४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

महिनौं संघर्षपछि प्रधानमन्त्रीसँग भेट!

रुसी सेनामा भर्ती भएका आफन्त फर्काउन ज्यानकै बाजी

रुसी सेनामा भर्ती नेपाली नागरिकका परिवारसँग प्रधानमन्त्री पुष्पकमल दाहाल। तस्बिर सौजन्य: प्रधानमन्त्री सचिवालय

सस्तो लोभमा फस्दै रुसी सेनामा पुगेका नेपाली युवा युक्रेनको भूमि रगत बगाइरहेका छन्, यता उनीहरूको जीवन रक्षाका लागि परिवारका सदस्य ज्यानकै बाजी लगाइरहेका छन्। दुवै लडाइँ सहज छैनन्। युक्रेन पुगेका युवाले त्यहाँ पुगेपछि बल्ल यो सत्य बुझे। युद्ध कुनै पनि सामान्य हुन्नन्। यद्यपि रुसी सेनामा भर्ती भएका धेरै नेपाली युवा १० वर्षे सशस्त्र द्वन्द्वको सिकाइलाई आधार मानेर त्यहाँ पुगेका छन्।

युक्रेनको युद्धमैदानमा पुग्दा भने उनीहरू छाँगाबाट खसेझैं भए। उनीहरूका अनुभव सुन्दा रुस–युक्रेनको युद्ध नेपालले भोगेको सशस्त्र युद्धभन्दा सयौं गुणा भयानक छ।

‘नेपालको लडाइँ जमिनमा थियो। एकोहोरो फायरिङ हुन्थ्यो। कैलेकाँही हिँडडुल गर्दा जमिनमा बिछ्याइएको माइनमा परिन्छ की भन्नेबाहेक आमनेसामने पर्दा मात्रै जोखिम थियो,’ नेपाली सेनामा पूर्वकार्यरत रहेर हाल रुसी सेनामा भर्ती एक युवा (रुसी सरकारबाट हुने सम्भावित जोखिमलाई ध्यान दिएर यसमा उनको परिचय खोलिएको छैन) भन्छन्, ‘त्यही त होला भन्ने लागेर आइयो। यहाँ पुग्दा त पूरै जमिन आकाशको फरक छ।’

अर्का युवाको अनुभव पनि ठ्याक्कै उनको जस्तै छ। ‘कतिबेला कहाँबाट गोली, मिसाइल, बम आउछ थाहै हुँदैन। जमिनमुनी पनि कहाँनेर माइन बिछ्याइएको छ ? थाहा हुन्न। पाइला चाल्दा पनि ज्यान जोखिममा हुन्छ,’ ती युवा भन्छन्। आकाशमा हेलिकोप्टरदेखि ड्रोनसम्म मडारिइरहन्छन्। ‘तीबाट बम खस्ने जोखिम त हुने नै भयो। रकेटदेखि मिसाइलसम्म खसिरहन्छन्,’ उनी भन्छन्।

युवाहरूका अनुसार गस्ती गर्दा रुसी सेनाले अग्रमोर्चामा नेपालीलाई लगाउने गरेको छ। ‘नेपालीको प्रयोग सामान्य हतियार बोकेर अगाडि माइन, बम वा कुनै किसिमको जोखिम छ/छैन भनी जाँच्ने हो,’ रुसी सेनाबाट फर्किएका एक नेपाली युवा भन्छन्, ‘केही नभएपछि मात्र उनीहरू पछि आउने हुन्। हाम्रो प्रयोग त ढालको रूपमा र बाटो परीक्षणको रूपमा गरिएको छ।’

बस्ने ठाउँ पनि कतिपय अवस्थामा साह्रै असुरक्षित हुनेगरेको युवाहरू बताउँछन्। ‘अक्सर बस्ने भनेकै बंकरमा हो। बंकर पनि सुरक्षित हुन्नन्। ड्रोनबाट बंकरको रेकी हुँदो रहेछ। पत्ता लागे युक्रेनको सेनाले जतिबेला पनि ध्वस्त पारिदिएका घटना छन्,’ अर्का नेपाली युवा भन्छन्।

यसैबीचमा झन्डै ४० जना नेपाली युवा मारिइसकेको परिवारले सूचना पाएका छन्। यद्यपि नेपाल सरकारले १९ जनाको मात्र पुष्टि गरेको छ। ११७ जनाभन्दा बढी घाइते भएको खबर छ।

२७२ जना परिवारको सम्पर्कबाहिर छन्। युद्धमैदानमा पुगेर यस्तो अवस्था देखेका/भोगेका सबैजसो जीवित युवाको चाहना स्वदेश फिर्ती छ। स्वदेश फर्काइदिन उनीहरूले परिवारका सदस्यमार्फत परराष्ट्र मन्त्रालय, कन्सुलर विभागदेखि रुसी दूतावाससम्म याचना गरिरहेका छन्। कन्सुलर विभागकै तथ्यांकमा ३सयभन्दा बढी युवाका परिवारले उद्धारका लागि निवेदन दिइसकेका छन्। जसमध्ये ६५ जना स्वदेश फर्किएको तथ्यांक छ।

यस्तो याचना गरे पनि हालसम्म सरकारी पहल एकदमै फितलो छ। मस्कोमा रहेको नेपाली दुतावासले पनि खास्सै राम्रो सहयोग नगरीरहेको गुनासो छ। यसकारण अधिकांश युवाका परिवारले रुस सरकारका तर्फबाट जोखिम महशुस गर्दै निवेदनसम्म नदिएका पनि छन्।

थुनादेखि आमरण अनशनसम्म

रुसी सेनामा रहेका आफन्त फर्काउन माग गर्दै यता नेपालमा रहेका परिवारका सदस्यले पनि ज्यानकै बाजी लगाइरहेका छन्। अभियन्ता कृतु भण्डारीले यो सवालको संयोजन गरिरहेकी छन्।

‘सुरुमा केही युवाका परिवारलाई कन्सुलर विभागमा निवेदन दिन सहयोग गरेकी थिएँ। विस्तारै थाहा पाउँदै गए यो त बृहत् समस्या हुँदै गएको रहेछ,’ भण्डारी भन्छिन्, ‘यो विषयमा सरकार पूरै बेखबर देखियो। त्यसैले कोही त बोल्नुपर्छ भनेर संगठित गर्दै आवाज उठाउन थालिएको हो।’ भण्डारीले अभियान थालेको अढाई महिना मात्रै भयो।

यस क्रममा उनीसँग रुसी सेनामा रहेका ६ सय ९१ जना युवाका परिवार जोडिएका छन्। रुसी सेनामा कार्यरत चार सय २१ जना युवा त आफैं जोडिएर उद्धारको याचना गरिरहेका छन्। ‘हामीले उद्धारका लागि सरकारका निकाय धायौँ। रुसी दूतावास धायौं, परराष्ट्रमन्त्री, गृहमन्त्री, श्रममन्त्रीलाई पटक–पटक भेट्यौं। तर उहाँहरूको बेवास्ता देखेपछि आन्दोलन गर्न थालिएको हो,’ भण्डारीले भनिन्।

सुरुमा निषेधित क्षेत्र तोड्दै प्रदर्शन गरेर सरकारको ध्यानाकर्षण गर्ने प्रयोग गरिएको थियो। त्यसक्रममा प्रहरीले दुई पटकसम्म धरपकड गर्दै थुनामा राखेको थियो। त्यत्तिले पनि सरकारले नसुनेपछि वैशाख ७ गतेबाट आमरण अनशन समेत बस्न सुरु गर्‍यो। जसमा तीनजनाले आमरण अनशन थाल्दा बाँकी ५० जनाभन्दा बढीले रिले अनशन गरेका थिए। आमरण अनशनलाई पनि सरकारले गम्भीरतापूर्वक नलिएको गुनासो छ। यद्यपी प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले १७ दिनपछि सामान्य आश्वासन दिएपछि अनशन तोडिएको थियो।

प्रधानमन्त्री भेट्न दुई महिना!

माओवादी सेनाका पूर्वछापामार(जनमुक्ति सेना) माइतमान घर्ती रुसी सेनामा भर्ती भएको एक महिना नबित्दै सम्पर्कबिहीन भए। मंसिरदेखि फागुनसम्म श्रीमान सम्पर्कमा नआएपछि सिरानी घर्ती सरकारका निकाय हारगुहार गर्दै दाङबाट राजधानी काठमाडौं पसिन्। जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय धाउँदा कुनै उपाय नलागेपछि उनी काठमाडौं पसेकी थिइन्।

काठमाडौं पसेपछि कसैले सुझायो, ‘कन्सुलर विभाग र रुसी दूतावास जाऊ !’ उनी गइन्। रुसी दुतावासले ‘तिम्रो सरकारको विषय हो, उसैसँग कुरा गर’ भनेर फर्काइदियो। त्यसैदिनदेखि हो उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न चाहेको। ‘मैले फागुनदेखि हो, प्रधानमन्त्रीलाई भेट्न खोजेको,’ सिरानी भन्छिन्, ‘तर, दुई महिना पुग्यो। बल्ल भेट्न पाएँ।’

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारले अभियन्ता भण्डारीले संयोजन गरेर चलाइरहेको रुसी सेनामा भर्ती नेपालीको जीवनरक्षा अभियानलाई डाकेको थियो। सोही टोलीसँगै गएर सिरानीले प्रधानमन्त्री दाहाललाई भेट्ने मौका पाएकी हुन्।  

‘आफ्नै परिवारको संघर्षले प्रधानमन्त्री बनेको व्यक्ति भेट्न दुई महिना लाग्यो,’ उनी भन्छिन्, ‘त्यसका लागि प्रहरीको लाठी खानुपर्‍यो, पक्राउ पर्नुपर्‍यो, अनशन बस्नुप¥यो। झण्डै ज्यान गएन।’ प्रधानमन्त्री दाहाललाई भेटेपछि आफ्ना गुनासा समाधान नभएको उनी सुनाउँछिन्।

सुर्खेत पञ्चपुरी नगरपालिका–५ का किशन थापाको गुनासो पनि उस्तै छ। रुसी सेनामा भर्ती साला चारमहिनासम्म सम्पर्कमा नआएपछि चैतमा काठमाडौं आएका हुन्। त्यसपछि सबैठाउँ चहारे, निषेधित क्षेत्रको प्रदर्शनमा गए, पक्राउ परे, आमरण अनसन बसे। तर, कुनै सन्तोषजनक कुरा सुनेकासम्म छैनन्।

यता प्रधानमन्त्री दाहालसँग भेट्दा प्रतिनिधिमण्डलले १३ बुँदे मागपत्र पेस गरेका छन्। भेटमा प्रधानमन्त्री दाहालले रुसी सेनामा कार्यरत नेपाली नागरिकलाई फर्काउन सार्थक प्रयास भइरहेको आश्वासनसम्म दिएका छन्। तर, ठोस जवाफ भने दिन नसकेको अभियन्ता भण्डारी बताउँछिन्।

‘हामीले ज्ञापनपत्रमै उक्त चेतावनी प्रस्ट उल्लेख गरेका छौं। मौखिक पनि भन्यौं,’ उनले भनिन्, ‘हाम्रो मागअनुरूप राज्य संवेदनशील भएर अघि नबढे फेरि कडा आन्दोलन थाल्छौं। आमरण अनशन दोहोर्‍याउँछौं।’ 

प्रकाशित: २६ वैशाख २०८१ ०९:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App