केही दिनअघि काठमाडौँको रामकोटको एक कलभर्टमा बिहान ५ः३० बजे दुर्घटनाग्रस्त अवस्थामा कार भेटियो। बाप्र ०२७ च ०४९१ नम्बरको उक्त कार मध्यरात करिब २ बजे दुर्घटनामा परेको रहेछ। प्रहरीले कलभर्टबाट कार निकाल्दा चालक ५० वर्षीय पूर्ण दर्नाल मृत अवस्थामा फेला परे।
असार १९ गते बिहान काठमाडौं सोह्रखुट्टे–बालाजु सडक खण्डमा एकाएक करिब ११ फिट गहिरो खाल्डो प¥यो। बिच सडकमा गहिरो खाल्डो परेपछि केही त्यहाँ हल्लीखल्ली मच्चियो। केहीबेर सवारी आवागमन समेत प्रभावित बनेको थियो।
यसैसाता काठमाडौं महानगरपालिका–१६ नयाँ बजारमा बिहानबिहानै गहिरो खाल्डोमा मोटरसाइकल खस्यो। कुमारी टोलको गेटअगाडि गहिरो खाल्डो परेको रहेछ। जहाँ बा ५० प ३८२ नम्बरको मोटरसाइकल खसेको थियो। चालक पठाओ राइडर रहेछन्। मोरङ स्थायी ठेगाना भई काठमाडौँको चाबहिल बस्दै आएका विकास शाक्य मोटरसाइकलसहित खाल्डोमा खसेका थिए।
त्यसपछि काठमाडौं महानगरको नगर प्रहरी र बारुण यन्त्र कार्यालय न्युरोडको टोलीले क्रेनको मद्दत लिएर मोटरसाइकल बाहिर निकाल्यो, शाक्य भने धन्न जोगिए।
यी त यसवर्षका केही उदाहरण, यसअघि पनि राजधानीका सडकमा यस्ता कैयौँ घटना भएका छन्।
गत वर्ष सामाखुसीमा नालाबाट बेपत्ता भएका १३ वर्षीय बालक साजन मगरको मृत्यु भएको थियो। घरमा खाजा खाएर फुटसल खेल्न निस्केका साजन बाढीका कारण नाला र सडक छुट्याउन नसक्दा नालामा खसेका थिए। नालको बाढीले बगाएर लग्यो। दक्षिणकाली नगरपालिका–७ भुल्कास्थित बागमती नदी किनारमा उनको शव भेटियो।
२०७४ असार ३० गते सामाखुसीमा नै १३ वर्षकी बालिका सत्या सापकोटा सडक पार गर्दा ढलमा बगेकी थिइन्। धन्न उनको समयमै उद्धार भयो र बाच्न सफल भइन्।
यी उदाहरणले बर्खायाममा देशको राजधानी सहरका सडकको नियति चित्रण गर्छन्। वर्षा भएसँगै सडक जलमग्न हुनु यहाँको सडकका सामान्य दृश्य हुन्। जसले कुन सडक, कुन नाला वा खोला ? छुट्याउनै नसक्ने भुलभुलैया बन्छन्। जसले बर्षेनी सडकमा निस्केका व्यक्ति दुर्घटनामा पर्नु, ढलमा बग्नु, कल्भर्टमा खस्नु र ज्यान गुमाउनु जस्ता घटना वर्षेनी देखिदैआएका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी) जीवनकुमार श्रेष्ठ यसमा मुख्य कारण अस्तव्यस्त सडक संरचना, सूचना सामग्रीको अभाव र पानीको उचित निकास नहुनुलाई ठान्छन्।
‘सडक जलमग्न हुनुको कारण त पानीको उचित निकास नहुनु नै हो। पानी पर्दा सडकमा परेको पानी सरर बगेर किनार हुँदै नाला वा खोलातिर जानुपर्छ। तर यहाँ त बाहिरबाट सडकमै पानी आएर जम्मा हुन्छ,’ उनी भन्छन्,‘पानी बगेर जाने ठाउँ नै छैन। नभएपछि सडकमा आउँदा जलमग्न हुने नै भयो। जलमग्न सडक जहिल्यै जोखिममा हुन्छ।’
राजधानीमा पहिलेका खोलानाला मासिएका छन्। भएका पनि मिचिएर साँघुरो बन्दै गएका छन्। त्यसले बर्खाको पानी सजिलै निकास नभई सडकमै घण्टौँ जम्मा हुन्छ।
सडकमै पानी आएर जम्मा हुने कारण निकास नहुनु मात्रै नभएको एसएसपी श्रेष्ठ बताउँछन्। ‘हाम्रा सडक संरचना नै मापदण्ड अनुसारका छैनन्। सडकका नालाहरू पर्याप्त साइजका छैनन्। सडकको सतह नै अग्लोहोचो, खाण्डाखुल्डी परेको हुन्छ। जलमग्न हुँदा कहाँ खाल्डो छ, कहाँ नाला थाहा हुन्न,’ श्रेष्ठले भने,‘न नियमित मर्मत हुन्छ, न कसैले नियमित आएर जोखिमको रेखांकन गरिदिन्छ।’ यस्तो अवस्थामा सवारी दुर्घटनाको खतरा पनि उत्तिकै हुने उनी सुनाउँछन्।
खानेपानी र ढलः सडकमाथि जथाभाबी
एक त सडक निर्माणपछि नियमित निरीक्षण र मर्मतको काम हुन्न, अर्कातिर विकासका नाममा हुने सडकमाथिको जथाभाबी उत्खननले पनि राजधानीका सडकलाई अस्तव्यस्त बनाउने गरेको छ। एसएसपी श्रेष्ठ पनि यही मत छ।
‘सडक निर्माण गर्दा पनि पूरापुर मापदण्ड कति पालन भइरहेको छ ? त्यो राज्यले ध्यान दिनुपर्ने अवस्था छ। त्यसपछि खानेपानी, ढल निकास, विद्युतलाइनका नाममा जथाभाबी सडक खन्दा व्यस्त सडकको फ्लो नै प्रभावित हुन्छ,’ उनले भने,‘कतिपय अवस्थामा त्यही प्रभाव दुर्घटना पनि निम्त्याइरहेको छ।’
उता सडक विभागका महानिर्देशक रामहरी पोखरेल विभागद्वारा निर्माण गरिएका सडकमा सबै सुरक्षा मापदण्डहरू पूरा गरेर बनाउने गरेको दाबी गर्छन्।
‘सबै सडक विभागले नै बनाएको भन्ने होइन्। विभागद्वारा निर्माण गरिएका सडकमा सुरक्षा मापदण्ड पूरा नै गरिएका हुन्छन्,’ महानिर्देशक पोखरेल भन्छन्,‘विभागले पानीको सम्भावित अवस्था हेरेर सडक संरचना निर्माण गरेपनि वर्षाका बेला अनियन्त्रित ढल हाल्ने, जथाभाबी खानेपानीको पाइप बिछ्याउने, ढल निकास हाल्ने काम गर्दा सडक संरचना बिग्रिने गरेका देखिन्छन्।’ सोह्रखुट्टे–बालाजु सडकमा यसै गरी खानेपानीको पाइप फुट्दा घटना भएको समेत बताए।
‘विभागले जुन डिजाइनले सडक निर्माण गरेको हुन्छ। पछि ढल हाल्दा, खानेपानी पाइप बिछ्याउँदा त्यो डिजाइन बिगारिएको पाइन्छ। यसरी सडकमा क्षति पुग्दा बर्खाको बाढीमा समस्या आउने गरेको देखिएको छ,’ उनले थपे। सडक विभागबाहेकका निकायले बनाएका सडकले गुणस्तर कायम गरे–नगरेको कुरामा पनि ध्यान दिइनुपर्ने महानिर्देशक पोखरेलले बताए।
सरकारकै निकायबिच समन्वय अभाव
पूर्वाधार विज्ञ एवं पूवसचिव अर्जुनजंग थापा सहरी क्षेत्रमा सडक, ढल, विद्युत् र खानेपानी लगायतका संरचनाको निर्माण फरक–फरक निकायले गर्दा समस्या सिर्जना भइरहेको बताउँछन्।
सडक भासिने समस्या सडकको संरचना मात्र होइन्, खानेपानी, ढलका पाइप र पछिल्लो समय भूमिगत विद्युत् प्रसारण लाइन बिस्तारले पनि सडक संरचनामा असर पारिरहेको उनले बताए।
‘नेपालमा सडक, खानेपानी, ढल, बिजुली हेर्ने फरक फरक संस्था छन्। उनीहरूबिच काममा समन्वष् नै हुँदैन। यसले समस्या सिर्जना गरिरहेको छ,’ थापाले भने,‘सडकमा घटना हुँदा सडक विभाग खानेपानी र ढलको कारण भन्दै उम्कन खोज्छ। कति घटना त्यसरी पनि भएका छन्। उनीहरु एक अर्कालाई दोषी देखाएर उम्कन्छन्।’
त्यसैले यी सबै कुराको व्यवस्थापकीय अधिकार स्थानीय तहलाई दिनुपर्ने थापाको सुझाव छ। उनी भन्छन्,‘स्थानीय तहलाई नै यो जिम्मेवारी दिए उसले कसैलाई दोष देखाएर उम्कन पाउँदैन।’ स्थानीय तहलाई सो अधिकार दिएमा सडक बन्ने बित्तिकै खन्ने प्रवृत्ति पनि नियन्त्रण हुने उनको भनाइ छ।
‘स्थानीय तहलाई यी अधिकार दिँदा उसले एउटा योजना बनाएर काम गर्छ। सडक कहिले बनाउने ? कहिले मर्मत गर्ने ? ढल र खानेपानीको व्यवस्था कसरी गर्ने ? सबै योजनाबद्ध काम गर्न सहज हुन्छ,’ पूर्वसचिव थापाले भने।
यस्तै सडक संरचनाको जोखिमबारे सडक विभागले हेर्ने की प्रदेश सरकारले भन्ने विवाद पनि कायम रहेको पूर्वसचिव थापाको भनाई छ। ‘सडक कस्ले हेर्ने भन्ने नै विवाद छ। सडक विभागले की प्रदेश सरकारले ? कुन सडक कस्ले हेर्ने भन्ने नै एकीन छैन,’ उनले भने,‘कहीँ घटना घट्यो भने एक अर्कालाई दोष देखाउनु हुन्छ। त्यसैले सडक कसले हेर्ने एउटा निकायलाई मात्र दिनुपर्छ।’
प्रकाशित: २७ असार २०८१ १७:२७ बिहीबार