१ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

विरेन्द्रप्रसाद यादव हत्या प्रकरण: डेढ महिना बित्दा पनि दोषी पत्ता लाग्न सकेनन्

सप्तरीबाट जग्गा बिक्री गर्न इटहरी आएका एक पुरुषको डेढ महिनाअघि हत्या भएपनि अहिलेसम्म दोषी पत्ता लाग्न सकेको छैन। 

सप्तरी तिरहुत वडा नं. ४ का ५० वर्षे विरेन्द्रप्रसाद यादवको हत्या प्रकरणमा दोषी पत्ता लाग्न नसकेको हो। उनको शव इटहरी वडा नं. १४ खेतमा असार ३१ गते बिहान फेला परेको थियो।

इलाका प्रहरी कार्यालय इटहरीका अनुसार यादव हत्यामा संलग्न भएको आरोपमा अहिलेसम्म ३५ जनामाथि सोधपुछ र अनुसन्धान गर्दा पनि केही पत्ता लाग्न सकेको छैन। यादवको एउटा सुसाइड नोट पनि फेला परेकाले त्यो उनैले लेखेको वा लेखिएको हो भनेर प्रमाणित गर्ने काम भइरहेको डिएसपी टेकबहादुर कार्कीले बताए।

घटनाको अनुसन्धान गर्नका लागि इलाका प्रहरी कार्यालयसँगै जिल्ला र प्रदेश प्रहरी कार्यालयबाट संयुक्त टोली खटिएको छ। तरपनि अहिलेसम्म केही क्लु फेला पार्न नसकिएको प्रहरीले जनाएको छ। हत्या गरिएका व्यक्ति विरेन्द्रकुमारको आर्थिक लेनदेन कारोबार धेरैसँग रहेको खुलेको छ। उनी बैङ्किङ कसुर मुद्दामा उनी एक महिनासम्म कैद सजाय भुक्तान गरेर असार दोस्रो साता मात्र छुटेका थिए।

घटनाक्रम अनुसार विरेन्द्रप्रसाद इटहरी वडा नं. १४ मा दाजु दिपनारायण यादवको घरमा आएका थिए। उनी आएको दिन दाजुलाई जानकारी नदिइकन एक्कासि घरमा आएर फोन गरेका थिए। जय बाबा इट्टा उद्योग सोनापुरको विक्री कक्ष इटहरीमा काम गर्दै आएका दिपनारायणले दिउँसो घरमा पुगेर भाइलाई घरको चाबी दिएर फेरि काममै फर्किएका थिए।

दिपनारायणको श्रीमती भने विरेन्द्र आउनुभन्दा एक साताअघि नै सप्तरी माइती घर गएकी थिइन्। दिपनारायणको घरमा आएको भोलिपल्ट नै विरेन्द्रप्रसाद हराएका थिए। अन्तिममा इटहरी वडा नं. १४ कै हकिज मियाँले दिपनारायणलाई फोन गरेर एक जना पुरुष मृत भेटिएको बताएका थिए। पछि गएर पुष्टि गर्दा भाइकै शव भएको दिपनारायणले बताएर पोस्टमार्टमपछि दाहसंस्कार गरिएको थियो।

विरेन्द्रप्रसाद इटहरी वडा नं. १४ मा रहेको जग्गा विक्री गर्न दाजुको घर आएका थिए। उनको जग्गा भएको स्थानभन्दा दुई सय मिटर दक्षिणतर्फ शव फेला परेको थियो। 

प्रकाशित: २३ भाद्र २०८१ १७:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App