१ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

पाँचौ पटक सूचना जारी गर्दा पनि परेन घण्टाघर सञ्चालनको टेन्डर, संरचना जीर्ण बन्दै

सञ्चालनमा आउन नसकेको घण्टाघर। तस्बिर: योगेश रावल

टीकापुर नगरपालिकाले घण्टाघर सञ्चालन तथा व्यवस्थापनका लागि आज पाँचौ पटक सूचना जारी गरेको छ। नगरपालिकाले एक वर्ष यता यसअघि चार पटक सूचना जारी गरेपनि कसैको टेन्डर परेको छैन।

उसले पछिल्लो पटक साउन १७ गते १५ दिने सूचना जारी गरेको थियो। त्यतिन्जेल पनि कसैको टेन्डर नपरेको नगरपालिकाको राजश्व उपशाखा प्रमुख नन्द केसीले जानकारी दिए।

उनले कसैले पनि टेन्डर दाखिला नगरेका कारण पटक-पटक सूचना जारी गर्नु परेको बताए। ‘एउटा टेन्डर बिक्री भएको थियो’ उनले भने,‘तोकिएको समयभित्र दाखिला भएन।’

नगरपालिकाले आठ दिनको म्याद राखेर पाँचौ पटक सूचना जारी गरेको छ। केसीका अनुसार यो अवधिमा समेत कसैको टेन्डर नपरे थप७दिनको सूचना जारी गरेर बढाबढ प्रक्रियामा जाने छ।

‘कानूनी आधारमा तीन वटा प्रकृया पूरा गर्नै पर्छ’ उनले भने,‘त्यतिन्जेलसम्म पनि कसैको टेन्डर नपरे थप प्रकृया अघि बढ्छ।’

केसीका अनुसार तीन वटा प्रकृया पूरा गर्दा पनि कसैको टेन्डर नपरे पुनर्विचारका लागि राजश्व परामर्श समितिमा पठाइनेछ। समितिले टेन्डर नपर्नुको कारणका बारेमा अध्ययन गरेर निकासका लागि कार्यपालिका बैठकमा निर्णयार्थ सिफारिस गर्नेछ। कार्यपालिका बैठकले दररेट परिवर्तन लगायतका विषयमा निर्णय गर्न सक्नेछ। नगरपालिकाले ३ वर्षको लागि७लाख २० हजार रुपैयाँ दररेट तोकेको छ।

टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नं. १९ स्थित घण्टाघर निर्माण भएको तीन वर्षसम्म पनि सञ्चालनमा आउन सकेको छैन। शहरी विकास तथा भवन निर्माण कार्यालय धनगढीले ३ करोड २६ लाख ४२ हजार रुपैयाँको लागतमा घण्टाघर निर्माण गरेको हो। घण्टाघर निर्माणका लागि रोयल प्रशंसा जेभीले २०७५ फागुन १९ गते सम्झौता गरेको थियो।

सम्झौता अनुसार निर्माण कम्पनीले २०७७ भदौ २५ गते काम सम्पन्न गर्नुपर्ने भएपनि कोरोना संक्रमणका कारण २०७८ मानिर्माण सम्पन्न भएको थियो। शहरी विकास तथा भवन निर्माण कार्यालयले घण्टाघर निर्माण भएपछि २०७९ बैशाख १५ गते सञ्चालनका लागि टीकापुर नगरपालिकालाई हस्तान्तरण गरेको थियो।

नगरपालिकाले हस्तान्तरण भएको एक वर्ष भन्दा बढी समयसम्म पनि घण्टाघर सञ्चालन बारेमा कुनै निर्णय गर्न सकेन। नगरपालिकाले २०८० साउन १५ गतेको कार्यपालिका बैठक मार्फत दररेट निर्धारण गरेको थियो।

कार्यपालिका बैठकले दररेट निर्धारण गरेपछि मात्रै नगरपालिकाले पहिलो पटक २०८० साउन २४ गते सूचना प्रकाशित गरेको थियो। प्रमुख प्रशासकीय अधिकृत दमन चौधरीका अनुसार घण्टाघर सञ्चालनका लागि पहिलो पटक कसैको पनि निवेदन परेन। 

पहिलो पटक कसैको निवेदन नपरेपछि नगरपालिकाले २०८० भदौ ११ गते दोस्रो पटक सूचना प्रकाशित गरेको थियो। चौधरीका अनुसार दोस्रो पटक पनि भ्याटमा दर्ता नभएको एक मात्र निवेदन परेको थियो। सो निवेदनलाई अयोग्य भन्दै नगरपालिकाले २०८० कार्तिक १६ गते रद्द गरिदिएको थियो।

नगरपालिकाले कर्मचारीहरुलाई आन्तरिक सरुवा गर्‍यो। मंसिरमा राजश्व उपशाखा प्रमुखका रुपमा केसी आए। उनले लामो समय यस बारेमाकुनै प्रकृया नै अघि बढाएनन्। २०८१ जेठ ८ गते सूचना प्रकाशित गरे। त्यतिबेलापनि कसैको टेन्डर परेन। आर्थिक वर्षको अन्त्य तिरभन्दै प्रकृया रोकियो।

नगरपालिकाले घण्टाघर लगायतका संरचनाबाट आन्तरिक आय कसरी बढाउन सकिन्छ भन्ने बारेमा अध्ययन गर्न केही महिनाअघि टीकापुर बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख केशरबहादुर कुँवरको नेतृत्वमा ११ सदस्यीय समिति गठन गरेको थियो। सो समितिले काम गर्न सकेन।

घण्टाघरलाई भ्यु टावरका रूपमा पनि प्रयोग गर्न सकिने गरी निर्माण गरिएको छ। यहाँबाट टीकापुरको अवलोकन गर्न सकिने व्यवस्था मिलाइएको छ। २६ मिटर उचाइ रहेको यो घण्टाघरबाट टीकापुर बजार क्षेत्रको अवलोकन गर्ने सकिनेछ। पहिलो तलामा रेस्टुरेन्ट सञ्चालन गर्न सकिनेछ भने घण्टाघरमा प्रवेशद्वार, सुरक्षागार्ड चौकी, शौचालय, टिकट काउण्टर निर्माण गरिएको छ।

घण्टाघर सञ्चालन नहुँदा त्यहाँ प्रयोग गरिएका चार वटा घडी समेत बन्द अवस्थामा छन्। निकै सानो आकारको घडी भएकाले समय हेर्न गाह्रो हुने बताउँदै स्थानीयहरूले उक्त घडी फेर्न माग गर्दै आएका छन्।

नगरपालिकाका लागि घण्टाघर टाउको दुखाइको विषय बनेको छ। लामो समयसम्म सञ्चालन नभएका कारण घण्टाघरको भौतिक संरचना जीर्ण बन्दै गएको छ। त्यहाँ रहेका सिसा फुटाइएका छन्। संरक्षणको अभावमा भौतिक संरचना भत्किन थालेका छन्। स्थानीयका अनुसार घण्टाघर सञ्चालन नहुँदै नगरपालिकाले मर्मतमा ठूलो रकम खर्चिनु पर्ने देखिन्छ। 

प्रकाशित: २४ भाद्र २०८१ ११:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App