१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

आजदेखि २७ महिलाको टोली गन्जला आरोहणमा

२७ जना महिलाको टोलीले शनिबारदेखि सिन्धुपाल्चोकको पाँचपोखरी थाडपाल गाउँपालिकास्थित गन्जला चुली (कांगा) आरोहण सुरु गर्ने भएको छ। पाँच हजार ८६३ मिटरको आरोहणका लागि उनीहरू त्यसतर्फ प्रस्थान गर्ने शुक्रबार प्रेस विज्ञप्ति प्रकाशित गरी जानकारी गराइएको छ। आरोहण अवधि दुई हप्ताको रहने जनाइएको छ।

सन् २००८ मा १० जना समोवशी नेपाली महिला समूहले विश्वको उच्च शिखर सगरमाथाको सफल आरोहण गरेको थियो। त्यसै आरोहणका समूहका सात सदस्य, सन् २०१० देखि क्रमशः विश्वका सातै महादेशका अग्ला हिमाल आरोहण अभियान सुरु गरेको थियो। सन् २०१४ मा सबै शिखरहरूको सफलताका साथ आरोहण सम्पन्न गरी यो टोली विश्वकै पहिलो महिला टोली बन्न सफल भएको थियो।

यसपछि यही टोलीले विश्व समावेशी साहसी संस्थामार्फत शिक्षा, वातावरण र सशक्तीकरणमा विभिन्न कार्यक्रम गर्दे आइरहेको जनाइएको छ। यसअन्तर्गत हिमाली वातावरण संरक्षण र सशक्तीकरणमा विभिन्न कार्यक्रम गर्दै आइरहेको छ। साथै हिमाली वातावरण संरक्षण तथा सरसफाइ, पिछडिएका महिला तथा बेचबिखनमा परेका र जोखिममा रहेका किशोरीलाई शिक्षा, सिप र आत्मनिर्भरताका लागि नेतृत्व विकासजस्ता कार्यक्रम गर्दै आएको टोलीमा सहभागी एकजना आरोही कल्पना महर्जनले बताइन्।

कार्यक्रममध्ये किशोरीलाई शिक्षा, सिप र आत्मनिर्भरताका लागि नेतृत्व विकास कार्यक्रम विगत दुई वर्षदेखि सिन्धुपाल्चोक र काठमाडौंका ७ वटा सेन्टरहरूबाट फिमेल लिडरसिप एकाडेमी कार्यक्रमअन्तर्गत सञ्चालन भइरहेको छ।

नेपाल पर्यटनका लागि आकर्षक गन्तव्य भएको र यसको उचित पहिचान र स्थानीयलाई रोजगारीको प्रचुर सम्भावना र अवसर रहेकाले संस्थाले सुरुवाती दिनहरूबाटै मानव स्रोतमा लगानी गर्दै आइरहेको जनाइएको छ।

 काठमाडौंबाट नजिक सिन्धुपाल्चोकमा पर्याप्त पर्यटकीय स्थल रहेको र यसलाई पनि पर्यटन गन्तव्य बनाई राष्ट्रिय र अन्तर्राष्टिय रूपमा चिनाउने उद्देश्यले विभिन्न काम भइरहेको जनाइएको छ।

प्रकाशित: १५ असार २०८१ ०७:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App