१ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

‘मापसे छलिएला छलिन्न मृत्यु’

ट्राफिक प्रहरीको कारबाहीमा परिएला भन्ने डरले मादक पदार्थ सेवन (मापसे) गरेपछि अहिले धेरैले सवारीसाधन चलाउँदैनन्। मापसे गर्नुपर्ने भए कसैले चालक लिएर जान्छन् भने कसैले पठाओ, इनड्राइभलगायत सवारीसाधन प्रयोग गर्छन्। तर कसैले भने मापसे गरेपछि प्रहरीलाई छल्न ‘चोरबाटो’बाट उम्कने प्रयास गर्छन्।

तर यस्तो प्रयास चालक स्वयंलाई नै घातक हुने ट्राफिक प्रहरीको भनाइ छ। मापसे गरेर उम्कने प्रयासमा चालक स्वयं दुर्घटनामा परेको प्रहरी तथ्यांकले देखाउँछ। ‘मापसे छलिएला तर मृत्यु छल्लिन,’ काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज खड्का भन्छन्, ‘मापसे छल्ने क्रममा दुर्घटना हुने सम्भावना झनै बढी हुन्छ।’ 

मादक पदार्थ सेवन गरेपछि प्रहरीलाई छल्नतर्फ लाग्दा चालक आत्तिने, डराउने तथा होस गुमाउने सम्भावना हुने उनले सुनाए। ‘यसबाट दुर्घटनाको जोखिम झनै बढ्छ,’ उनले भने, ‘मादक पदार्थ सेवन गरेपछि सवारीसाधन चलाउने काम बन्दै गर्नुपर्छ।’

अघिल्लो आर्थिक वर्षमा काठमाडौं उपत्यकामा मात्र आठ हजार ८८१ दुर्घटना मापसेका कारण भएको खड्का बताउँछन्। प्रहरीले मापसे गरेपछि सवारीसाधन चलाउन नदिन कडाइ गरेको छ तर पनि केहीले अटेरी गर्दै आएको उनको बुझाइ छ। ‘हामीले अघिल्लो आर्थिक वर्षमा ४० हजारभन्दा बढीलाई कारबाही गरेका छौं,’ उनले भने, ‘यही साउनमा मात्र तीन हजार ६४६ जनालाई कारबाहीको दायरामा ल्यायौं।’ प्रहरीले गर्ने कारबाहीमा एक हजार जरिवानासँगै सचेतना कक्षा लिनुपर्ने हुन्छ। तर दुर्घटना न्यूनीकरणमा यो मात्र पर्याप्त नहुने खड्काको बुझाइ छ।

अघिल्लो आर्थिक वर्षमा काठमाडौं उपत्यकामा भएका सडक दुर्घटनामा १७७ जनाको मृत्यु, २९० जना गम्भीर घाइते र आठ हजारभन्दा बढी सामान्य घाइते भएको प्रहरीको तथ्यांक छ। सहरमा हुने दुर्घटनाका मुख्य कारणमा चालकको लापरबाही, तीव्र गति र मापसे रहेको उनले बताए। ‘मापसे गरेर सवारीसाधन चलाउनु भनेको सबैभन्दा खतरनाक हो,’ उनले भने, ‘यस्तोमा चालक स्वयंले पनि यसको क्षतिबारे बुझ्न सक्नुपर्छ।’

सडक सुरक्षाविज्ञ आशिष गजुरेल पनि प्रहरी उपरीक्षक खड्काको भनाइसँग सहमत छन्। मापसे गरेर सवारीसाधन चलाउनु गम्भीर भुल हुने उनको बुझाइ छ। ‘मापसे गरेर अनियन्त्रित भएको चालकले सवारीसाधनलाई कसरी नियन्त्रणमा लिन सक्छ,’ उनले भने, ‘यो एक प्रकारको आत्महत्याको बाटो नै हो।’ मापस गरेर सवारीसाधन चलाउँदा अन्ततः दुर्घटनामा परिने उनको भनाइ छ।

उपत्यकामा मापसे गरी सवारीसाधन चलाउँदा दुर्घटना भई धेरै मानिसको मृत्यु हुन थालेपछि त्यसलाई रोक्न ट्राफिक प्रहरी महाशाखाले २०६८ मंसिर २७ गतेदेखि सडकमा मापसे जाँच सुरु गरेको हो। ट्राफिक प्रहरीले कारबाहीस्वरूप लाइसेन्समा प्वालसमेत पार्न थालेपछि मापसे गरेर सवारीसाधन चलाउनेको संख्या घट्दै गएको छ। ‘तर सबै कानुनबाट मात्र सम्भव हुँदैन,’ प्रहरी उपरीक्षक खड्का थप्छन्, ‘सवारी चालक स्वयं गम्भीर बन्नुपर्छ।’

प्रकाशित: ६ भाद्र २०८१ ०६:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App