महिला पर्यटन व्यवसायीको क्षमता अभिवृद्धिका लागि आजदेखि पोखरामा तीन दिने तालिम आयोजना गरिएको छ । पर्यटन व्यवसायी महिला सङ्घ, नेपाल (टेवान) को आयोजना एवं नेपाल पर्यटन बोर्डको सहयोगमा सो तालिम आयोजना गरिएको हो ।
पर्यटन व्यवसायमा क्रियाशील महिलाको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने मूल लक्ष्यका साथ आयोजित तालिममा ८५ जना महिला पर्यटन व्यवसायी सहभागी रहेको टेवानका अध्यक्ष शोभा पाण्डेले जानकारी दिइन ।
पोखरामा टेवानमा आबद्ध १६२ जना महिला पर्यटन व्यवसायी रहेको जानकारी दिँदै उनले पछिल्ला समयमा पर्यटन व्यवसायतर्फको आकर्षण बढिरहेको बताइन । तालिमको पहिलो दिन आज डा आरती रेग्मीले व्यक्तित्व विकास सम्बन्धमा सहजीकरण गर्दै शारीरिक र मानसिक स्वास्थ्य सम्बन्धमा आफ्नो प्रस्तुति राखेका थिए ।
तालिमको दोस्रो दिन भोलि व्यवसाय प्रवद्र्धन र ‘ब्रान्डिङ’ सम्बन्धमा समिर बराल र डिजिटल मार्केटिङ सम्बन्धमा विजय कुमालले तालिम दिने तालिम संयोजक मीना बरालले जानकारी दिइन । तेस्रो दिन साइबर अपराध र अनलाइन ठगी सचेतना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले सहजीकरण गर्ने कार्यक्रम छ ।
तालिमको उद्घाटन गर्दै नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका वरिष्ठ निर्देशक मणिराज लामिछानेले तालिममा गरिने लगानीले व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्नुपर्ने धारणा राखे । पर्यटन व्यवसायी महिलाको सवलीकरणका लागि आवश्यकताका आधारमा अन्य शीर्षकमा पनि बजेट विनियोजन गर्ने उनले प्रतिबद्धता जनाए ।
प्रकाशित: १२ माघ २०८२ २०:४९ सोमबार





