१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

सन्धिखर्क-गोरुसिङ्गे सडक १२ ठाउँमा अवरुद्ध

‘एक ठाउँको पहिरो पन्छायो, अर्को तिर खस्छ’

लगातारको झरीले अर्घाखाँचीका सबैजसो ग्रामीण सडक बन्द भएका छन्। ठाउँ-ठाउँमा पहिरो खसेपछि गाउँ जाने सबैजसो ग्रामीण सडकहरू बन्द भएका हुन्।

अर्घाखाँचीको मुख्य सडक सन्धिखर्क-गोरुसिङ्गे सडकखण्डको १२ स्थानमा पहिरोले अवरुद्ध बनाएको छ। ६८ किलोमिटर लामो सडकखण्डको फुदबाङ, जगत, दहखोला, घुम्ती, राजुबास, बर्बोट, बसेरी लगायतका स्थानमा सडक अवरुद्ध छन्।

सडक खुलाउने कार्य जारी छन्। सडक खुलाउन जेसिबी, प्रहरी र सडक कर्मचारीको प्रयोग गरिए पनि वर्षा नरोकिएकाले एकातर्फ सडक खुलाएर सुचारु गराउँदा अर्को तर्फ पहिरो जाने गरेको छ। जसले गर्दा सडक पूर्ण रुपमा सुचारु हुन सकेको छैन।

शनिबार बिहानदेखी दर्जन स्थानमा सडकको पहिरो पन्छाउने कार्य गरेपनि सडक पूर्ण रूपमा सञ्चालनमा आउन नसकेको नरपानी प्रहरी चौकीका प्रमुख अर्जुन बस्नेतले जानकारी दिए।

"एक ठाउँमा खोल्यो फेरी अर्को ठाउँ झरिहाल्छ", बस्नेतले भने, "हामी निरन्तर खटिएका छौं। पानी नरोकिएकाले थोरै गाह्रो भएको छ।"

यसैबिच, जिल्ला प्रशासन कार्यालयले सतर्कता अपनाउन आग्रह गरेको छ। वर्षाले सडकहरूको अवस्था नाजुक रहेकाले अति आवश्यक बाहेक यात्रा नगर्न तथा गर्नै परे सुरक्षित भएर यात्रा गर्न अनुरोध गरेको हो।

प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले जिल्ला विपद् व्यवस्थापनको टोली तयारी अवस्थामा रहेकाले कुनै स्थानमा अप्ठ्यारो परे तुरुन्त खबर गर्न आग्रह गरे। हालसम्म सडक अवरुद्धबाहेक अन्य कुनै घटना नघटेको उनले बताएका छन्।

जिल्लाका केही क्षेत्रमा शुक्रबारदेखी अवरुद्ध भएको विद्युत् हालसम्म बनेको छैन। पानी पर्न नरोकिएकी विद्युत् मर्मत हुन सकेको छैन। जसले  ग्रामीण भेगका जनता अन्धकारमा बस्न बाध्य छन्। धेरै समय बिजुली नहुँदा टेलिफोनका टावरले समेत काम गर्न छोडेका छन्।

प्रकाशित: १२ आश्विन २०८१ १८:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App