१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

भैँसीपालनबाट मासिक डेढ लाख आम्दानी

पाल्पा – रामपुर–६, विजयपुरका कृष्ण अर्यालले व्यावसायिक भैँसीपालनबाट मासिक १ लाख ५० आम्दानी गर्न सफल भएका छन्।

उनले उन्नत जातका मुर्रा भैँसी पालेर दैनिक ८० देखि ९० लिटरसम्म दूध बिक्री गर्छन्। अर्याल करिव १० वर्षदेखि भैँसीपालन व्यवसायमा छन्। उनले उत्पादन गरेको दूध स्थानीय रामपुर बजारमा खपत हुन्छ। पैसा कमाउनका लागि विदेश चाहर्नेका लागि स्वदेशमा कृषि, पशुपालन तथा अन्य व्यवसायबाट मेहनतअनुसार आम्दानी हुन्छ भन्ने उनी नमुना बनेका छन्।

कृष्ण उन्नत भैँसी विकास तथा बीउबिजन उत्पादन स्रोत केन्द्रमार्फत अर्यालले भैँसीपालन गर्दै आएका छन्। भैँसीपालन केन्द्रमा भैँसीको दूधसँगै मुर्रा जातका भैँसीका पाडापाडीसमेत उत्पादन हुदैं आएको उनले बताए।

केन्द्रमा अहिले २२ वटा मुर्रा भैँसी रहेका छन्। हाल नौवटा भैँसी र दुईवटा गाई दुहुना छन्। केन्द्रमा रहेको एउटा भैँसीले तीन पटकसम्म दिनमा दूध दिँदै आएको उनले बताए। पचास रोपनी जग्गामा भँैसीका लागि आवश्यकताअनुसार घाँस खेती गर्दै आउनुभएका अर्यालको भैँसीपालन केन्द्र यतिबेला आकर्षणको केन्द्र बन्दै गएको छ। यहाँ अहिले पाँच जनाले रोजगार पाएका छन्।

स्थानीय सीताकुण्ड दुग्ध सहकारी संस्था रामपुरले सहुलियत दरमा ऋण, भैँसी तथा गाईको बीमा, घाँसको बीउ तथा प्राविधिक सहयोग गर्दै आएको सहकारीका अध्यक्ष कमल भट्टराईले बताए। सहकारीको सहयोगकै कारण रामपुर क्षेत्रमा करीव १०० भन्दा बढी युवा पशुपालन व्यवसायमा संलग्न रहेका छन्। पछिल्ला वर्षमा रामपुरमा दूधको खपत हुँदै आएको छ। सहकारीले सहुलियत ब्याजदरमा कर्जा प्रवाह गर्न थालेपछि विपन्न समुदायका महिला तथा पुरुष पशुपालनमा जुटेका छन्।  (रासस)

प्रकाशित: १५ चैत्र २०७४ ०८:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App