७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

हुम्ला पुगे गाडी

कर्णाली करिडोरको हुम्ला खण्डमा गाडि चल्दै ।

नेपाली सेनाले कर्णाली करिडोर अन्तर्गत हुम्लाको लालीबगर–दुल्लीकुना खण्डको छारे भीरमा ट्र्याक खुलेसँगै हुम्लामा गाडी पुगेका छन्। सेनाले जिम्मा लिएको ट्र्याक खुलेसँगै कर्णाली करिडो हुँदै हुम्लासम्म टिपर, ट्र्याक्टर र जिप पुगेका हुन्।

चालु आर्थिक वर्षमै ट्र्याक खोलेको खण्डलाई स्तरोन्नति गरी सडक विभागलाई हस्तान्तरण गर्ने लक्ष्य रहेको सेनाले जनाएको छ।

कालीकोटको खुलालुदेखि सिमकोट हुँदै हिल्सासम्मको कर्णाली करिडोरको दूरी २६९ किलाेमिटर छ। यसमध्ये २४६ किमि सडक विभाग र २२.५ किलोमिटरमा सेनाले काम गरेको हो।

हुम्लाको लालीबगर–दुल्लीकुना खण्ड ११ र कालीकोट–बाजुरा जोड्ने घाटपारीचौर–भुक्काखोला खण्ड ११.५ किलोमिटरमा कडा चट्टानसहितको पहाड भएकाले त्यहाँ काम गर्ने जिम्मेवारी सेनाले पाएको हो।

चीनको सीमा क्षेत्र हिल्साबाट सिमकोटसम्म ९५ किमि सडकको ट्र्याक खोलिए पनि राष्ट्रिय सडकसम्म भने पुग्न सकेको थिएन्। सल्लिसल्लाको कर्णालीमा अस्थायी बेलिब्रिज बनेपछि सर्केगाड गाउँपालिका–१ स्थित ल्याप्चेसम्म भने यातायातका साधन पुगेको हाे। 

लालीबगर–दुल्लीकुना खण्डमा ११ किमिमध्ये सडक विभागबाट २.५ किलोमिटर ट्र्याक खोल्ने काम भइसकेको छ। ०७८ पुस ८ मा सेनाले लिएपछि अप्ठ्यारा भीरमा ट्र्याक खोल्ने काम सुरु गरेको थियाे।

ट्र्याक खोल्ने काम भए पनि साना ठूला सवारी चल्ने सडक बनाउन समय लाग्ने कर्णाली करिडोर योजना प्रमुख प्रमुख बेलबहादुर नेपालीले बताए।

‘सिमकोटलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने गरी ट्र्याक खोल्ने काम सकिएको छ, उनले भने, ‘अब सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ, छिटै सडकलाई चौडा गर्ने, ग्रेड मिलाउने र पुल निर्माणको काम हुन्छ।’ 

दोहोरो रूपमा गाडी चल्ने गरी भने सडक बनिसकेको छैन। खापुनास्थित चुवा खोलामा अहिलेसम्म पक्की पुल निर्माण भइसकेको छैन, जसले गर्दा बर्खामा यो खण्ड भएर सवारीसाधन गुड्न समस्या हुनेछ।

‘हिउँदमा खोलाबाट ठूला सवारीसाधन चलाउन सकिनेछ,’ कार्यालय प्रमुख नेपालीले भने, ‘यही सडकबाट यही अहिले सवारीसाधन चलाउन नसकिए पनि दुई वर्षमा पुल निर्माण सम्पन्न भएपछि सवारीसाधन राम्रोसँग चल्छन्।’ 

ट्र्याक खोल्ने काम सकिए पनि अप्ठ्यारो अझै हटेको छैन्। कडा चट्यानी भागको सडकलाई सहज बनाउन अझै बाँकी छ। ट्र्याक खुलेका केही भीर अझै अप्ठ्यारा र जोखिमपूर्ण छन्। हिल्सातर्फ ४ सय मिटरको एल्वाङ र ३ सय ५० मिटरको च्याछर भीर छ।

त्यस्तै, सिमकोट जोड्न सुधार गर्नुपर्ने १ सय मिटरको याङचु खोला नजिकको चट्टान छ। २ सय मिटरको भिगौंडा, १ सय ५० मिटरको बोक्चे गौंडा र २ सय मिटरको दुल्लीकुन्न भीर पनि सुधार गर्ने जिम्मा सेनालाई दिन लागिएको छ।

अन्य ठाउँको केही काम सक्काएर नेपाली सेनाले हस्तान्तरण गर्न बाकी रहेका कारण अहिले हुम्ला सम्म सडक पुगेको बताइएको छ।

प्रकाशित: २६ वैशाख २०८१ १४:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App