२ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

लागुऔषध धेरै भेटिन थालेपछि दोलखामा चल्यो ‘प्रहरी अपरेसन’

प्रहरी अपरेसनमा ११ समातिए

जिल्लामा लागुऔषध कारोबारीहरूले डरलाग्दो सञ्जाल बिस्तार हुन थालेपछि दोलखा प्रहरीले लागुऔषध विरुद्ध कडा खालका ‘प्रहरी अपरेसन’ सञ्चालन गरेको छ।

पछिल्लो ‘अपरेसन’ हरूबाट जिल्ला प्रहरी कार्यालयले ११ ग्राम खैरो हिरोइन र ठुलो मात्रामा प्रतिबन्धित ‘ट्रमाडोल’ चक्की र ‘नाईट्राबेट’ क्याप्सुल जस्ता कडा खालका लागु पदार्थ सहित यसको कारोबारमा संलग्न करिब एक दर्जनलाई नियन्त्रणमा लिएको हो।

यसका प्रयोगकर्ता युवा र किशोर सँगै स्कुले विद्यार्थी उमेरका समेत फेला पर्न थालेपछि प्रहरीले चेकजाँच र कडाइ सँगै सदरमुकाम चरिकोट र जिल्लाका विभिन्न बजार केन्द्रहरूमा निगरानी बढाएको छ।

५ वर्ष यता लागुऔषधमा प्रहरी कार्बाही र मुद्दा चल्दै नचलेकोमा कारोबारीहरूले गहिरो सञ्जाल बिस्तार गरेको अनुमान गर्दै प्रहरीले अनुसन्धान र कार्बाही कडा बनाएको छ।

‘२०७६ साल यता दोलखामा लागु औषधको कुनै पनि मुद्दा चलेको रहेनछ’ जिल्लाका प्रहरी प्रमुख डिएसपी युवराज खड्काले नागरिकन्यूजसँग भने, ‘एकै पटक त्यसको ५ वर्ष पछि गत बैशाखमा गाँजा सेवन गर्ने र कारोबार गर्नेहरूलाई नियन्त्रणमा लिएर यो अभियान सुरु गर्दै खैरो हिरोइन र ट्याब्लेट क्याप्सुल बरामद सम्म आइपुगेका हौँ।’  खड्काले दोलखामा यसको जालो प्रहरीले तोडेरै छाड्ने बताए। ‘नागरिकको सहयोगले लागुऔषध कारोबारी र प्रयोगकर्ताको सबै जालो भत्काएरै छाड्छौँ’ उनले भने।

जिल्ला प्रहरी प्रमुख खड्काको दाबी जस्तै ५ वर्षको अवधिमा कारोबारीहरूले लागु औषध ओसारपसार र बिक्रीको सञ्जाल बढाएको अनुमान प्रहरीले गरेको छ। एक महिना अघि विशेष सिभिल टोली बनाएर लागु औषध विरुद्ध ‘अपरेसन’ थालेको दोलखा प्रहरीले असार १८ गते सुरुमा सदरमुकाम चरिकोटबाट विभिन्न ‘क्याप्सुल’ र ‘ट्याब्लेट’ सहित ४ जना र १९ गते एक जनालाई पक्राउ गरेको थियो।

यस्तै असार २५ मा २, साउन ४ मा २ र साउन ५ मा २ जना पक्राउ परेका थिए। लागु औषध सहित पक्राउ परेका उनीहरूलाई जिल्ला प्रहरीका इन्स्पेक्टर सत्रुधनकुमार महतोको नेतृत्वमा खटिएको टोलीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो।

हाल सम्म ११ जना लागु औषधी सहित पक्राउ परिसकेको जिल्ला प्रहरीका इन्स्पेक्टर जीवन श्रेष्ठले जानकारी दिए। इन्स्पेक्टर श्रेष्ठका अनुसार पक्राउ परेकाहरू मध्ये अधिकांश ओसारपसार र कारोबारमा संलग्न रहेको देखिएको छ। ‘कारोबारमा संलग्नहरूले मधेसका जिल्लाहरू सम्म पुगेर सामान (लागुऔषध) बुझ्ने र सदरमुकाम चरिकोट सम्म ल्याउने गरेको देखिन्छ’ उनले भने। 

श्रेष्ठका अनुसार खैरो हिरोइन सहित पक्राउ परेका भीमेश्वर नगरपालिका ४ का मधुसुजन चौलागाई र जिल्लाकै विगु गाउँपालिका ३ का विजय आचार्यले भारतबाट आएको सामान महोत्तरीको बर्दिबासमा बुझेर त्यहाँबाट चरिकोट ल्याउँदै थिए। ‘यो हेर्दा उनीहरु ओसारपसार र बिक्री गर्ने कार्यमा प्रत्यक्ष संलग्न देखिन्छ’ श्रेष्ठले भने। 

खैरो हिरोइनमा पक्राउ परेका मध्ये चौलागाई यस अघि पनि विभिन्न घटनामा जोडिएका आपराधिक पृष्ठभूमिका हुन भने आचार्य सदरमुकाम चरिकोटमा बिजुली पसल चलाउँछन्। पक्राउ परेकाहरू २२ देखी २९ वर्षका रहेको इन्स्पेक्टर श्रेष्ठले बताए। उनीहरुका ग्राहक सदरमुकाम चरिकोट सहित जिल्लाका विभिन्न बजार केन्द्रहरूका विद्यार्थी, किशोर र युवा हुने गरेको प्रहरी अनुसन्धानमा देखिएको छ। प्रहरीले कारोबारी सहित प्रयोगकर्तालाई समेत नियन्त्रणमा लिन निगरानी बढाएको छ। कारोबारी र डिलरहरूले दोलखामा कति ठुलो सञ्जाल बनाए भनेर गहिरो खोजबिन थालिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरी इन्स्पेक्टर श्रेष्ठले छिट्टै नै दोस्रो ‘अपरेसन’को तयारीमा रहेको र लागु औषध ओसारपसार र प्रयोग गर्नेहरूको जालो तोड्ने गरी जिल्ला प्रहरी लागेको सुनाए। 

गाँजा सेवन गर्ने स्कुले विद्यार्थी र मजदुर पनि निगरानीमा

लागु औषध नियन्त्रण गर्न कडा अपरेसन थालेको दोलखा प्रहरीले चुरोट र गाँजा सेवन गर्ने स्कुले विद्यार्थी, यातायात मजदुर र चालकहरूलाई समेत निगरानीमा राखेको छ।

विद्यालय समयमा विद्यालयबाट बाहिर निस्केर लुकेर गाँजा र चुरोट सेवन गर्ने विद्यार्थी समेत बिस्तरै लतमा फस्दै जाने कारण उनीहरुलाई विशेष निगरानीमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। यस्तै ट्रक, बस, बोलेरो जस्ता सवारीका चालक र मजदुर समेत गाँजा सेवन गरेर हिँड्ने गुनासो बढेपछि प्रहरीले उनीहरुलाई निगरानीमा राखेर कार्बाही अभियान चलाउने तयारी गरेको हो। 

मेडिकलहरू समेत निगरानीमा 

प्रतिबन्धित ट्याब्लेटहरू लागु औषध प्रयोगकर्ताले प्रयोग गरिरहेको भेटिएपछि प्रहरीले सदरमुकाम चरिकोट सहित जिल्लाका विभिन्न बजार केन्द्रहरूका मेडिकलहरूलाई समेत निगरानीमा राखेको छ।

उक्त ट्याब्लेट र चक्कीहरू मेडिकलहरू बाटै बिक्री भएको हुन सक्ने आशंकामा प्रहरीले उनीहरूलाई निगरानीमा राखेको हो। कानुन विपरीत चलेका अवैध मेडिकलहरूले त्यस्ता ट्याब्लेट बिक्री गरेको आशंकामा उनीहरूको दर्ता, कागजात, लाइसेन्स, प्रेस्क्रीप्सन अनुसार बिक्री गरेको नगरेको लगायतका बिषयमा समेत प्रहरीले अनुसन्धान अगाडी बढाउने तयारी थालेको छ। जिल्ला प्रहरी स्रोतका अनुसार स्थानीय प्रशासन र स्वास्थ्य कार्यालय मार्फत निगरानी गरेर अनुसन्धान गर्नका निम्ति पहल भइरहेको छ। 

प्रकाशित: १५ श्रावण २०८१ १८:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App