१ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरमुजुरको वासस्थान व्यवस्थापन

सुदूरपश्चिम प्रदेशमा दुर्लभ खरमुजुर बेङ्गाल फ्लोरिकन को वासस्थान व्यवस्थापन गरिएको छ। लोपोन्मुख खरमुजुरको संरक्षण गर्ने उद्देश्यले कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसहित विभिन्न सामुदायिक वनमा खरमुजुरको वासस्थान व्यवस्थापन गरिएको हो।

त्यसलाई संरक्षण पनि गर्ने जनाइएको छ। युएसआइडी जल, जङ्गल बायोडाइभर्सिटी परियोजनाको आर्थिक सहयोगमा निकुञ्ज कार्यालय र नेपाल पन्छाी संरक्षण सङ्घ बिसिएनले खरमुजुरको वासस्थान व्यवस्थापन गरेका हुन्। 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको ‘कोर एरिया’ मा रहेको घाँसे मैदान र निकुञ्जबाहिरका सामुदायिक वन गरी १५० हेक्टर क्षेत्रमा खरमुजुरको वासस्थान व्यवस्थापन भएको बिसिएनका फिल्ड अधिकृत हिरूलाल डङ्गौराले जानकारी दिए।

निकुञ्ज कोर एरियाको घाँसे मैदानमा ५० हेक्टरमा वासस्थान व्यवस्थापन गरिएको छ । यसै गरी बेलडाँडी गाउँपालिका–४ र ५ मा पर्ने किसान मध्यवर्ती सामुदायिक वन क्षेत्रमा पनि ५० हेक्टरमै वासस्थान व्यवस्थापन गरिएको छ ।

त्यस्तै बेलौरी नगरपालिका–५ मा रहेको उल्डनपुर सामुदायिक वन क्षेत्रमा २० हेक्टर, लालझाडी गाउँपालिका–३ मा रहेको सिद्धनाथ वनवाटिका सामुदायिक वनमा ३० हेक्टर क्षेत्रमा खरमुजुरको वासस्थान व्यवस्थापन गरिएको छ। 

खरमुजुरलाई आहारविहार गर्न, लुक्न सहज हुने गरी घाँस काँटछाँट गरेर वासस्थान व्यवस्थापन गरिएको पन्क्षीविद्समेत रहेका डङ्गौराले बताए।

२०२४ मा गरिएको गणनामा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा गरेर पाँच वटा खरमुजुर अभिलेख भएका छन्। चार वटा शुक्लाफाँटा घाँसे मैदानमा र एउटा पोथी खरमुजुर किसान मध्यवर्ती सामुदायिक वनको घाँसे मैदानमा भेटिएको थियो।

पाँचमध्ये तीन भाले र दुई पोथी खरमुजुर रहेको जनाइएको छ। गत वर्ष पनि निकुञ्ज क्षेत्रमा पाँच वटा खरमुजुर अभिलेख भएका थिए। यसघि २०१४ मा निकुञ्जमा भेटिएको खरमुजुरमा ‘स्याटेलाइट ट्याग’ जडान गरेर अनुगमन गरिएको थियो।

त्यो खरमुजुर निकुञ्ज क्षेत्रभन्दा करिब ५० किलोमिटर टाढा पुनर्बास नगरपालिकाको दोदा नदी क्षेत्रमा पुगेको देखिएको थियो। ‘ननब्रिडिङ सिजन’ मा खरमुजुर निकुञ्ज क्षेत्रभन्दा बाहिरसमेत पुगेको देखिएकाले निकुञ्जसहित मध्यवर्ती क्षेत्र र अन्य सामुदायिक वन क्षेत्रमा खरमुजुरको वासस्थान व्यवस्थापन गरिएको जनाइएको छ। यस कार्यका लागि निकुञ्जका कर्मचारीलाई तालिम दिइएको थियो।

यसैगरी भीमदत्त नगरपालिका, बेलडाँडी गाउँपालिका, बेलौरी नगरपालिका र लालझाडी गाउँपालिकावासीलाई सामुदायिक खरमुजुर संरक्षण तालिम प्रदान गरिएको छ। चार वटै पालिकाका १४० युवालाई चरा, प्रकृति र पर्यटनसम्बन्धी तालिम दिइएको छ।

चरा र प्रकृति संरक्षणमा युवालाई अग्रसर गराउनका लागि उनीहरूलाई तालिम प्रदान गरिएको जनाइएको छ। उनीहरूमार्फत खरमुजुर संरक्षणमा समेत सहयोग पुग्ने फिल्ड अधिकृत डङ्गौराले विश्वास व्यक्त गरे।

प्रकाशित: २३ भाद्र २०८१ १०:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App