१ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

छात्रवृत्ति पाएकी दलित बालिकालाई पढाइमा समस्या

सर्लाहीको विष्णु गाउँपालिका–३ स्थित मधुवनका अकलेश बैठा यतिखेर छात्रवृत्ति पाएकी छोरीका लागि आवश्यक खर्च जुटाउन नसक्दा चिन्तामा फसेका छन्। जनकपुरस्थित सेन्ट्रल इन्जिनियरिङ कलेजमा अध्ययनरत छोरीको पढाइ शुल्क तिर्नु नपरे पनि छात्राबास र अन्य शुल्क तिर्न नसक्दा ठूलो चिन्ता लागेको अकलेशको भनाइ छ।

मधेस प्रदेश सरकारबाट छात्रवृत्तिमा नर्सिङ पढिरहेकी उनकी छोरी पुष्पाञ्जली कुमारी नर्सिङ पढ्न सिंगो प्रदेशबाट नाम निकाल्ने एक मात्र दलित छात्रा हुन्। १४ वर्षकै उमेरमा एसइई पास गरेकी पुष्पाञ्जली पढाइमा अब्बल भएकै कारण छात्रवृत्तिमा छानिएकी थिइन्। तर यसरी छोरीले नाम निकालेपछि खुसी भए पनि अहिले छात्राबास, स्टेसनरी र परीक्षा शुल्कजस्ता रकम तिर्न नसक्दा आपत्मा परेको उनको भनाइ छ।

अघिल्लो वर्ष उनले सहकारीबाट र आफन्तसँग ऋण लिएर एक लाख ८० हजार रूपैयाँ तिरेका थिए तर उक्त ऋणको साँवा र किस्ता नै तिर्न समस्या भएका बेला अहिले फेरि छात्रावासले एक वर्षको शुल्क अग्रिम तिर्न ताकेता परेपछि उनी अक्क न बक्क भएका छन्।

छात्राबास शुल्क मासिक १५ हजार, स्टेसनरी तीन हजार र अन्य शुल्क तीन हजार जति गरी महिनाको करिब २१ हजार रूपैयाँ जुटाउनै धौ धौ परेकाले आफ्ना अन्य दैनिक क्रियाकलापसमेत प्रभावित भएको उनको भनाइ छ।

आफ्नो घरसमेत नभएका उनी भाइको घरमा शरणार्थीका रूपमा बसिरहेका छन्। पत्नी बाल विकास शिक्षिकाका रूपमा कार्यरत छिन् भने अकलेश करारमा पालिकामा काम गर्थे तर अहिले नवीकरण नभएपछि यो पनि अनिश्चित बनेको छ।

चार छोराछोरीका बाबु अकलेशले परिवार पाल्नुका साथै छोराछोरीको पढाइमा पनि खर्च जुटाउनुपर्दा निकै समस्या भएको सुनाए। थोरै जमिन भए पनि त्यसले खानै नपुग्ने भएकाले परिवारको पेट पाल्नैसमेत समस्या छ उनको। कतैबाट सहयोग मिलेन भने छोरीले पढाइबाटै हात धुनुपर्ने हो कि भन्ने चिन्ताले निकै सताएको अकलेशको भनाइ छ।

कलेजका प्रिन्सिपल बब्लुकुमार झाले आफ्नो कलेजले छात्रवृत्ति पाएका विद्यार्थीबाट शुल्क नलिने तर अन्य खर्चबारे आफूलाई जानकारी नभएको बताए। उता मधेस प्रदेशको शिक्षा तथा संस्कृति मन्त्रालयका सूचना अधिकारी प्रदीपकुमार साहले छात्रवृत्ति पाए पनि त्यस्ता विद्यार्थीको छात्रावास, स्टेसनरी आदि शुल्क बेहोर्ने नियम नै नभएको जानकारी दिए।  

प्रकाशित: २३ भाद्र २०८१ ०८:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App