३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

१९ जना श्रीमानले दिए श्रीमतीविरुद्ध उजुरी

कपिलवस्तुमा १९ जना श्रीमानले श्रीमतीविरुद्ध उजुरी दिएका छन्। पछिल्लो समय जिल्लामा पुरुष हिंसा बढदै गएको प्रहरीको तथ्याङ्कले देखाएको छ।

गत आर्थिक वर्ष २०८०/०८१ मा श्रीमानले श्रीमतीविरुद्ध १९ वटा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेलले जनाएको छ।

आर्थिक वर्ष ०७९/८० मा जिल्लामा २९ वटा पुरुष हिंसा भएको भन्दै उजुरी दर्ता थिए। आर्थिक वर्ष २०७०/०७१ देखि पुरुष हिंसाको रेकर्डसमेत राख्न थालिएको सेलले जनाएको छ।

त्यस यता वर्षको १० देखि १५ वटा मात्र पुरुष हिंसा सम्बन्धी उजुरी पर्ने गरेकोमा गत आर्थिक वर्षमा भने १९ वटा उजुरी दर्ता भएका छन्। श्रीमतीबाट पीडित भएको कुरा समाजमा गर्दा अपहेलित हुने डरले चुपचाप हिंसा सहेर बस्ने पुरुषहरूले अहिले उजुरी दिन थालेको सेलले बताएको छ।

पहिले गाउँघरमै गुपचुपमा मिलाइने महिला पीडित पुरुष हिंसाका उजुरी गर्न पुरुषहरू आफैँ प्रहरी कहाँ पुग्ने गरेका छन। उनीहरूले आफू महिलाबाट पीडित भएको भन्दै न्याय पाउने आशाले जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेलमा उजुरी दर्ता गर्ने गरेका छन्।

यसअघि उजुरी गर्न पुरुषहरू प्रहरीकोमा खासै आउने गरेका थिएनन्। त्यसकारण प्रहरीमा रेकर्ड पनि राख्ने चलन थिएन। महिलाहरू जस्तै पुरुष पनि उजुरी गर्न आएपछि आरोपित महिलालाई बोलाएर छलफल गराउने गरेको प्रहरी नायब उपरिक्षक हरि बहादुर ओलीले बताए।

‘समय परिस्थिति अवस्था फेरिँदै जाँदा नयाँ समस्या आएको भन्दै दुबै पक्षलाई मिलाएर पठाउने गरिएको छ,’ उनले भने, ‘धेरै पुरुष वास्तविक रूपमा पीडित भेटिएका छन। दुबै पक्ष राखेर छलफल गर्दा समस्या पत्ता लाग्छ, त्यसपछि कसरी समाधान गर्ने भनेर निक्र्यौल निकाल्छौं।’

‘हिंसा प्रभावित धेरै पुरुषका समस्या समाधान भएको उनको भनाइ छ।

पुरुषहरुले आफ्नो श्रीमति माईत गए पछि नफर्केको, लिन जाँदा झैझडा गर्ने गरेको, वैदेशिक रोजगार गएको बेला पठाएको पैसा हिनामिना गरेको जस्ता उजुरी धेरै पर्ने गरेको उनले बताए।

खासगरी उजुरीमा खान लाउन नदिएको, कुटपिट गर्दै दुव्र्यवहार गरेको र घरमा काम नगरेर दुःख दिएको भन्दै पुरुष उजुरी गर्न आउने गरेका छन्। त्यस्तै घरमा नबस्ने, घर व्यवहार नगर्ने, यातना दिने, विलासी रहनसहन, महँगो लत्ताकपडा र गरगहना मागेर निउ खोजेर दुःख दिने गरेको पुरुषहरुको आरोप छ।

महिला सेल कपिलवस्तुका अनुसार गत आर्थिक बर्ष ३ सय ४७ घरेलु हिंसामा परेको उजुरी मध्ये २४ वटा अदालत गएका छन्।

प्रकाशित: १८ श्रावण २०८१ १२:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App