१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

रमुवावासी भन्छन्-भाँगो र आलुसँग चामल साटेर गुजारा चलाउँछौं

बागलुङको उच्च पहाडी क्षेत्रमा पर्ने रमुवा गाउँ आलुखेतीका लागि प्रख्यात छ। गलकोट नगरपालिका १० मा पर्ने यस गाउँमा आलु र भाँगोबाहेक अन्य बाली निकै कम लाग्ने भएकाले गाउँका सबै आलुखेतीमा व्यस्त छन्।

आलुखेतीबाटै उक्त गाउँका स्थानीयले जीविकोपार्जन गर्दै आएका छन्। भौगोलिक विकटताका कारण आलु बजारसम्म पुर्‍याउन पनि समस्या छ। उत्पादन भएका आलुलाई बजारीकरण गर्न सडक स्तरोन्नति हुनुपर्ने स्थानीयको माग छ।

आलु र भाँगो एकै ठाउँमा उत्पादन गर्न सकिने हुँदा किसानले बढी लाभ लिएका छन्। दुर्गम गाउँ भए पनि रमुवामा २०६५ मा स्थानीयको लगानीमा सडक निर्माण भएको थियो। उक्त सडक हालसम्म पनि स्तरोन्नति हुन सकेको छैन।

बजार क्षेत्रमा रासायनिक मल प्रयोग गरी उन्नत जातका आलु उत्पादन हुने गरे पनि रमुवाका किसानले रैथाने जातका आलुखेतीमा प्राङ्गारिक मल प्रयोग गर्दै आएका छन्। पशुपालन र आलुखेती यहाँका स्थानीयको मुख्य पेसा हो। प्राङ्गारिक मलका कारण एकै परिवारले वार्षिक तीन हजारदेखि पाँच हजार क्विन्टलसम्म आलु उत्पादन गर्छन्।

रमुवामा हरेक वर्ष ४० देखि ५० हजार क्विन्टल आलु उत्पादन हुने गरेको छ। यो गाउँमा करिब एक सय ३० परिवार स्थायी रूपमा बसोबास गर्दै आएका छन्। त्यसमध्ये अधिकांशले भेडाबाख्रा र गाईभैँसीपालन गर्ने हुँदा मलको कुनै समस्या छैन।

गाउँमा खाद्यबाली उत्पादन कम हुँदा वर्षभरि खान पुग्दैन। त्यसले गर्दा भाँगो र आलुसँग चामल साटेर गुजारा चलाउनुपर्ने स्थिति छ। पालिकाको केन्द्र गलकोटसम्म पुग्ने सडक स्तरोन्नति भए आलु बजारीकरणमा कुनै समस्या नहुने गलकोट नगरपालिका १० रमुवाका स्थानीय पूर्वअध्यक्ष तिलक घर्तीमगरले बताए।

रमुवामा उत्पादन हुने आलु गलकोट, बागलुङ, पोखरा, काठमाडौँ, चितवनलगायतका ठाउँमा पुग्ने गर्छ। वर्षौंदेखि नै यहाँका नागरिक आलुखेतीमा लाग्दै आएका हुन्। समुद्री सतहबाट दुई हजार दुई सय मिटरभन्दा माथिको उचाइमा रहेको रमुवामा धान, गहुँ भने उत्पादन हुँदैन।

प्रविधिको विकास भए पनि आफूहरूले परम्परागत रूपमा प्राङ्गारिक आलु उत्पादन गर्ने स्थानीय दिव्या रानाले बताए। हरेक वर्ष एकै परिवार ५० देखि १०० मुरीसम्म आलु फलाउने उनले बताए। आलु फल्ने समयमा कुनै पनि रोगको प्रकोप नदेखिए हरेक वर्ष उत्पादन वृद्धि हुने राना बताउँछन्। आलुखेतीबाटै परिवारको लालनपाल, पढाइलेखाइदेखि जीविका चलाउने गरेको उनले सुनाए।

गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले रमुवालाई आलु पकेट क्षेत्र घोषणा गरेर उत्पादन वृद्धिमा लागेको बताए। यहाँका किसानलाई आलुखेतीतर्फ अझ प्रोत्साहन गर्न कृषिसम्बन्धी तालिम, आवश्यक प्राविधिक सहयोग गर्दै आएको उनले बताए।

अब नगरपालिकाले उत्पादनका आधारमा किसानलाई अनुदान दिने नीति रहेको उनले जानकारी दिए। हाल सडक कच्ची भए पनि किसानलाई  बजारसम्म आलु पुर्‍याउन समस्या नभएको बताउँदै उनले उत्पादित आलुले बजार नपाए पालिकाले नै जिम्मा लिने स्पष्ट गरे। किसानलाई प्रविधिसँग जोडेर उत्पादन बढाउनेतर्फ पालिका लागेको उनले बताए। आलुलाई ‘ब्रान्डिङ’ गर्ने पालिकाको योजना पनि उनले सुनाए।

प्रवक्ता भण्डारीले भने, ‘रमुवा आलु उत्पादनका लागि उर्वर भूमि हो, पछिल्लो समय विषादी प्रयोग गरेको आलु बजारमा आइरहेका बेला यहाँका किसानले त्यस्तो मल प्रयोग नगरी  उत्पादन गर्छन्, जैविक आलुको बजार पनि राम्रो छ, किसानले बजार पाएन भनेर गुनासो गरेका छैनन्, उनीहरूले उत्पादन गरेको आलु बिक्री नभए नगरपालिकाले त्यसको जिम्मा लिन्छ र किसानलाई उचित मूल्यको व्यवस्था गर्छ। सिङ्गो गाउँ नै आलुखेतीमा लाग्दा उत्पादन हरेक वर्ष बढेको छ, नगरपालिकाले समय–समयमा किसानलाई प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ।’

–रासस

प्रकाशित: ३० वैशाख २०८१ १०:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App