कोसी प्रदेशको राजधानी विराटनगरमा पर्ने भेडियारी बस्तीमा रहेको प्राचीन विराट राजाको दरबार क्षेत्र ऐतिहासिक सम्पदाको रूपमा परिचित छ। विराटनगर महानगरपालिका–१८ भेडियारीमा रहेको यो क्षेत्रलाई पाँच हजार वर्ष पुरानो इतिहासका रूपमा चिनिन्छ।
तर सम्बन्धित निकायबाट उपेक्षित अवस्थामा पुगेपछि महाभारतकालीन इतिहाससंग जोडिएको विराट राजाको दरबार क्षेत्र संरक्षणको पर्खाइमा छ। तीन तहको सरकारले यसको खोज अनुसन्धान, संरक्षण, संवर्द्धन र विकासमा चासो नदिँदा स्थानीय स्वयं अग्रसर बनेका छन्।
राजा विराट र उनको दरबारप्रति अगाध मोह र विश्वास राख्ने स्थानीय आगन्तुकलाई स्वयंसेवी रूपमा ‘गाइड’ गरिरहन्छन्। इतिहासका दृष्टिले प्रसिद्ध रहेको यो क्षेत्रमा अपेक्षाकृत ढंगले सरकारको चासो नपरेका कारण निराश बनेका स्थानीय विराटनगरको नाम र सम्मानसंग जोडिएको यो क्षेत्रमा राम्ररी उत्खनन गरी बहुमूल्य सामग्रीको अन्तर्राष्ट्रियस्तरको सङ्ग्रहालय बनाइसक्नुपर्ने भए पनि त्यसो हुन नसकेको गुनासो गर्छन्।
विराट राजाको प्राचीन दरबार क्षेत्रमा महाभारत कालमा पाँच पाण्डव युधिष्ठिर, भीम, अर्जुन, नहकुल र सहदेव र पाँच पाण्डव पत्नी द्रौपदी एक वर्षसम्म विराट राजाको दरबारमा गुप्त वास बसेको विश्वास गरिन्छ। जस क्रममा उनीहरूले आफ्नो भेस नै बदलेर राजा विराटको दरबारमा लुकेर बसेको जनविश्वास रहँदै आएको छ।
विराटनगरको मुख्य बजारबाट करिब १० किलोमिटर दक्षिणमा रहेको यो क्षेत्रमा अलग–अलग समयमा उत्खनन हुँदा थरथरीका पुरातात्विक सामग्रीहरू फेला परेका छन्। जसलाई संग्राहालय स्थापना गरेर संरक्षण गरिएको छ। विभिन्न क्षेत्रमा भेडियारी बस्ती वरिपरि उत्खनन गर्दा थुप्रै पुरातात्विक अवशेषहरू फेला परेका छन्, जसलाई आफ्नै किंवदन्ती तथा राजा विराटको गाथासंग गाँसेर पुरातत्वविदहरूले प्रमाणित गर्ने जमर्को गरेका छन्।
उत्खननका बेला फेला परेका खेतीपाती गर्दा, घर बनाउँदा, सिकार खेल्दा, घरायसी काम गर्दाका वस्तु, डुङ्गाको पिर्का र शिवलिंग आकारका वस्तुहरू स्थानीय संरक्षणकर्ता कमल किशोर यादवले संरक्षण गरेर राखेका छन्। जमिनको गर्भ गृहबाट सतहमा निस्केर भेडियारी बस्ती र सिङ्गो विराटनगर सहरकै कथा सुनाउने महत्त्वपूर्ण पुरातात्विक सामग्रीहरू कमल किशोरको सङ्ग्रहालयमा सुरक्षित छन्।
ऐतिहासिक र पुरातात्विक महत्वका क्षेत्रलाई संरक्षण, संवर्धन र विकास गरेमा एउटा नमुना पर्यटकीय स्थल बन्नेमा दुई मत छैन । तर यस क्षेत्रको संरक्षण, संवर्धन र जगेर्नामा सम्बन्धित निकायले चासो नदिँदा स्थानीयले संरक्षण–प्रवर्द्धनको जिम्मेवारीमा काँध थापेका छन्। करिब २८ वर्षअघि समिति बनाएर आफू नेतृत्वको संस्था दर्ता गरेका संरक्षक कमल किशोर यादव र समितिको पदाधिकारीका रूपमा रहेका केही स्थानीयले यसको रेखदेख गरिरहेका छन् ।
प्राचीन सम्पदा एवं जमिनभित्रका बहुमूल्य वस्तु नासिने, मासिने र चोरी हुने जोखिम टार्ने गरी उनीहरू लागिपरेका छन्। विराट राजाको दरबार ब्युँताउने गरी तीनै तहका सरकार लाग्नुपर्ने भए पनि केन्द्रीय सरकार र प्रदेश सरकारबाट अपेक्षाकृत काम नभएको विराटनगर–१८ का वडाध्यक्ष जितेन साह बताउँछन्।
विराटनगर महानगरपालिकाले भने यस क्षेत्रमा विराट राजाको दरबार बनाउने योजनालाई पूर्णता दिन विगत लामो समयदेखि कसरत गर्दै आएको जनाएको छ । विराट राजाको दरबार परिसरमा रहेको धरोहर पोखरी झन्डै १ करोड लागतमा निर्माण भइसकेको छ । विराट राजाको दरबारमा ऐतिहासिकता र आधुनिकताको संगम हुने गरी काम गरिरहेको महानगर प्रमुख नागेश कोइराला बताउँछन्।
कोसी प्रदेश सरकार पनि ऐतिहासिक विराट राजाको दरबारमा खोज अनुसन्धान, संरक्षण, संवर्द्धन र विकासमा काम गर्ने तयारीमा छ। यसअघि प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयले विराट राजदरबारको क्षेत्रलाई पहिचान गरी विकास गर्ने गरी बजेट विनियोजन गरेको थियो।
तथापि सङ्घीय सरकार मातहतको पुरातत्त्व विभागले यसको खोज–अनुसन्धान, संरक्षण र विकास गरिरहेकाले त्यसैमा पर्यटन प्रवद्र्धन हुने गरी सघाउ भूमिकामा काम गरिरहेको मन्त्रालयका सचिव विशाल घिमिरेको भनाइ छ।
ऐतिहासिक र पुरातात्विक सम्पदा मासिनु भनेको जनताको स्मृति मासिनु हो।आउने पुस्ताले सुन्ने र सुनाउने कथाहरू मासिनु हो । यसैले यहाँ जमिनमुनि पुरिएर रहेका मन्दिर र दरबार उत्खनन गरी जीर्णोद्धार बनाएर जीवित उदाहरण बनाएमा समृद्ध मुलुकको अभियानलाई सार्थकता तुल्याउन सकिन्छ। यस क्षेत्रको विकासका लागि राज्य मात्र नभएर गैर–सरकारी संस्था, धार्मिक संघ–संस्थाहरूको पनि उत्तिकै भूमिका हुनसक्छ।
प्रकाशित: २९ असार २०८१ १४:२२ शनिबार





