२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

अर्गानिक चिया चखाउँदै गृष्म–सरद

इलाम भन्ने बित्तिकै चिया र चिया भन्ने बित्तिकै धेरैलाई इलामको सम्झना आउँछ। हरियो गलैंचा विच्छ्याए झैं सुन्दर चियाबारी, जिल्ला प्रवेश गर्दैगर्दा प्रशोधन उद्योगबाट हरर चियाको बासना आउने गर्दछ। यो नै इलामको प्रमुख विशेषता हो। तर, इलाममा पनि उच्च गुणस्तरको चिया कहाँ, कसरी चाख्न पाइन्छ त ? धेरैलाई थाहा नहुन सक्छ। सदरमुकामभन्दा पाँच किलोमिटरमा रहेको बिब्ल्याँटे बजारमा अब इलाममा उत्पादन हुने उच्च गुणस्तरको अर्गानिक अर्थाेडक्स चियाका वरिपरी गुणस्तर चाख्न पाइने भएको छ, त्यो पनि पैसा नतिरी।

युरोप, अमेरिका, चीनलगायत ठाउँमा अढाई दर्जन बेग्लाबेग्लै नाममा पहिचान कमाइसकेको जस्बिरे टी उद्योगले बिब्ल्याँटेमा चिया चाख्ने अवसर जुराएको छ। भारतीय चिया प्राविधिकको दबदबा रहेको इलाममा आफ्नै बलबुतामा करिब दुई दशक चियामै दशनंग्रा खियाइसकेका जस्बिरेका युवक सरद सुब्बा र व्यवसायी गृष्म सुब्बाले विदेशमा महँगो दाममा निर्यात हुने उच्च गुणस्तरका चिया चाख्ने मेसो मिलाएका हुन्।

‘इलामका मान्छेको उहीँलेदेखिको गुनासो छ– इलाममा हजारौं रुपैयाँ प्रतिकिलो बिक्ने चिया उत्पादन हुन्छ तर हामी देख्नसम्म पाउँदैनौं, उत्पादन हुने बित्तिकै विदेश पुर्‍याइहाल्छन्,’ गृष्म भन्छन्, ‘उहाँहरूको भनाइ ठीकै हो। तर, अब हामी यहाँ आगन्तुकलाई त्यस्तै चिया निःशुल्क चखाउँछौं र खरिद गर्नेलाई चियापत्ती बेच्छौं पनि।’ इलामका उद्योगले उच्च पहाडी क्षेत्रको निकै गुणस्तरीय अर्गानिक अर्थाेडक्स चिया युरोप, अमेरिकी देशमा महँगोमा बेच्छन्। तर, यो गुणस्तरको चियाका धेरै प्रयोगकर्ता नभएको व्यवसायीको भनाइ छ।

‘अब सर्वसाधारणलाई पनि उच्च गुणस्तरको चिया चखाउनुपर्छ, यो चिया प्रयोग गर्ने बानी बसाउनुपर्छ,’ अनुभवी चिया प्राविधिकसमेत रहेका उद्योगी सरद भन्छन्, ‘नेपालीहरू विदेशबाट अर्बाैं रूपैयाँका महँगा सामान आयात गर्छन्। यहींको अर्गानिक उत्पादनमा किन खर्च गर्न सक्दैनन् र ? बानीमात्र नभएको हो। सबैलाई स्थानीय उत्पादन प्रयोग गर्ने बानी बसाउनुपर्छ। हामीले त्यही प्रयास गर्र्दैछौं।’

इलाम आउने पर्यटकलाई बिब्ल्याँटेमै चिया चखाउने र उनीहरूले चाहे चित्ताकर्षक चियाबारी, प्रशोधन उद्योग, चिया उत्पादक किसानका घर र बगानसम्म घुमाउने योजना रहेको गृष्मले बताए । ‘चियाबारी, उद्योगतिर घुम्न जाँदा चाहिँ पर्यटकले ऐतिहासिक ल्यान्डरोभर गाडीको मज्जासमेत लिन सक्छन्,’ उनले भने, ‘यसरी घुमेको चाहिँ खर्च लाग्छ।’

नेपालबाट बर्सेनि झन्डै सात अर्ब रुपैयाँको तयारी चिया विदेश निर्यात हुन्छ। भारतबाहेक तेस्रो मुलुक निर्यात हुने अर्गानिक अर्थाेडक्स चियाको सबैभन्दा ठूलो हिस्सा चाहिँ इलामकै हुन्छ। यो वर्ष पनि विभिन्न देशबाट अर्गानिक अर्थाेडक्स चियाको माग धान्न नसकिनेगरी आइरहेको सरद बताउँछन्। ‘गुणस्तरीय अर्थाेडक्स चिया तेस्रो मुलुकमा निकै रुचाउँछन्,’ उनले भने, ‘यो वर्ष तेस्रो मुलुकबाट मलाई जति तयारी चिया मागिएको छ, हाम्रो उद्योगमा त त्यसको आधामात्रै उत्पादन हुन्छ।’

इलाममा ब्ल्याक, ग्रिन, ह्वाइट, गोल्डेनलगायत गुणस्तरका तयारी चिया उत्पादन हुन्छन् । यी प्रकारभित्र पनि सयौं उपप्रकार हुनेगरेको सरदले बताए। ‘हामीले आफ्नो व्यक्तिगत व्यवसाय बढाउनमात्र पर्यटकका लागि निःशुल्क रूपमा चिया चाख्ने ठाउँ बनाएका होइनौं,’ सामाजिक कार्यकर्तासमेत रहेका गृष्म भन्छन्, ‘इलामको उच्च गुणस्तरको चिया यहाँ आउने पर्यटकलाई चिनाउन, गुणस्तरीय चियामा बानी बसाल्न यो प्रयास गरिएको हो।’ उनले विश्वबजारमा पहिचान बनाउनसके इलामको चियाले यहाँको अर्थतन्त्र उक्सिने बताए।

‘इलाम पर्यटकीय जिल्ला भएकाले यस्तो गुणस्तरीय चिया विश्वभर फैलाउन सक्ने अवसर हामीलाई छ,’ उनले भने, ‘किसान, उद्योगी, व्यवसायी र सरोकारवाला यसमा दत्तचित्त भएर लाग्नुपर्छ।’  

प्रकाशित: ९ श्रावण २०८१ १०:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App