१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

धुर्कोटका पाँच सय ५९ घरमा खानेपानीको व्यवस्था

फाइल तस्वीर

धुर्कोट गाउँपालिका–३ हाडहाडेमा सञ्चालित ठूलामूल लिफ्टिङ खानेपानी आयोजनाबाट पाँच सय ५९ घरमा खानेपानी सुविधा उपलब्ध भएको छ।

आर्थिक वर्ष २०७६/७७ मा सुरु भएको उक्त योजना हालै सम्पन्न भएको हो। एउटै आयोजनाबाट यति धेरै घरमा शुद्ध पेयजलको व्यवस्था भएको धुर्कोट पालिकाको यो पहिलो ठूला खानेपानी आयोजना हो। आयोजनाबाट हाडहाडेका मोटिखर्क, निन्यूखर्क, पाथ्थरपानी, अबुवा, सिर्बु, मोरमारे लगायत टोलका बासिन्दा लाभान्वित छन्।

आयोजनाबाट झण्डै दुई हजार दुई सयभन्दा बढी अप्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। सैनिक प्रावि, वडा कार्यालय, स्वास्थ्य चौकी लगायत संस्थाहरूमा यसै आयोजनाको पानी उपलब्ध गराइएको छ।

दैनिक रुपमा घरमै पानी आएपछि स्थानीयको दैनिकी फेरिएको छ। “पहिलेपहिले एक घण्टा हिँडेर पानी लिन जानुपर्थ्याे।” स्थानीय ६८ वर्षीया मनकुमारी थापाले भनिन्, “अहिले घरमै पानी आउँदा सहज भएको छ।” पहिले खेताला लगाएर पानी ल्याएको उनले बताइन्।

ठुला मूल खानेपानी उपभोक्ता समितिका सचिव नीरबहादुर घमले आयोजना सम्पन्न गर्न चार करोड रूपैयाँभन्दा बढी खर्च भएको बताए। आयोजना सम्पन्न भएसँगै हाडहाडेका पाँच सय ५९ घरमा धारा जडान भएका छन्। धुर्कोट गाउँपालिकामा पाँच हजार तीन सय ८२ घर छन्। हाल पालिकाका अधिकांश घरमा स्वच्छ पानीको सुविधा उपलब्ध छ।  

प्रकाशित: १५ श्रावण २०८१ ११:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App