३१ भाद्र २०८१ सोमबार
image/svg+xml
समाज

दिक्तेल बजारमा ह्युमपाइप थुनिएर भल पस्दा २० लाखको क्षति

दिक्तेल बजारमा ह्युमपाईप थुनिएर पसेको भलबाढी ।

खोटाङ सदरमुकाम दिक्तेल बजारमा ह्युमपाइप थुनिएपछि आएको भलले लाखौंको क्षति पुर्‍याएको छ।

बुधबार रातिदेखि बिहीबार बिहानसम्म परेको अविरल वर्षाका कारण सडक हुँदै बजारमा पसेको भलले खाद्यान्न, किराना सामान, होटल सामग्रीलगायत विभिन्न व्यवसायमा ठूलो क्षति पुर्‍याएको हो।

ह्युमपाइप थुनिँदा नाला भएर बग्नुपर्ने भेल रत्नपार्क बजार तथा आसपासका होटल, पसल र घरहरूमा पसेर करिब २० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

लगातारको वर्षाले उर्लिएको ढलको बाढीले रत्नपार्क बजारदेखि बाम्राङसम्मका क्षेत्रलाई प्रभावित गरेको थियो।

वडाध्यक्ष नवीन राईका अनुसार पुष्पलाल मध्यपहाडी लोकमार्ग निर्माण गर्दा स्थानीय खहरेमा राखिएको ह्युमपाइप थुनिँदा बजारवासीहरूलाई ठूलो क्षति भएको हो।

उनले दिक्तेल जिरो प्वाइन्ट आसपासका रुसा स्टोर, न्यु काभ्रो स्टोर, एलिना होटल, चोमोलुङमा होटल एण्ड लजमा भल पसेर खाद्यान्न तथा किराना सामान भिजेर क्षति भएको जानकारी दिए।

रुषा स्टोरमा करिब ७ लाख बढीको चामल, चिनी, मकै, चिउरा, दाल लगायतका सामान नष्ट भएका छन् भने न्यु काभ्रो स्टोरको गोदाममा भिजेको चामलले ५० हजार बराबरको क्षति गरेको छ।

एलिना होटलमा पनि २५ हजार बढीको खाद्य सामग्री नष्ट भएको छ। चोमोलुङमा होटल एण्ड लजमा पनि चामल, लत्ताकपडा र अन्य सामग्री भिजेर लाखौंको क्षति भएको बताइएको छ।

भलले होन्डा सोरुममा राखिएको पार्ट्स तथा पुर्जा भिजाएर करिब १० लाख बराबरको क्षति गरेको छ। लाहुरे हार्डवेयरमा ५० हजार बढीको प्लाईउड र सिमेन्ट पनि नष्ट भएको छ।

स्थानीय रुद्रकुमार श्रेष्ठको निर्माणाधीन घरमा स्टोर गरिएको सिमेन्ट पनि बाढीले बिगारिदिएको छ। वडाध्यक्ष राईका अनुसार क्षतिको मूल्यांकनका लागि नगरपालिका र प्रहरीले सर्जमिन गरेका छन्। साथै जिल्ला दैवी प्रकोप उद्धार कोष र नगरपालिकालाई विवरण बुझाइएको छ। 

ह्युमपाइप खोल्न नगरपालिकाले जेसिभी र उपकरणको प्रयोग गरेर प्रयास गरेको भए पनि समस्या समाधान हुन नसकेपछि नालालाई भत्काएर खोल्सीतर्फ डाइभर्ट गरिएको छ।

भल बग्ने वैकल्पिक उपायका लागि केही दिनभित्र स्थायी निकासको योजना बनाउन छलफल अघि बढाएको राईले बताए।

सडकमा थुप्रिएको फोहोर नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा सफा गरिएको छ। यस्तै, लगातारको वर्षाले खोटाङको विभिन्न स्थानमा पहिरोसमेत गएको छ। जसले रावाबेँशी गाउँपालिकाका घरहरू उच्च जोखिममा पारेको छ।

जिल्लाका अन्य जोखिमपूर्ण क्षेत्रहरूमा पनि पहिरो पन्छाउने काम भइरहेको छ।

प्रकाशित: २२ भाद्र २०८१ १६:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App