२९ भाद्र २०८१ शनिबार
image/svg+xml
समाज

नेपाल विश्वकै तेस्रो प्रदूषित देश

वायुमण्डलमा अत्यन्त ससाना विषाक्त कणको उपस्थितिका कारण नेपाल विश्वकै तेस्रो प्रदूषित राष्ट्र बनेको एक अन्तर्राष्ट्रिय प्रतिवेदनले देखाएको छ।

भू–उपग्रहमा आधारित तथ्यांकले वायुमा रहेका पिएम २.५ कणहरूको घनत्व नेपालको वायुमण्डलमा अत्यधिक रहेको देखाएको हो। यसै कारण नेपाल विश्वमै तेस्रो वायु प्रदूषण हुने मुलुकका रूपमा सूचीकृत भएको छ।

एयर क्वालिटी लाइफ इन्डेक्स–२०२४ (एक्युएलआई) नामक अन्तर्राष्ट्रिय प्रतिवेदनका अनुसार विषाक्त वायुका कारण नेपालीको सरदर आयु ३.४ वर्षले घटेको छ। यो प्रतिवेदन बुधबार सार्वजनिक भएको हो।

सन् २०२२ को तथ्यांकका आधारमा तयार गरिएको उक्त प्रतिवेदनले उत्तर भारतका अत्यन्त प्रदूषित क्षेत्रसँग जोडिएका नेपालका १० जिल्लाका बासिन्दाको सरदर आयु ५.१ वर्षले कटौती भएको देखाएको छ।

प्रतिवेदनअनुसार सन् २०२२ मा नेपालमा पिएम २.५ को वार्षिक औसत ३९.२ माइक्रोग्राम प्रतिघनमिटर थियो। प्रतिघनमिटर वायुमा २.५ माइक्रोमिटर वा त्यसभन्दा साना व्यास भएका अथवा मानिसको कपालको राैंको व्यासभन्दा झन्डै २५ गुणा साना सूक्ष्म कणलाई पिएम २.५ का रूपमा मापन गरिन्छ। वायु प्रदूषणका लागि सबैभन्दा खतरनाक मानिएको पिएम २.५ सूक्ष्म कण मानिसको फोक्सोसम्म सिधै पुग्नसक्ने र त्यसले रक्तसञ्चार प्रणालीमा बाधा पारी दम, मुटु, श्वासप्रश्वासलगायत रोग निम्ताउने मानिन्छ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मापदण्डका आधारमा सबै नेपाली विषाक्त हावामा सास फेर्न बाध्य छन्। नेपालको सरदर आयुलाई प्रभाव पार्ने कारकमा वायुमा रहेका विषाक्त कण सबैभन्दा ठुलो चुनौती बनेका छन्। वायु प्रदूषणले नेपालीको सरदर आयु ३.४ वर्षले घटेको छ। त्यसपछि नेपालीको आयु धूमपानले १.९ वर्ष तथा रक्तचाप र आहारजन्य जोखिमले क्रमश १.५ वर्ष घटेको देखिएको छ।

सिकागो विश्वविद्यालयअन्तर्गत इनर्जी पोलिसी इन्स्टिच्युटको अगुवाइमा हरेक वर्ष सार्वजनिक गरिने उक्त प्रतिवेदनका अनुसार सन् २०२१ को तुलनामा नेपालमा सन् २०२२ मा वायुमा रहेका विषाक्त कणको प्रदूषण १८ प्रतिशतले घटेको छ। यसलाई कायम गर्न सके सन् २०२१ को तुलनामा नेपाली १० महिना बढी बाँच्नसक्ने देखिएको छ। तर सन् १९९८ को तुलनामा सन् २०२२ मा नेपालमा वार्षिक विषाक्त कणको प्रदूषण ४९ प्रतिशतले बढेको छ। यसले नेपालीको आयु १.३ वर्षले कटौती गरेको छ।

डब्लुएचओको मापदण्डअनुसार वायु प्रदूषणको स्तर नेपालले सुधार गर्न सके कुल जनसंख्याको ४० प्रतिशत बसोबास गर्ने मध्य तथा पूर्वी तराईमा मानिसको सरदर आयु ४.८ वर्ष थपिने प्रतिवेदनमा उल्लेख छ। यसैगरी स्वस्थ वायुको मापदण्ड परिपालना गरेमा राजधानी काठमाडौंका बासिन्दाको आयु २.६ वर्षले थपिने प्रतिवेदनको आकलन छ।

वायुमा रहेका विषाक्त कणको भयावह जोखिम हुँदा हुँदै पनि नेपालले पिएम २.५ को वार्षिक मापदण्ड कति हो भनेर अहिलेसम्म तोकेको छैन।

नेपालको वायु गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्ड–२०६९ ले पिएम २.५ को दैनिक औसत ४० माइक्रोग्राम प्रतिघनमिटर हुनुपर्ने तोकेको छ। सरकारी अधिकारीले हाल पिएम २.५ को वार्षिक मापदण्डलगायत अन्य मानकको पुनरवलोकन भइरहेको बताउँदै आएका छन्। तर यस विषयमा कुनै निर्णय भएको छैन।

हालै सार्वजनिक स्टेट अफ ग्लोबल एअर रिपोर्ट–२०२४ एक अर्काे अन्तर्राष्ट्रिय प्रतिवेदनले नेपालमा वायु प्रदूषणका कारण सन् २०२१ मा ४८ हजार पाँच सय जनाको मृत्यु भएको देखाएको थियो।

सरकारले २०७६ सालमा काठमाडौं उपत्यकामा वायु गुणस्तर व्यवस्थापन कार्ययोजना ल्याए पनि यसको कार्यान्वयन अत्यन्त कमजोर छ। यो कार्ययोजनाले यातायात क्षेत्र, उद्योग प्रतिष्ठान, घरभित्रको वायु प्रदूषण, फोहोरमैलाजन्य प्रदूषण रोकथामसहित जनचेतना अभिवृद्धिमा प्राथमिकता दिएको छ।

नेपालको संविधानको धारा ३० मा प्रत्येक नागरिकलाई स्वच्छ हावा र स्वस्थ वातावरणमा बाँच्न पाउने हकको व्यवस्था छ। यसैगरी राष्ट्रिय वातावरण नीति २०७६, वातावरण संरक्षण ऐन २०७६ मा पनि तोकिएको मापदण्डविपरीत प्रदूषण गर्न नपाउने व्यवस्थालगायत वायु प्रदूषण मापदण्डको तर्जुमा तथा कार्यान्वयनका विषयलाई समेटिएको छ।

वायु प्रदूषण रोकथामका अभियन्ता नेपालमा वायु प्रदूषणको भयावह अवस्था बढ्दै जाँदा त्यसलाई रोक्न स्वच्छ वायुसम्बन्धी निर्दिष्ट ऐन आवश्यक रहेको बताउँछन्।

जनस्वास्थ्यमा गम्भीर असर पार्ने वायु प्रदूष नियन्त्रणका लागि राजनीतिक तहबाट ठोस प्रतिबद्धता आउनुपर्ने उनीहरूको भनाइ छ। ‘हाम्रा प्रयास र नीतिहरू टाकनटुकन मात्र छन्।

अब वायु प्रदूणका लागि स्वछ वायु राष्ट्रिय कार्यक्रम र त्यसलाई कार्यान्वन गर्न समयसारिणीसहितको कार्ययोजना आवश्यक देखिन्छ’, जर्मनीस्थित रिसर्च इन्स्टिच्युट फर सस्टेनेबिलिटीका अनुसन्धानकर्ता तथा वायु प्रदूषणविज्ञ डा. महेश्वर रूपाखेती बताउँछन्।

‘बढ्दो वायु प्रदूषणको कहर रोकथाम गर्न समग्रमा नेपालमा अब छुट्टै स्वच्छ वायु ऐन आवश्यक छ’, उनले थपे। चीनले सन् २०१४ देखि कार्यान्वयनमा ल्याएको स्वच्छ हावा कार्यक्रममार्फत केही वर्षमै ७० प्रतिशत वायु प्रदूषण घटाएको चर्चा गर्दै रूपाखेतीले ठुलो स्तरमा यसप्रकारका अभियान चलाउन सकेमा प्रदूषण घटाउन सकिने बताए।

एक्युएलआई–२०२४ मा वायु प्रदूषणमा नीतिगत परिवर्तन गरिएका कारण चीनले आफ्ना नागरिकको औसत आयु २ वर्षले बढाएको उल्लेख गरिएको छ। वायु प्रदूषणमा अग्रणी सूचीमा रहेको अर्काे छिमेकी मुलुक भारत पनि राष्ट्रिय कार्ययोजनासहित वायु प्रदूषण घटाउन लागिरहेको रूपाखेती बताउँछन्। ‘जनस्वास्थ्यसँग यति बिघ्न जोडिएको यो विषयलाई निरूपण गर्न नेपालमा राजनीतिक इच्छाशक्ति सबैभन्दा बढी आवश्यक छ ’, उनले भने।

एक्युएलआईले मानव स्वास्थ्यमा वायु प्रदूषण सबैभन्दा ठुलो जोखिम रहेको देखाएको छ। दक्षिण एसियाली क्षेत्रमा वायु प्रदूषणको स्तर केही मात्रा घटे पनि विश्वका अधिकांश राष्ट्र वायु प्रदूषणका आआफ्ना मापदण्ड कार्यान्वयन गर्न असफल रहेको प्रतिवेदनले देखाएको छ। डब्लुएचओको मापदण्ड कार्यान्वयन भएमा मानिसको आयु १.९ वर्षले बढ्ने प्रतिवेदनको आकलन छ।  

प्रकाशित: १३ भाद्र २०८१ ०६:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App