३१ भाद्र २०८१ सोमबार
image/svg+xml
समाज

मधेसमा सांस्कृतिक अन्तरघुलन: उल्लासका साथ मनाइयो चौरचन र तीज

लहान–८ स्थित शिव मन्दिरमा शुक्रबार बिहानैदेखि तीजको कथा श्रवण र पूजा गर्ने महिलाहरुको बाक्लो उपस्थिति थियो। तीजको पूजा गर्ने मधेसी र पहाडी महिलाको सरोबरी उपस्थितिले समुदायमा सांस्कृतिक अन्तरघुलन बलियो बनाउँदै गएको प्रमाण दिएको छ।

तीज व्रत कथा श्रवण गर्न सहभागी लहान–४ कि सुनिती यादव तीजको व्रत बस्न थालेको यो डेढ दशक भएको बताइन। ०६४ मा वैवाहिक बन्धनमा बाँधिएको वर्षदेखि उनले तीजको व्रत बस्न थालेकी हुन्।

मिर्चैया ससुराली भएकी भावना यादव तीजको व्रत बस्न थालेको यो दोस्रो वर्ष हो। ०८० वैशाखमा वैवाहिक बन्धनमा बाँधिएको वर्षदेखि उनले व्रत बस्न थालेको सुनाइन्।

यो पर्व त पहाडी समुदायको महिलाले मनाउने होइन र ? भन्ने प्रश्नमा यादवको जवाफ थियो, ‘पहाडी समुदायको महिलाले मनाउने पर्व मधेसी महिलाले मनाउन हुन्न र ?’ यो पर्व हिन्दु धर्मावलम्बी महिलाले मनाउने पर्व हो उनले थपिन्, ‘भगवान्‌ले पहाडी–मधेसी छुट्टाउँदैनन्, अनि हामी किन विभेद गर्नू ?’

हिन्दु धर्मावलम्बी महिलाहरुले शुक्रबार दुई वटा पर्व उत्साहपूर्वक मनाएका छन्, चउरचन (चौठी चान्द) र तीज। यी दुई पर्व नेपाली समाजका दुई समुदायले मनाउने सांस्कृतिक पर्व हो। पहाडी समुदायका महिलाले मनाउने सांस्कृतिक पर्व ‘तीज’ र मधेसी समुदायका महिलाले मनाउने सांस्कृतिक पर्व ‘चउरचन’।

पहाडी समुदायका महिलाले पहिलादेखि मनाउँदै आएको तीज पछिल्लो समय मधेसी महिलाले पनि उत्तिकै श्रद्धा र उल्लासका साथ मनाउन थालेका छन्।

मधेसी महिलाहरु तीज पर्वलाई उतिकै श्रद्धा र उल्लासका साथ मनाउँछन्, जसरी पहाडी महिलाहरुले मनाउँछन्। मधेसी महिलाहरु शुक्रबार बिहान सूर्य उदाउनुअघि दर खाएर व्रतको सुरुवात गरेपछि २४ घण्टासम्म निर्जल र निराहार बस्छन्। व्रतालुहरू शनिबार बिहान मात्र अन्नपानी ग्रहण गर्ने यादवले बताइन्।

तीजलाई महादेव–पार्वतीको कथासँग जोडेर हेर्दा पार्वतीले महादेव वर पाउन यो व्रत बसेको पाइन्छ। तीजको व्रत बसेपछि पार्वतीले शिवलाई वर (पति) को रुपमा प्राप्त गरेको कथामा उल्लेख भएको पाइन्छ। यही कथालाई आत्मसात् गर्दै विवाहित महिलाले पतिको सुस्वास्थ्य र दीर्घायुको लागि र अविवाहित महिलाले मन पाएको र असल पतिका लागि तीज व्रत बस्ने प्रचलन छ।

पछिल्लो समय मधेसी महिलाहरु यो पर्वको महत्त्व बुझेर व्रत बस्न थालेपछि मधेसी र पहाडी महिलाबीच अन्तरङ्ग सम्बन्धलाई सांस्कृतिक रुपले अझ प्रगाढ बनाउने काम गरेको सांस्कृतिक जानकारहरु बताउँछन्।

डेढ दशकदेखि निरन्तर तीज व्रत बस्दै आएकी सुनिती यादव भन्छिन्, ‘छठ र जितिया पर्वको महत्त्व बुझेर पहाडी समुदायका महिलाहरु पनि सहभागी हुन थालेका छन्। ‘तीजको महत्त्व बुझेर मधेसी समुदायका महिलाहरु सहभागी भएका छौं,’ उनले थपिन्। एक अर्काको सांस्कृतिक पर्वको महत्त्व बुझेर जनाइएको सहभागिताले सामुदायिक सद्भाव र सम्बन्धको अन्तरघुलन बढाउने यादवको भनाइ छ।

लहानकी सुनिती यादव र भावना यादव मात्र होइनन्। यहाँका मधेसी र पहाडी समुदायका महिलाहरु एक सातासम्म सँगै तीजमा रमाउँछन्। एक अर्काको घर दर खान जाने, नाचगान गर्नमा व्यस्त हुन्छन्।

‘तीजको रमझम र उत्साहमासंगै रमाउँदा जातपातको कुरा कहिल्यै हाम्रो दिमागमा आएन,’ यादवले सुनाइन्। पर्वमा हामीले भगवान्‌को आराधना गर्ने हो’, उनी भन्छिन्, ‘भगवान्‌ले जातपात मान्दैन, हामी किन मान्ने।’

छठमा पनि पहाडी र मधेसी समुदाय बिच यस्तै आत्मीय सद्भाव छ। लहान–७ का सुरेन्द्र श्रेष्ठ भन्छन्, ‘बर्सौँ भयो छठमा हाम्रो अर्घ छिमेकी प्रदीप गुप्ताकी आमाले चढाउँदै आउनुभएको छ। हामीबीचको यो सांस्कृतिक सम्बन्ध दशकौँ पुरानो हो,’ उनले भने, ‘छठको घाटमा सबै जाति समुदायको थलो एउटै हुन्छ। जसरी यहाँको समाजमा सद्भाव छ, त्यसैगरी यहाँको सांस्कृतिक पर्वहरुमा पनि,’ उनले थपे।

पूर्व–पश्चिम लोकमार्गको छेउछाउ र उत्तर चुरेसम्मको भूभागमा पहाडी–मधेसी समुदायको छासमिस बसोबास छ। यस क्षेत्रमा बसोबास गर्ने समुदाय (पहाडी–मधेसी) बीचको सांस्कृतिक आदान–प्रदानले सामुदायिक सद्भावलाई र रहनसहनलाई सुमधुर र प्रगाढ बनाएको छ। सांस्कृतिक अन्तरघुलनले यहाँ छासमिस भएर बसेका समुदायहरुको विशिष्ट सामाजिक परिवेश निर्माण भएको छ। यसले यहाँको समाजमा बसोबास गर्ने सम्पूर्ण समुदायबिच सांस्कृतिक गठजोर बलियो भएको प्रमाण दिन्छ।

चन्द्रमाको पूजा गरी मनाइयो चौरचन

मधेस प्रदेशमा चौरचन पर्व श्रद्धापूर्वक मनाइएको छ। शुक्रबार साँझ चन्द्रमालाई पूजा गरी चौरचन पर्व उल्लासपूर्वक मनाइयो।

भदौ चतुर्थी तिथिका दिन मनाइने यो पर्वलाई ‘चौठचन्द्र’ चौरचन भनिन्छ। संस्कृत भाषाको चतुर्थी ध्वन्यात्मक भेद्ले गर्दा चौठी वा चौठ हुन गएको हो। लोक धारणाअनुसार भदौ शुक्ल चतुर्थीको दिन उदाउने चन्द्रमा चोर हुन्छ भनिन्छ। यस दिनको चन्द्रमाको दर्शन खाली हात गर्नु हुँदैन, यसो गरेमा दोष लाग्दछ। हातमा कुनै फल वा नैवेद्य लिई यस दिनको चन्द्रमाको दर्शन गरेमा दोष नलाग्ने मान्यतासमेत रहेको छ।

चन्द्रदेवलाई नैवेद्य अर्पण गर्दै चौरचनका व्रतालु। तस्बिर: मिथिलेश यादव/नागरिक

चन्द्रमाको पूजासँग सम्बन्धित यो पर्व मिथिलाञ्चलको विशिष्ट पर्व हो। चन्द्रमा जीवनका हरेक क्षेत्रमा व्याप्त रहेका कारण मैथिली समाज विशेषतः मधेसी समाजले चन्द्रमालाई देउताका रूपमा श्रद्धापूर्वक पूजा गर्दै आएको छ। ज्योतिष शास्त्रमा चन्द्र मण्डललाई जलवृष्टिको आधार मानिएको छ। यही विश्वासले मैथिल समाज कुनै पनि शुभ कार्य गर्दा चन्द्रमाको स्थितिलाई महत्त्व दिन्छ।

मैथिल समाजको भाव, कल्पना र विचारमा चन्द्रमाको व्यापकत्व रहेका कारण मैथिल समाजले धार्मिक अनुष्ठानदेखि साहित्य, सङ्गीत, चित्रकलालगायतका विभिन्न क्षेत्रमा चन्द्रमालाई चन्द्रदेव भनी आराधना गर्दै आएको पाइन्छ।

चन्द्रमालाई मनको देउता पनि भनिन्छ। ऋग्वेदमा धनको प्राप्ति एवं सुस्वास्थ्यका लागि चन्द्रमाको यत्रतत्र प्रार्थना गरिएको पाइन्छ। चन्द्रमाको उपासनाले कफ रोग निको हुने, वीर्य दोषबाट निवृत्ति र चञ्चल मन एकाग्र हुने धारणा पाइन्छ। योग शास्त्रअनुसार चन्द्रबिम्बमा ध्यानले विश्वको समस्त घटनाको ज्ञान साधकले सहजताले प्राप्त हुन्छ।

यो पर्वको प्रारम्भ मिथिला नरेश हेमाङग ठाकुरद्वारा भएको मानिन्छ। उनी ज्योतिष शास्त्र भएकाले चन्द्रमाको पूजाको परम्परा प्रारम्भ गरेको विश्वास पाइन्छ।

मैथिल समाजका धेरैजसो परिवारमा यो व्रत गर्ने भाकल गरिएको हुन्छ। परिवारमा कसैलाई कुनै कष्ट भएको बेला यो पर्व गर्ने भाकल गरेर कष्ट निवारणका लागि चन्द्रमालाई बिन्ती गरिन्छ। यस्तो भाकल पाँच–दश वर्षका लागि पनि गरिन्छ भने कतिपय अवस्थामा यो आजीवन हुने गर्दछ।

लहान –४ कि अम्बिका यादव झण्डै डेढ दशकदेखि यो व्रत बस्दै आएकी छन्। चतुर्थीका दिन दिनभर उपवास बसी नैवेद्य लागि पकवान पकाइन्छ। साँझ भएपछि चन्द्रमाको विशेष विधिपूर्वक पूजा गरि यो पर्व सम्पन्न हुने उनी बताउँछिन्।

चौरचन पर्व मिथिला क्षेत्रको पारम्परिक लोकपद्धतिमा आधारित पर्व हो। यहाँ जति लोक परम्परा रहेको छ त्यसमा कुनै प्रकारको भेदभाव हुँदैन। यसमा कुनै तामझाम हुँदैन।

यसमा प्रयोग हुने विभिन्न सामग्री जस्तै माटोको भाँडा, फलफूल, पिठोबाट बनेको परिकार, दही लगायतका सम्पूर्ण सामग्री आफ्नै घर आँगनबाट उत्पादन भएको प्रयोग हुन्छ। व्रतालु यादवका अनुसार मानिस जन्म लिएपछि उनीहरुले सूर्य र चन्द्रमालाई मात्र हेर्‍यो बाँकी सबै देवी देवतालाई शास्त्रीय विधि अनुसार प्रतिष्ठानमा राखेर पूजा गरिन्छ। चौरचन पर्वको आयोजना भाद्र शुक्ल चतुर्थी तिथिका दिन रातिमा चन्द्रमाको पूजा गरी मनाइएको छ।

प्रकाशित: २१ भाद्र २०८१ १९:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App