२८ भाद्र २०८१ शुक्रबार
image/svg+xml
समाज

सार्वजनिक सवारी साधन दुरुपयोगको युवाहरूको निगरानी अभियान

शनिबार सरकारी साधन चलाएको अवस्थामा फेला परेका कर्मचारीमाथि सोधपुछ गर्दै निगरानी समूह । तस्विरः महेश्वर

उदयपुरका युवाहरूले सरकारी सवारी साधनको दुरुपयोगबारे निगरानी गर्न थालेका छन् । युवाहरूको एक समूहले सार्वजनिक बिदामा पनि सरकारी सवारी साधन व्यक्तिगत काममा प्रयोग गरी दुरुपयोग गरेको विषयमा निगरानी गर्न थालेका हुन् ।

जस अनुसार सार्वजनिक बिदाको दिन शनिबार दिउँसो युवाहरूको टोली सरकारी सवारी साधन चलाउँदै गरेको अवस्थामा ६ वटा मोटरसाइकल र त्यसमा सवार विभिन्न कार्यालयका कर्मचारी र सर्वसाधारणलाई फेला पारेका छन् । उनीहरूलाई केही बेर सोधपुछ गरी आगामी दिनमा त्यसो नगर्न सुझाउँदै छाडिदिएको बताएका छन् ।

युवा टोली मदन भण्डारी लोक मार्ग अन्तर्गत सदरमुकाम गाईघाटदेखि पश्चिमतर्फ रौतामाई र उदयपुरगढी गाउँपालिका सीमा स्थल संगम चोकसम्म निगरानी गर्न परिचालन भएको थियो । सो क्रममा सरकारी सवारी साधनसहित त्रियुगा नगरपालिका, रौतामाई र उदयपुरगढी गाउँपालिकाका कर्मचारी गैर कर्मचारीसहित फेला परेको टोली सदस्य लक्ष्मण राईले बताए ।

दिउँसो १ः०० बजेदेखि परिचालित टोलीले को १ ब १९३२, स १ ब ८६८, स १ ब १२५०, स १ ब ०२१६, स १ ब १४१२, प्र १–०२–००१ ब ३३६५ र प्र १–०५–००१ नं. का ६ वटा मोटरसाइकल सार्वजनिक बिदाका दिन गुडिरहेको भेटे । ती साधनमा कर्मचारीसँगै परिवारका सदस्य, आफन्त र नाताका व्यक्तिहरू सवार रहेको भेटिएको छ ।

कतिपय चालक उनीहरूबाट बच्न तीव्र गतिमा सवारी हाँकेर भागेपछि लामो दूरीसम्म पछ्याएर फेला पारेका थिए । निकै लामो दूरीसम्म पछ्याएर सोधपुछ गर्दा कार्यालयकै कामले, पारिवारिक तथा आफन्तलाई लिफ्ट दिन हिँडेको जवाफ फर्काएको टोलीमा सहभागी अर्का सदस्य नारायण दाहालले बताए । बिदाको दिन सार्वजनिक सवारी साधन चलाउन नमिल्ने कुराको जानकारी भए पनि काम विशेषले हिँडडुल गरेको जवाफ दिएर टारेको पनि टोलीले जनाएको छ ।

टोली सदस्य लक्ष्मण राईले धेरै सरकारी सवारी साधनको दुरुपयोग हुने गरेको पाइएपछि रोक्न कालागि अभियानको सुरुवात गरेको प्रतिक्रिया दिए । सार्वजनिक सम्पत्तिको दुरुपयोग रोक्न युवाहरू नै लागी पर्नुपर्ने खाँचो महसुस गर्दै केही युवा मिलेर निगरानी अभियान थालेको राईले बताए ।

सेतो नम्बर प्लेटका सवारी साधन सरकारी कार्यालयको प्रयोजनका लागि राज्यले उपलब्ध गराए पनि व्यक्तिगत काम र व्यावसायिक प्रयोजनमा दुरुपयोग हुँदै आएको पाइएकाले यस्तो निगरानी गर्न थालेको अर्का सदस्य नयनराज राईले बताए । बिना काम, आधिकारिक कार्यालयको पास नलिई सार्वजनिक सवारी साधन प्रयोग गरेर राज्यको सम्पत्ति दुरुपयोग गर्नेहरूलाई पहिलो पटक सुझाव दिएर छाडेको तर, अर्को पटक भेटिए जनस्तरको कारबाही गर्ने चेतावनी दिइएको टोलीले जनाएको छ ।

निगरानी टोलीमा लम्मण सहित टीकाराम राई, भुवन राई, नारायण दाहाल, देशकुमार राई, सुरेन्द्र राई, सुशन दाहाल, वीरशेर राई र नयन राई सहभागी थिए । यो टोलीले आउँदा शनिबार र अन्य सार्वजनिक बिदाका दिन पनि यसरी नै सडकमा उत्रिएर सार्वजनिक साधनको दुरुपयोग गर्नेहरूको निगरानी राख्ने कामलाई निरन्तरता दिने जनाएको छ । 

प्रकाशित: ८ भाद्र २०८१ २०:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App