१ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

तनहुँ र कास्कीमा डेंगी संक्रमण तिब्र

संक्रमण बढेपछि तनहुँको आँबुखैरैनीमा विद्यालय नै बन्द गरियो

तनहुँमा डेंगी फैलाउने लामखुट्टे नष्ट गर्दै। फाइल तस्बिरः नागरिक

कास्की र तनहुँमा यो सिजनमा फेरि डेंगी संक्रमण बढेको छ। तनहुँको आँबुखैरेनीमा डेंगी संक्रमण बढेपछि विद्यालय नै बन्द गरिएको छ। तनहुँको आँबुखैरेनी गाउँपालिका अहिले डेंगीको ‘हटस्पट’ बन्दै गएको स्वास्थ्यकर्मीले बताएका छन्। कास्कीमा पनि संक्रमण बढ्न थालेपछि सचेतना अपनाउन पोखरा महानगरले आग्रह गरेको छ।  

डेंगी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। अघिल्लो वर्ष डेंगीले कास्की लगायतका जिल्लामा निकै नै सताएको थियो। तनहुँको दमौलीमा पोहोर २५ सय मानिस बिरामी परेका थिए। तनहुँको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानका अनुसार डेंगी संक्रमणले विद्यार्थी बिरामी पर्न थालेपछि विद्यालय नै बन्द गरिएको छ। विहीबारदेखि बन्द भएका विद्यालयमा साउन महिनाभर पठनपाठन नहुने उनले बताए।  

‘विद्यालयका बालबालिका बिरामी पर्न थाले। दिनहुँजसो संक्रमण बढेपछि त्रास पनि फैलियो,’ उनले भने, ‘संक्रमण कम गर्नका लागि विद्यालयमा बिदा गरिएको हो।’ उनका अनुसार बजार क्षेत्र पर्ने आँबुखैरेनी गाउँपालिका–३ का चारवटा विद्यालय बन्द भएका छन्। आँबुखैरेनीमा संचालित रामशाह मावि, मर्स्याङ्दी बालज्योती बोर्डिङ स्कुल, बाल शिक्षा बोर्डिङ र नमोबुद्ध विद्यालय बन्द भएका छन्।  

‘अहिलेका लागि आँबुखैरेनी गाउँपालिका–३ का चारवटा विद्यालय मात्र बन्द भएका हुन्। अरु त सुचारु छन्। तर, संक्रमण बढ्दै गएमा अरु विद्यालय पनि बन्द हुने सक्नेछन,’ उनले भने, ‘संक्रमण डरलाग्दो गरि फैलिएको छ। त्यसैले आवश्यक अनुसार अहिलेको बन्द अवधि लम्बिन पनि सक्छ र अरु विद्यालय पनि बन्द हुन सक्छन्। तर, हामी विद्यार्थीको पठनपाठन प्रभावित हुनेमा पनि सचेत छौं।’ 

उनका अनुसार विद्यालयका विद्यार्थी मात्र नभई शिक्षक पनि प्रभावित भएका छन् । अभिभावक पनि संक्रमित बनेको उनले बताए।अध्यक्ष चुमानका अनुसार अहिलेसम्म गाउँपालिकाभित्र करिब ४ सय ५० जना संक्रमित भईसकेका छन। दिनमै ४० जनाको हाराहारीमा संक्रमित थपिएको उनले बताए। अहिले पनि करिब एकसयजना जति विद्यार्थी संक्रमित छन्।

अध्यक्ष चुमानका अनुसार बिरामीको उपचारका लागि अस्पतालको क्षमता बिस्तारदेखि लामखुट्टेबाट जोगिनका लागि सचेतनाका कार्यक्रम पनि संचालन गरिएको छ। लामखुट्टेको टोकाइबाट संक्रमण सर्ने भएकोले लामखुट्टे फैलाउने लार्भा नष्ट गर्ने उपाय गाउँपालिकाले अवलम्बन गरेको उनले बताए। ‘सहरी क्षेत्र नै बढी प्रभावित भएको छ। संक्रमणको यो तिब्र गति कम गर्नका लागि विद्यालय नै बन्द गरिएको हो,’ उनले भने।  

आँबुखैरेनी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. धनबहादुर क्षेत्रीका अनुसार पछिल्लो समय डेंगी संक्रमण निकै नै डरलाग्दो गरि फैलिएको छ। यो वर्ष पहिलोपटक गत जेठ ३१ गते डेंगीका पहिलो बिरामी पहिचान भएका थिए। त्यसपछि असार महिनाभर खासै संक्रमणले गति लिएको थिएन। त, साउन लागेपछि दैनिक रुपमा संक्रमण बढ्दै जाँदा अहिले दिनमा ४० जनाको हाराहारीमा बिरामी पर्ने गरेका छन्। सरकारी अस्पताल देखि निजी क्लिनिकमा उपचार गराउने र घरमै आराम गर्ने बसेका समेत गरि धेरै संख्यामा बिरामी भएको उनले बताए।  

‘अहिले आँबुखैरेनी नै हटस्पट बनेको छ। १५ शैयाको अस्पतालमा बिरामीको भीडभाड छ। बिरामीको चाप बढेपछि एउटै बैडमा तीनजनासम्म राखेर उपचार गरिरहेका छौ,’ क्षेत्रीले भने। उनका अनुसार स्थानीय अस्पतालमा भीडभाड बढेपछि बिरामीहरु थप उपचारका लागि करिब ४५ किलोमिटर परेको चितवनका विभिन्न अस्पतालमा गएका छन्।  

‘बिरामीको अवस्था सामान्य नै थियो। तर अब भने बिरामीको अवस्था जटिल हुन थालेपछि उपचारका लागि चितवन पठाएका छौं,’ उनले भने, ‘साना नानीदेखि वृद्धवृद्धासम्म पनि बिरामी परेका छन्। विद्यालयमा त्रास छाएको छ।’ पोहोर तनहुँ सदरमुकाम दमौलीलाई डेंगी संक्रमणले हायलकायल बनाएको थियो।  

पोखरा महानगरपालिकामा पनि पछिल्लो समय संक्रमण बढेको महानगरको स्वास्थ्य महाशाखाले बताएको छ। महाशाखाका जनस्वास्थ्य निरिक्षक राजेन्द्र रेग्मीका अनुसार पोखरा महानगरमा यो वर्ष अहिलेसम्म ३ सय ७१ जनामा डेंगी संक्रमण पुष्टि भएको छ। तीमध्ये ४५ जना बिरामी बुधबार मात्र थपिएका थिए। ‘पोखरा महानगरपालिका–८, ९, क्षेत्र बढी प्रभावित छन्। बसपार्क, जनघनत्व बढी भएकोले पनि त्यो क्षेत्रमा सधैं संंक्रमणले गति लिन्छ,’ रेग्मीले भने।

चिकित्सकका अनुसार एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा डेंगी सर्छ। यो लामखुट्टेले दिनको समयमा मात्र टोक्छ। यो लामखुट्टे फैलिनका लागि २० देखि ३० डिग्री सेन्टिग्रेड तापक्रम उपयुक्त मानिन्छ। फूलबारी, गमला, एसी, फ्रिज, छत, कौसीको पानी जम्ने ठाउँमा यस्तो लामखुट्टेले फुल पार्ने र त्यो फुल एकवर्षसम्म पनि रहन सक्ने भएकोले सधैंभरी जोखिम भने रही रहने स्वास्थ्यकर्मीको भनाई छ।  

पोखरामा २०७२÷७३ सालदेखि डेंगी देखिन थालेको थियो। सुरुका तीनवर्ष पोखरामा एकएकजना मात्र डेंगीका बिरामी भेटिएकोमा चौथो वर्ष ५७१ जना बिरामी परेका थिए। त्यसपछिको वर्ष भने त्यो संख्या झन्डै २ हजार पुगेको थियो। डेंगी फैलाउने यो लामखुट्टेले सफा पानी जमेको ठाउँमा मात्र फुल पार्ने गर्छ। खासगरि वर्षाको पानी जम्ने भाडाकुँडा, टिनका बट्टा, पुराना टायर, खालि ड्रम, फूलदानी, गमला, पानी ट्यांकी लगायतका भाडामा फुल पार्छ। त्यसैले वर्षातको पानी जम्ने सिजनमा यो रोग फैलिने गरेको चिकित्सकले बताएका छन्।  

चिकित्सकका अनुसार डेंगी संक्रमण भएपनि उच्च ज्वरो आउने, जिउ, जोर्नी र हाड दुख्ने गर्छ। त्यस्तै आँखाको गेडी वरिपरि दुख्ने, वाकवाकि लाग्ने, वान्ता हुने, खान मन नलाग्ने, छालामा रगत जमेको धब्बा देखिने, नाक, गिजा, तथा शरीरका अन्य अंगबाट रगत बग्ने सम्भावना रहेको चिकित्सकले बताएका छन।

प्रकाशित: २४ श्रावण २०८१ १८:०५ बिहीबार

डेंगी संक्रमण #तनहुँ कास्की