१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

नारायणीमा पानीको सतह हालसम्मकै उच्च, चितवनका तीन सय बढी घर डुबानमा

चितवनमा बिहिबारदेखि आएको अविरल वर्षाका कारण तीन सय बढी घरमा बाढी पसेको छ।

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार, नारायणी नदी, राप्ती र रिऊ खोलामा आएको बाढीका कारण विभिन्न संघसंस्थाका आश्रम सहित ३ सयभन्दा बढी सर्वसाधारणका घरमा बाढी पसेको हो।

शनिबार बिहान साढे ८ बजे आएको नारायणीको बाढी भरतपुर महानगरपालिका–१६ का गुम्बाचौर, रामघाट, झनझने, कार्कीचोकका सय भन्दा बढी घरमा पसेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए। उनका अनुसार, सो क्षेत्रमा मानवीय तथा चौपाय क्षति भने भएको छैन।

भरतपुर–२६ सिसुवार, तल्लो हिरापुरका नदी किनारका ३० घरमा नारायणीको बाढी पसेको छ। सो स्थानका मानिसलाई गुरुङ समाजको भवन र स्थानीय विद्यालयमा राखिएको उनले जानकारी दिए।

उता माडीको रिउ खोलाको पानीको बहाव बढेर माडी–१ बनकट्टाका ११, सिमरा, कृष्णपुरका ७ घरमा पानी पसेको छ। भरतपुर–१ स्थित देवघाटमा रहेको हरीकिर्तनचोकको धर्मशाला बाढीले डुबाएपछि धर्मशालाबाट ७ जना र शिव मन्दिरबाट २ जना गरी ९ जनाको उद्धार गरिएको छ।

नारायणी नदी किनारको नगर वन नजिक रहेको 'हाम्रो घर' मा समेत नारायणी पस्यो। बालबालिका राख्ने (हाम्रो घर) र सोही ठाउँमा रहेको बाल कुमारी कलेजबाट गरी २८ जना उद्धार गरि सुरक्षित स्थानमा राखिएको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिए। नगरवन स्थितमा रहेको सामुदायिक सेवा केन्द्र नारायणगढको तल्लो कोठामा पनि पानी पसेको छ।

सौराहामा पनि राप्ती र बुढीराप्तीको बाढी पसेको छ। जसका कारण पर्यटक तथा स्थानीयको जनजीवन प्रभावित भएका छन्। राप्तीको बाढी पस्दा सौराहाका १० रेष्टुरेन्ट र बुढीराप्तीको बाढीले सपना भिलेज सहित १० वटा होटलमा क्षति पुराएको छ।

रमाइलो सुकुम्बासी बस्ती समेत पुरै डुबानमा परेको छ। २७ घरका १ सय जनालाई उद्धार गरि ग्रिन सोसाइटी नेपालमा राखिएको पत्रकार होमनाथ सापकोटाले जानकारी दिए।

उनका अनुसार खानेबस्ने व्यवस्था सोसाईटीका महासचिव शिरिलाल परियारले गरेका छन्। यस्तै डुबान परेपछि सपना भिलेजका २५ पर्यटकलाई अन्यन्त्र सारिएको छ।

पूर्वी चितवनको राप्ती–६ ढुंग्रेखोलाको जोखिममा रहेको घरका १० जनाको उद्धार समेत गरिएको छ। शनिबार बिहान साढे ८ बजे आएको त्रिशूलीको बाढीले इच्छाकामना गाउँपालिका–४ धारापानि र गोरखा शहिद लखन गाउँपालिका–४ छेपेटार जोडने झोलुङ्गे पुल बगाएको छ।

जसका कारण त्यस क्षेत्रको यातायात अवरुद्ध भएको छ। इच्छाकामना–५ पुरानो पुल नजिक रहेको भवन, विद्युतको ट्रासमिटर, विद्युतको चार्जिङ स्टेशन पहिरोको जोखिममा परेको छ।

चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर-३ र ४ का विभिन्न ठाउँमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो। इच्छाकामना–३ स्थित मौवाखोला, दतिखोला र पानीधारा र वडा नम्बर–४ को घोप्टेभीरमा माथिबाट खसेको पहिरोले पृथ्वीराजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो।

नारायणी नदीमा पानीको सतह हालसम्मकै उच्च

लगातारको मुसलधारे वर्षाका कारण शनिबार बिहान नारायणी नदीमा पानीको सतह इतिहासकै उच्च विन्दुमा पुगेको छ।

जल मापन केन्द्र देवघाटमा बिहान नदीको पानीको सतह ११ मिटर ३५ सेन्टिमिटर पुगेको छ। जल मापन केन्द्र स्थापनाकाल देखि हालसम्म नदीको सतह यति माथि पुगेको पहिलो हो। यस अघि असार २२ गते १० मिटर ४६ सेन्टिमिटर पुगेको थियो।

नारायणी नदीमा नौ मिटर पानीको सतह पार गर्नुलाई खतरा मानिन्छ। मापन अनुसार सात मिटर ३० सेन्टिमिटर सतह पार गर्नुलाई नदीको बहाव मापदण्ड भन्दा माथि रहेको सतर्कताको अवस्था मानिन्छ भने नौ मिटर पार गर्नु खतराको सूचकको रूपमा लिने गरिन्छ। 

आइतबारसम्म चितवन–काठमाण्डौँ सडकखण्डमा सवारी चलाउन रोक

चितवन–काठमाण्डौं सडकखण्डमा आइतबार बिहान पाँच बजेसम्मका लागि सवारी आवागमनमा रोक लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनले बिहिबारदेखि अविरल परेको वर्षाका कारण पहिरोको जोखिम कायम रहेको भन्दै यस सडकखण्डमा सवारीसाधन आवागमनमा रोक लगाएको हो।

प्रशासकीय अधिकृत अन्तिम सिंजालीले आज एक सूचना जारी गर्दै यस सडकखण्डमा सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको जानकारी दिए।

‘नारायणगढ–मुग्लिन–नागढुङगा सडकखण्ड पहिरोको जोखिम कायमै रहेको हुँदा हाललाई उक्त सडकखण्डमा सवारी सञ्चालनमा पूर्ण रोक लगाइएकोले सम्पूर्ण सवारी धनी एवम् यात्रुलाई सो सडकखण्ड हुँदै सवारी नचलाइदिनुहुन तथा यात्रा नगरी यथास्थानमै बसी सुरक्षित रहनुहुन अनुरोध छ’,–प्रशासकीय अधिकृत सिंजालीले जारी गरिएको सूचनामा भनिएको छ।

प्रकाशित: १२ आश्विन २०८१ १९:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App