इलाम नगरपालिका स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (एफआरए)मा देशभरकै पहिलो भएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको आर्थिक वर्ष २०७९/०८० को मूल्यांकनमा ९९ प्रतिशत सूचाङ्कसहित इलाम नगरपालिका पहिलो भएको हो।
योजना, बजेट तथा कार्यक्रम व्यवस्थापन, कार्यान्वयन क्षमता तथा व्यवस्थापन, लेखाङ्कन तथा व्यवस्थापन, अनुगमन, मूल्यांकन तथा लेखापरीक्षण र राजस्व व्यवस्थापन यसका सूचक थिए। मेयर केदार थापाले नगरले मेहनतपूर्वक काम गरेकाले यो सफलता हासिल भएको बताए। ‘हामीलाई यो नतिजाले उत्साहित बनाएको छ,’ उनले भने, ‘इलामका सबै जनप्रतिनिधि, कर्मचारी र सरोकारवालालाई म धन्यवाद दिन्छु।’
मन्त्रालयले गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा)मा पनि इलाम नगरपालिका देशभरको पाँचौं र कोशी प्रदेशको पहिलो भएको थियो। आर्थिक वर्ष २०७९÷०८० को लिसामा इलाम नगरले ८९.५० अङ्क प्राप्त गरेको थियो।
इलाम नगरले लिसाका सूचकमध्ये शासकीय प्रबन्धमा ८, सङ्गठन तथा प्रशासनमा ७ दशमलव ७५, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ८ दशमलव ५, वित्तीय आर्थिक व्यवस्थापनमा १० अङ्क पाएको थियो।
यस्तै, सेवा प्रवाहमा १४ दशमलव २५, न्यायिक कार्य सम्पादनमा ७, भौतिक पूर्वाधारमा १०, सामाजिक समावेशीकरणमा १०, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ८ दशमलव ५ तथा सहकार्य र समन्वयमा ५ दशमलव ५ अङ्क इलाम नगरले ल्याएको थियो।
यसैबीच, नेपाली कांग्रेस केन्द्रीय समितिअन्तर्गतको स्थानीय तह समन्वय विभागले आज (बिहीबार) इलाम नगरपालिकालाई सम्मान गर्दैछ। नेपाली कांग्रेसका जनप्रतिनिधि विजयी भएर उत्कृष्ट ठहरिएका स्थानीय तहलाई कांग्रेसले सम्मान गर्न लागेको हो।
पार्टी केन्द्रीय कार्यालयमा सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इलाम नगरसहित उत्कृष्ट पालिकालाई सम्मान गर्न निमन्त्रणा गरेको इलाम नगरका मेयर थापाले जानकारी दिए।
प्रकाशित: २७ भाद्र २०८१ १४:०० बिहीबार