४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

बुटवलको २३ स्थानमा जडान गरियो हाइमास्ट लाइट

बुटवललाई उज्यालो सहरका रुपमा विकास गर्ने उद्देश्यले उच्च क्षमताका हाइमास्ट लाइट जडान गरिएको छ। बुटवलका विभिन्न २३ स्थानमा १० मिटर, १२.५ मिटर र १६ मिटरका हाइमास्ट लाइट जडान गरिएको हो।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवललाई उज्यालो र सुरक्षित सहरका रुपमा विकास गर्दे रात्रि कालिन बजार सञ्चालन गर्ने योजना अनुरूप हाइमास्ट लाइट जडान गरिएको बताए।  हाइमास्ट लाइट जडानले बुटवलका मुख्य सडक चोक चौराह र सार्वजनिक स्थलहरू रातिमा समेत सुरक्षित हुने उनले बताए।

बुटवललाई उज्यालो, सफा हरियालीयुक्त, सुन्दर र सुरक्षित सहर बनाउने योजना अनुरूप काम भइरहेको उनले बताए। नगरको सौन्दर्यीकरण लागि मुख्य सडकको डिभाइडर र दाँयाबाँया बिरुवा रोप्ने,अन्य खाली स्थानमा पनि वृक्षा रोपण गरी हरियाली बनाउने सरसफाइ अभियानलाई प्रभावकारी बनाउने लगायतका कामहरू भइरहेको उनले बताए।

पहिलो चरणमा २३ स्थानमा लाइट जडानको कार्य सकिएको भन्दै नगरप्रमुख पाण्डेयले बाँकी स्थानमा पनि चालु आर्थिक वर्षमा हाइमास्ट लाइट जडान गरिने बताए।

बुटवलको योगीकुटी चोक,राजमार्ग चौराह,कालिका चोक,नयाँ बसपार्क, पुरानो बसपार्क,अस्पताल लाइन, लक्ष्मी नगर गेट,बिटीआई चोक,गोलपार्क र जितगढी किल्लामा १६ मिटरका १२ वटा हाइमास्ट लाइट जडान भएका छन्। त्यस्तै विपी चोक,जेसिक चोक,तिनकुने चोक,टक्सार चोक,देवीनगर चौपारीलाइन,देवसिद्ध चोक,पशुबधशाला क्षेत्रमा साढे १२ मिटरका ७ वटा लाइट जडान गरिएको छ।

त्यस्तै होराइजन चोक, नेपाल टेलिकम चोक, उपमहानगरपालिकाको गेट र बुद्धनगर स्वास्थ्य चौकी क्षेत्र नजिकै १० मिटरका ४ वटा लाइट जडान गरिएको बुटवल उपमहानगरपालिकाको शहरी पूर्वाधार महाशाखा प्रमुख सुमन श्रेष्ठले जानकारी दिए। उनका अनुसार हाइमास्ट लाइट जडानका लागि २ करोड ७ लाख ९३ हजार ७३५ रुपैयाँमा नेपाल पावर सोलुसन प्रालि हेटौँडासँग २०८० माघ १२ गते ठेक्का सम्झौता भएको थियो।

प्रकाशित: १६ श्रावण २०८१ १८:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App