१ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

पर्सा ट्राफिक प्रहरीले गर्‍यो एक वर्षमा दुई करोड ७६ लाख राजस्व सङ्कलन

फाइल तस्बिर

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनबाट एक वर्षमा रु दुई करोड ७६ लाख ६१ हजार नौ सय ५४ रकम राजस्व सङ्कलन गरेको छ।

कार्यालयले आव २०८०/८१ मा २७ हजार तीन सय ७२ सवारी साधनलाई कारबाही गरेर सो राजस्व सङ्कन गरेको हो।

आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा पर्सामा सवारी चालकले ट्राफिक नियम उल्लघन गरेर सङ्कलन हुने जरिवाना वापतको राजस्व एकै वर्षमा रु ६६ लाखले घटेको छ।

पर्सामा अनलाइन प्रणालीमा आधारित ‘ट्राफिक भ्वाइलेन्स रेकर्ड सिस्टम’ लागू गरेर न्यूनतम मात्रै जरिवाना गर्ने नियमका कारणले जरिवाना वापतको राजस्व घटेको कार्यालयले जनाएको छ। यसअघि ट्राफिक नियम उल्लङ्घन गर्दा अधिकतम जरिवानाबाट सुरु गर्ने गरेको थियो।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख भास्कर खतिवडाले पर्सा ट्राफिकले गत वर्षदेखि अनलाइन प्रणालीमा आधारित ‘ट्राफिक भ्वाइलेन्स रेकर्ड सिस्टम’ लागू गरेकाले पनि राजस्वमा प्रत्यक्ष असर देखिएको बताए।

'विगतका वर्षमा फिल्डमा खटिने ट्राफिक प्रहरीले म्यानुअल ढङ्गबाट अधिकतम जरिवाना लगाउने गर्थे, जसको कारणले पनि जरिवाना वापतको राजस्व सङ्कलन धेरै हुने गथ्र्यो', उनले भने, 'अहिलेको ट्राफिक भ्वाइलेन्स रेकर्ड सिस्टमले न्यूनतम खालको ट्राफिक जरिवानाबाट सुरुवात गर्नुपर्ने भएकाले पनि जरिवाना राजस्व रकम केही घटेको देखिन्छ।'

कार्यालयले आव २०७९/८० मा ३५ हजार पाँच सय ३४ ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई कारबाही गरेर रु तीन करोड ४२ लाख ६५ हजार जरिवाना सङ्कलन गरेको थियो। कार्यालयले आव २०८०/८१ मा १० हजार सात सय ५२ ट्रकका चालकलार्ई कारबाही गरेर रु एक करोड ५४ लाख ५१ हजार ५१ रकम जरिवाना सङ्कलन गरेको छ।

त्यस्तै सोही आवमा दुई हजार एक सय ६७ जीप, कार र भ्यानका चालकलाई कारवाही गरेर रु २० लाख २१ हजार सात सय ५२ जरिवाना वापतको राजस्व सङ्कलन गरेको छ। गत आवमा १२ हजार सात सय ७४ मोटरसाइकलका चालकलाई कारबाही गरेर रु ८८ लाख ७८ हजार पाँच सय ५१ जरिवाना राजस्व सङ्कलन गरेको छ।

त्यस्तै सोही आवमा दुई सय ३८ बसका चालकलाई कारबाही गरेर रु दुई लाख ३८ हजार जरिवाना सङ्कलन गरेको छ। यहाँ २१ जना ट्राफिक प्रहरीको दरबन्दी भए पनि काजमा ५८ जना खटिरहेका छन्।

प्रकाशित: १४ श्रावण २०८१ १७:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App