१ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

नुवाकोटको साततले दरबार पुनःनिर्माणमा जुटे चिनियाँ

भूकम्पले क्षतिग्रस्त नुवाकोटको साततले दरबारसहित यस आसपासका धार्मिक एवं पुरातात्विक सम्पदाको पुनःनिर्माणमा चिनियाँ पक्ष जुटेको छ। नौ वर्षअघिको भूकम्पले भत्काएका यहाँका सम्पदाको पुनःनिर्माण गर्ने जिम्मेवारी चीन सरकारले लिएको थियो।

चिनियाँ पक्षले अब भने नियमित काम अघि बढाउने जनाएको विदुर नगरपालिकाको प्रमुख राजन श्रेष्ठले जानकारी दिए। चिनियाँ पक्षको मागअनुसार दरबार क्षेत्रसम्म निर्माण सामग्री पुर्याउन सडक पहुँचमार्ग, नियमित र भरपर्दो विद्युत् प्रसारण लाइन, निर्माण सामग्री राख्ने स्थलका साथै पानीको प्रबन्ध मिलाइएको छ।

भूकम्पले क्षति पुर्याएका संरचना पुनःनिर्माणमा सहयोग पुर्याउने कार्यक्रमअन्तर्गत नेपाल र चीन सरकारबीच नुवाकोटको साततले दरबारसहित यहाँको धार्मिक तथा पुरातात्विक महत्वका विभिन्न आठवटा संरचनाको पुनःनिर्माण गर्ने समझदारी भएको हो।

सम्झौताअनुसार पहिलो चरणमा साततले दरबारसहित दरबार परिसरमा रहेको गारदघर र रङमहलको आवश्यकताका आधारमा पुनःनिर्माण तथा प्रवलीकरण गरिने चिनियाँ पक्षले जनाएको छ। त्यसपश्चात् लिच्छविकालीन तलेजु (तुलजा भवानी)को मन्दिर, सेतोपाटी, लामपाटी, विष्णु र नारायण मन्दिरको पुनःनिर्माण गर्ने योजना छ। सबै सम्पदाको मौलिकपन कायम गरिने नुवाकोट दरबार हेरचाह कार्यालयका प्रमुख सुनिल पौडेलले जानकारी दिए।

वि.सं. २०७६ जेठमा भएको सम्झौताअनुसार ४५ महिनाभित्र दरबारसहितको संरचना निर्माणको जिम्मेवारी चीन सरकारले लिएको थियो। त्यसपश्चात् सोही वर्षको असारमा दरबार पुनःनिर्माणअन्तर्गत कार्यप्रारम्भ गर्न चिनियाँ पक्ष कार्यक्षेत्रमा आइपुगेको थियो।

द्विपक्षीय सम्झौतापश्चात् असारमा काम गर्न आएको चिनियाँ टोली ‘चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेज’ले यहाँको सम्पदालाई थप क्षति हुन नदिन खट बनाएर नयाँ वर्ष मनाउन भन्दै फर्किएको थियो।

वि.संं. २०७६ को मङ्सिर अन्तिम साता चीनमा देखापरेको कोरोना सङ्क्रमणका कारण  चिनियाँ टोली फर्केको थिएन। त्यसको तीन वर्षपश्चात् २०७९ साल असोजमा चिनियाँ प्राविधिक टोली आएर साततले दरबारको भूमितह, गारो र छानाको वस्तुस्थिति अध्ययनपश्चात् प्रवलीकरण गरेर फर्किएको थियो। रासस

प्रकाशित: २६ भाद्र २०८१ ०७:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App