३१ भाद्र २०८१ सोमबार
image/svg+xml
समाज

ठेलारहित कोहलपुरः सुन्दर अनि आकर्षक

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रवेशद्वार कोहलपुरमा सडक र सडकपेटी कब्जा गरी लामो समयदेखि अव्यवस्थितरुपमा सञ्चालन भएका ठेला विस्थापित गरिएको छ।

सहरको सौन्दर्यीकरण खस्किँदै जाँदा र सडक सुरक्षा चुनौतीसँगै दुर्घटनाको जोखिम देखिएकाले कोहलपुरलाई ठेलारहित सहर बनाइएको हो।

ठेला विस्थापित भएपछि कोहलपुर यतिबेला सुन्दर र आकर्षक देखिएको छ। यतिबेला कोहलपुर ठेलारहित छ। तीन प्रदेशको मुख्य प्रवेशद्वार कोहलपुरमा पछिल्लो समय जनघनत्व बढ्दो छ। रोजगारी अभावमा कयौं व्यक्तिहरुले सडक तथा फुटपाथ कब्जा गरी अव्यवस्थितरुपमा ठेला व्यवसाय सञ्चालन गरिरहेका थिए।

जथाभावीरुपमा होडिङ बोर्ड राखिएको थियो। जसले सहरको परिचयलाई नै कूरुप बनाएको थियो। अहिले पूर्णरुपमा सडक र सडकपेटी व्यवसायमाथि प्रतिबन्ध लगाइएको छ। स्थानीय तहको चुनावमा नगरप्रमुख पूर्णप्रसाद आचार्यले सुन्दर सहरको संकल्प गरेका थिए। जसअनुसार २०७९ असोज २५ गतेदेखि नगरलाई ठेलामुक्त बनाउन अभियान थालिएको थियो। यहाँ करिब साढे सात सयभन्दा बढी ठेला थिए।

ठेला व्यवसायीले सुरुमा यसको विरोधसमेत गरेका थिए। तर, नगरले उक्त विरोधलाई सामान गरी आफ्नो लक्ष्य हासिल गरेको छ। ठेलामा सामान बेच्न प्रतिबन्ध लगाएपछि यसमा आश्रित परिवारले व्यवस्थित व्यवसाय सञ्चालन गरेका छन्।

कतिपयले यहाँको हाटबजार र कृषि मेलामा व्यवसाय सञ्चालन गर्छन्। ठेला व्यवस्थापन गर्दा चुनौती आए पनि ती चुनौतीलाई सामान गरी नगरलाई ठेलारहित नगर बनाइएको कोहलपुर नगरपालिकाका नगर प्रमुख आचार्यले जनाए।

‘अव्यवस्थितरुपमा सञ्चालन भएका ठेलाले नगरको सौन्दर्यता मात्र होइन, सडकलाई नै अस्तव्यस्त बनाएको थियो,’ उनले भने, ‘जसले यहाँको सडक सुरक्षा पनि चुनौती बनेको थियो। ठेलामा दिनभरि सामान बिक्री गरे। त्यहीनेर फोहोर फाल्दिने बानीले सहर फोहोर पनि भएको थियो,’ उनी भन्छन्, ‘सडक र सडकपेटीमा मान्छे निर्धक्क हिँड्न र गुड्न पनि गाह्रो थियो।’ अहिले यसलाई व्यवस्थित बनाइएको उनी बताउँछन्।

खाली भएको सकडलाई हराभरा बनाउन अहिले वृक्षारोपण गरिएको छ। यसले दीर्घकालीनरुपमा कोहलपुरको सौन्दर्यतासँगै हावापानीमा सकारात्मक प्रभाव पार्ने उनको भनाइ छ। सडक किनार व्यापार गर्ने साना तथा निर्वाहमुखी व्यवसायीले हाटबजार कृषि मेलामा व्यवसाय सञ्चालन गर्न सकिने कोहलपुर नगरपालिकाले जनाएको छ।

ट्राफिक व्यवस्थापनमा असर पर्ने र पैदलयात्रुलाई पनि असुविधा हुने हुँदै जाँदा ठेला व्यवसायलाई विस्थापित गरिएको कोहलपुर नगर प्रहरी निरीक्षक बीरबहादुर थापाले जनाए।

‘सडक र सडकपेटीमा जुनसुकै व्यापार गर्न पाइँदैन,’ उनले भने, ‘हामीले बनेको नीति नियमलाई पालना गराएका हौं। कसैको रोजीरोटी खोसेका होइनौं।’

अव्यवस्थितरुपमा सञ्चालन भएका ठेला व्यवसाय अहिले बन्द भएपछि उनीहरु करको दायरामा आएर व्यवस्थित व्यवसाय सञ्चालन गरेका छन्। यसो गर्दा अहिले अनौपचारिकरूपमा सञ्चालन हुँदै आएको सडक व्यवसाय केही हदसम्म औपचारिक च्यानलमा आएको र नगरको राजस्व आम्दानीमा फाइदा पुगेको नगरले जनाएको छ।

२०७९/०८० मा नौ सय ८० वटा होडिङ बोर्ड हटाइएको छ र अटेर गर्ने ५० वटालाई कारबाही गरिएको छ। जसबाट एक लाख सात हजार आठ सय ६० रुपैयाँ राजस्व संकलन भएको छ।

त्यस्तै, सडक तथा सडकपेटी कब्जा गरी अव्यवस्थितरुपमा सञ्चालन भएका दुई सय ५० वटा ठेला तथा तराजु र फुटपाथ नियन्त्रणमा लिएको कोहलपुर नगर प्रहरीले जनाएको छ भने एक सय ७२ वटालाई कारबाही गरिएको छ। जसबाट ८५ हजार रुपैयाँ जरिवाना संकलन भएको नगर प्रहरी निरीक्षक थापाले जानकारी दिए।

पुराना व्यवस्थित भएका छन् भने नयाँ पहाडी तथा हिमाली जिल्लाबाट आएकालाई थाहा नभएर ठेला तथा फुटपाथ व्यवसाय सञ्चालन गर्न खोजेका र उनीहरुलाई व्यवस्थित गरिएको उनको भनाइ छ।

‘कोहलपुर उद्योग वाणिज्य संघसँग समन्वय गरेर हाटबजारमा व्यवस्थापन गर्न खोजेका हौं,’ उनले भने, ‘कृषिवाला कृषि बजारमा जानु भएको छ। अरु हाटबजारसम्म जानु भएको छैन।’

आर्थिक वर्ष २०८०/०८१ मा अनधिकृत दुई सय एकवटा होडिङ बोर्ड नियन्त्रणमा लिइएको र २० वटाबाट दश हजार रुपैयाँ जरिवाना भराएको उनी बताउँछन्।

‘दुई सय ७२ ठेला, फलफूल तथा सामान नियन्त्रण लिएका छौं,’ उनले भने, ‘एक सय ३२ वटालाई कारबाही गरेका छौं भने सोही वर्ष ठेलाबाट ६६ हजार रुपैयाँ जरिवाना असुली भएको छ।’

साथै उक्त आर्थिक वर्षमा भारतबाट बिना बिलबिजक जथाभावी बिक्री गर्ने २५ वटा तरकारी र फलफूलसहितका साइकल नियन्त्रणमा लिई १२ हजार पाँच सय रुपैयाँ जरिवाना गरी राजस्व उठाइएको नगर प्रहरीले जनाएको छ।

यो आर्थिक वर्षमा १० वटा होडिङ बोर्ड नियन्त्रणमा लिइएको र दुईवटालाई कारबाही गरिएको छ। जसबाट एक हजार रुपैयाँ जरिवाना असुली भएको छ। २२ वटा फलफूल तरकारी नियन्त्रणमा आएको र आठ वटालाई कारबाही गरी चार हजार रुपैयाँ जरिवाना संकलन भएको नगरी प्रहरीको तथ्यांकमा छ।

यतिबेला कोहलपुर व्यवस्थित सहरका रुपमा विकसित भएको छ। ठेला विस्थापित भएपछि अहिले सडक खुला देखिएका छन्। सडकपेटी हिँड्न मिल्ने भएका छन्। कहिकतै ठेला देखिएमा तुरुन्त नगर प्रहरीले कारबाही गर्छ भन्ने भय निर्वामुखी व्यापार गर्ने ठेला व्यापारीलाई परेको छ।

सामान्यता दशबिगाहतिर फाट्टफुट्टरुपमा ठेला देखिने गरेका छन्। उनीहरु पनि नगर प्रहरीको आँखा छलेर सञ्चालन हुन्छन्। फुटपाथलाई पनि व्यवस्थित गराइएको छ। भित्री सडकहरु फराकिला बनाइएको छ। जसले कोहलपुरको रुपलाई सुगन्धित बनाएको छ।

कोहलपुरमा ठेला विस्थापित भएपछि अहिले सुन्दर र आकर्षक देखिएको भन्दै यसलाई पर्यटकीय नगरी बनाउनतर्फ नगरले ध्यान दिनुपर्ने यहाँका स्थानीयको भनाइ छ।

‘नगरलाई कसरी व्यवस्थित बनाउने भनेर जनप्रतिनिधिहरु विभिन्न ठाउँमा भ्रमणमा आउँछन्,’ स्थानीय सर्वसाधारण वीरभान पौडेलले भने, ‘कसरी सडकलाई व्यवस्थित गर्न सकिन्छ ? ठेला विस्थापित गर्दाका अनुभवका लागि अन्य क्षेत्रका जनप्रतिनिधि यहाँसम्म भ्रमणमा आउन सक्ने वातावरण सिर्जना गर्नुपर्छ।’ कोहलपुरले यो सन्देश अन्य पनि दिनु पर्ने उनको भनाइ छ।

प्रकाशित: २२ भाद्र २०८१ २०:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App