९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

रौतहट र सर्लाहीमा गरी विभिन्न घटनाका पाँच जनाको मृत्यु

रौतहट र सर्लाहीको विभिन्न ठाउँमा दुई दिनमा चार शव बरामद भएका छन् । छुट्टाछुट्टै घटनाहरुमा अलग अलग स्थानबाट चार शव बरामद भएको प्रहरीले जनाएको छ ।

सर्लाहीको पर्सा गाउँपालिका ५ पर्सा टोलकका बब्लु अन्सारीकी २ वर्षीया छोरी आइसा खातुनको शव कुलोमा फेला परेको छ । घरको अगाडि खेलिरहेको अवस्थामा हराएकी बालिकाको शव घरभन्दा करिब डेढ सय मिटर टाढा कुलोमा फेला परेको प्रहरीले जनाएको छ ।

यसैगरी सर्लाहीकै रामनगर गाउँपालिका २ इनर्वाका रामध्यान रायका ४ वर्षीय छोरा तेजस्वी यादवको शव धानखेतमा फेला परेको छ । घरभन्दा केही टाढा पूर्वतिर रहेको भजन राय यादवको धान खेतमा ४ वर्षीय बालकको शव फेला परेको प्रहरीले जनाएको छ ।

यसैबीच सर्लाहीको बागमती नगरपालिका २  सुखामा एक जना पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । स्थानीय ५५ वर्षीय देवी बहादुर कार्कीको शव हरिवन खोला किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपि दिपक श्रेष्ठले सबै घटनाबारे अनुसन्धान भइरहेको जनाएका छन् ।

यसैबीच रौतहटको माधवनारायण नगरपालिका ८ का एक युवकको शव फेला परेको छ । सोमवारदेखि बागमती नदीमा हराइरहेका माधवनारायण नगरपालिका ८ रजवाडाका राजेन्द्र सहनीका १८ वर्षीय युवक छोरा श्यामलाल सहनीको शव मंगलवार बिहान फेला परेको हो । 

अत्यधिक गर्मीका कारण साथीहरुसित नुहाउन गएका सहनी बेपत्ता भएका थिए । वेपत्ता सहनीको शव नुहाएको ठाउँबाट करिब डेढ किलोमिटर दक्षिण नदीमै सशस्त्र प्रहरीको टोलीले बरामद गरेको हो । रौतहटको राजदेवी नगरपालिकामा सोमवार जितियाको लागि नुहाउने क्रममा एक जना महिलाको डुबेर मृत्यु भएको थियो ।

प्रकाशित: ८ आश्विन २०८१ १८:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App