१० असार २०८१ सोमबार
image/svg+xml
समाज

मेलम्ची खानेपानी काठमाडौं पथान्तरण गर्न नगरपालिकाबाट कुनै व्यवधान हुँदैनः मेयर तामाङ

मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले मेलम्ची खानेपानी काठमाडौं पथान्तरण हुने कुरामा नगरपालिकाको तर्फबाट कुनै व्यवधान नहुने बताएका छन्।

मेलम्चीमा बाढी आएको तीन वर्ष पुगेको अवसरमा मेलम्चीमा आयोजित जलवायुजन्य हानी तथा नोक्शानी र मेलम्ची बाढी विषयक नीतिगत छलफल कार्यक्रममा बोल्दै उनले यस्तो प्रतिवद्धता जनाएका हुन्।

उनले संघ सरकारले आगामी आर्थिक वर्षको बजेटमा मेलम्ची-हेलम्बु क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन नगरेकोप्रति भने आपत्ति जनाए। उनले मेलम्चीको दिगो व्यवस्थापन स्थानीय सरकार एक्लैले गर्न नसक्ने भन्दै संघ र प्रदेश सरकारले बजेटमा समेट्न आवश्यक रहेको बताए। उनले मेलम्ची नगरपालिकाको बाढी प्रभावित क्षेत्रलाई कसरी व्यवस्थापन गर्ने भन्नेतिर सरकारले चासो नदेखाएको गुनासो गरे।

उनले भने, ‘संघीय सरकारको नीति तथा कार्यक्रममा हामीले हेर्‍यौं मेलम्चीको बारेमा खासै चासो देखाएको जस्तो लागेन। प्रदेश सरकारबाट पनि मेलम्चीको बारेमा नीति तथा कार्यक्रममा केही आएन भने हामी त्यत्तिकै बसेर उपयुक्त हुँदैन। स्थानीय सरकारले पनि केही गर्नुपर्छ।

मेलम्ची सबै व्यवस्थापन गर्न स्थानीय सरकारले सम्भव हुँदैन तर पनि अब केही दिगोपनको रुपमा नसके पनि अस्थायी रुपमा हामीले गरिरहेको अवस्था छ। जलवायु परिवर्तनको कारण बाढी पहिरो गएको हो भन्ने धेरै विज्ञहरुबाट कुरा आइसकेको छ। त्यसकारण खानेपानीलाई दोष दिन उचित हुँदैन। मेलम्ची खानेपानी अत्यन्त राष्ट्रिय गौरवको आयोजना हो। जसले गर्दा यहाँको नागरिकहरुले ठूलो सेवा पाएका छन्।

विकास निर्माणमा ठूलो टेवा पुगेको छ। किनकी सुपको कार्यक्रमअन्तर्गत प्रत्येक वर्ष बजेट आउने गर्दथ्यो, गत वर्ष र यस वर्ष आएको छैन। गठन आदेशको विभिन्न कारणले या भन्दा अघिको सरकारले विभागतिर लगेर गाभेको कारणले आउन सकेको छैन।

भोलिको दिनमा मेलम्ची खानेपानी काठमाडौं पथान्तरण हुने कुरामा मेलम्ची नगरपालिकाको ठूलो सहयोग पुग्नेछ। हाम्रो तर्फबाट कहीँ कतै बाधा, व्यवधान खडा हुँदैन। प्रोजेक्ट जानुपर्छ र यहाँका स्थानीयवासीको माग, समस्या, विकास निर्माणमा सम्बन्धित मन्त्रालयमार्फत संघीय सरकारले यो सम्बोधन हुनुपर्छ। मेलम्चीमा आउने बाढी,पहिरो नियन्त्रणका लागि यहाँहरुको ठूलो सहयोग पुग्नेछ।’

कार्यक्रममा बोल्दै विकास, आर्थिक मामिला तथा सुशासन समिति सभापति कमला पन्तले मेलम्ची परियोजनाका माध्यमबाट लाभ लिनेकुरामा जोड दिनुपर्ने उनको भनाइ छ। उनले मेलम्ची खानेपानी परियोजनाले कुनै पनि हानी नगरेको भए परियोजनालाई थप व्यवस्थित बनाएर लैजानुपर्ने बताउनु र बाह्रै महिना काठमाडौंको नागरिकलाई पानीको व्यवस्था भएको खण्डमा त्यसबापतको रोयल्टी मेलम्चीका नागरिकहरुले पाउने कुरामा ध्यान दिनुपर्ने बताए।

उनले भने, ‘मेलम्ची परियोजना नभएको भए बाढी आउँथ्यो की आउँदैन थियो होला। यो के होला? बाढी आउँथ्यो भने मेलम्ची परियोजनाका माध्यमबाट लाभ लिनेकुरा हामी गरौँ। तर परियोजनाले केही क्षति गरेन भने हामी यो परियोजनालाई अझ सपोर्ट गर्नेतिर गयौँ भने बाह्रै महिना काठमाडौंको नागरिकलाई पानीको व्यवस्था भयो, पानी पिउने परिस्थिति भयो भने त त्यसबाट प्राप्त गरेको रोयल्टी यहाँको जनताले पाउने भए नि। त्यतातिर पनि हामीले सहयोग गर्नेतिर लाग्यौँ भने राम्रो हुन्छ। ग्रिन क्लाइमेट फण्डको जुन कुरा छ, यो फण्डलाई सरकारी तहबाट गर्ने की मलाई पनि के लागेको छ भने समितिमा एक पटक छलफल गरौँ।’

प्रकाशित: २ असार २०८१ ११:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App