४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

रुमका चार सय परिवारलाई खानेपानी

फाइल तस्वीर

म्याग्दीको मालिका गाउँपालिका–२ रुममा तीन खानेपानी आयोजना सम्पन्न भएका छन्। ती आयोजना निर्माणपछि यहाँका चार सय नौ परिवारले खानेपानीको सुविधा पाएका छन्।

नेपाल पानीका लागि स्वास्थ्य (नेवा) संस्था, मालिका गाउँपालिका र उपभोक्ताको  एक करोड ८८ लाखको लागतमा तीनवटा आयोजना निर्माण सम्पन्न भएका हुन्।

ठूलो रुममा दुई सय ७०, बिलबाङमा ६४ र कलान भनारी खानेपानी तथा सरसफाइ आयोजनाबाट ७३ घरमा धारा जडान गरी खानेपानी वितरण गरिएको मालिका गाउँपालिका–२ का वडाध्यक्ष उदयबहादुर बुढाथोकीले जानकारी दिए। यसअघि यहाँ सार्वजनिक धारामार्फत खानेपानी वितरण हुने गरेको थियो।

घरआँगनकै धारामा नियमित पानी उपलब्ध भएपछि स्थानीयलाई धाराबाट पानी ओसार्दा हुने दुःख र झञ्झट हटेको छ।

स्थानीयवासीको दैनिकी र जीवनशैली परिवर्तन भएको छ। स्वास्थ्य र सफा खानेपानी आपूर्ति हुन थाले पछि दूषित पानीका कारण हुने स्वास्थ्य समस्या हट्ने अपेक्षा गरिएको छ।

खानेपानीको व्यवस्थित र मितव्ययी प्रयोगका लागि मिटर जडान गरी हेरालु राखिएको वडाध्यक्ष बुढाथोकीले बताए।

एक करोड १५ लाखको लागतमा निर्माण भएको ठूलोरुम खानेपानी तथा सरसफाइ आयोजनामार्फत एक हजार चार सय २३ तथा ३६ लाख ६५ हजारको लागतमा निर्माण भएको बिलवाङ खानेपानी तथा सरसफाइ आयोजनाबाट तीन सय ६२ जना लाभान्वित भएका छन्। 

कूल रु ३५ लाख ७४ हजारको लागतमा निर्माण भएको कलात भनारी खानेपानी तथा सरसफाइ आयोजनामार्फत ७३ परिवारका तीन सय ४४ जना लाभान्वित भएका छन्।चार सय ११ विद्यार्थी अध्ययनरत विद्यालयमा एउटा धारा जडान गरिएको छ।

‘नेवा’सँगको साझेदारीमा मालिका गाउँपालिकामा यस वर्ष ६ घरमा ‘एक घर, एक धारा’सहितको खानेपानी आयोजना निर्माण भएको गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताए।-रासस

प्रकाशित: १२ श्रावण २०८१ ०८:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App