेसन म्यानेजर पशुपति भट्टराईले बिजुली अभावले इन्भर्टर चार्ज हुन नसक्दा रेडियो बन्द गर्नुपरेको बताए ।

फिक्कलस्थित बुद्धवाणी एफएमका समाचार शाखा प्रमुख विक्रम सुन्दासले शनिबार साँझदेखि नै रेडियोको प्रसारण बन्द भएको बताए । ‘लामो समय बिजुली नभएपछि रेडियो सञ्चालन गर्ने कुनै उपाय नभएर बन्द गर्नुपरेको छ,’ उनले भने, ‘कहिले बिजुली आउला भन्ने पनि अन्योल छ ।’ रेडियो फिक्कलका स्टेसन म्यानेजर जयकुमार राईले बिहान र बेलुका ६ बजे समाचारमात्र प्रसारण गरिरहेको बताए । ‘रेडियो सञ्चालन गर्ने उपाय छैन, साँझ–बिहान विकल्प अपनाएर पनि समाचारसम्म चाहिँ प्रसारण गर्दैछौं,’ उनले भने, ‘चाँडो बिजुली मर्मत गरियोस् ।’

इलामबाट प्रकाशित इलाम पोस्ट दैनिक र इलाम एक्सप्रेस दैनिक पनि शनिबार साँझदेखि छापिन छाडेका छन् । बिजुली नभएकाले पत्रिकाको काम रोकिएको इलाम पोस्ट दैनिकका सम्पादक सटेन्द्र जबेगूले जानकारी दिए । इलामबाट प्रकाशित इलाम आवाज साप्ताहिक र स्थानीय सन्देश साप्ताहिक, माङ्सेबुङ मासिकको काम पनि बिजुली नहुँदा प्रभावित बनेको छ । यीबाहेक जिल्लाबाट सञ्चालित झन्डै दुई दर्जन अनलाइन सञ्चारमाध्यमसमेत बन्द हुने अवस्थामा छन् ।    

जिल्ला प्रशासनकै सेवा बन्द

बिजुुली नहुँदा इलामस्थित जिल्ला प्रशासन कार्यालयको सेवासमेत रोकिएको छ । प्रशासनले सोमबार सूचना जारी गरी बिजुली नभएको र इन्भर्टरले पनि नधानेका कारण सेवा बन्द गर्नुपरेको जनाएको छ । सबैखाले व्यापार–व्यवसाय बिजुली अभावले ठप्पप्रायः छन् । मोबाइल चार्ज गर्न नपाउँदा हजारौं उपभोक्ता प्रभावित भएका छन् ।

बाढीपहिरोले इलाममा एक जनाको मृत्यु भएको छ । माई नगरपालिका–८ स्थित चेपेखोलाले बगाउँदा स्थानीय ६८ वर्षे मैतबहादुर लिम्बूको गत मंगलबार दिउँसो मृत्यु भएको हो । बाढीपहिरोले जिल्लामा के कति क्षति गरेको छ भन्ने यकिन भइसकेको छैन ।

प्रकाशित: १४ आश्विन २०८१ १३:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App