नेपाल विद्युत् प्राधिकरणले निर्माण अघि बढाएको माथिल्लो अरुण लागि करिब डेढ खर्ब रुपैयाँ बढी लगानी गर्नुपर्ने भए पनि लगानीको स्रोत सुनिश्चित हुन सकेको छैन ।
प्राधिकरणको अगुवाइमा संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा विश्व बैंकले लगानी गर्ने अपेक्षा गरिएको थियो ।
विश्व बैंक लगानी गर्न पछि हटेपछि प्राधिकरणले लगानीको स्रोत खोजिरहेको छ ।
माथिल्लो अरुण निर्माण अवधिको ब्याज र मूल्य वृद्धिलगायत परियोजनाको लागत अनुमान एक अर्ब ७५ करोड डलर ९करिब दुई खर्ब १४ अर्ब रुपैयाँ० छ । त्यसमा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजीबाट जुटाउने योजना छ ।
विश्व बैंकले ऋण लगानी गर्न भारतको लिखित सहमति मागेपछि लगानी अन्योल भएको हो ।
हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी ९एचआइडिसिएल०को नेतृत्वमा ५३ अर्ब रुपैयाँ स्वदेशी बैंक तथा वित्तीय संस्थाबाट सहवित्तीयकरणमार्फत लगानी जुटाउन समझदारीपत्र ९एमओयु० भइसकेको भए पनि बाँकी करिब एक खर्ब ६१ अर्ब रुपैयाँ स्रोत अनिश्चित छ ।
विश्व बैंक लगानी गर्न पछि हट्ने संकेत पाएपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अपर अरुण जलविद्युत् आयोजनामा लगानीका लागि विश्व बैंक तयार नभए माथिल्लो तामाकोसीकै लगानी ढाँचामा माथिल्लो अरुण निर्माण गरिने बताएका छन् । विश्व बैंकको लगानीबारे आयोजनाको भविष्य अन्योलमा परेको जानकारी आफूहरूले पाएको बताए ।
कार्यकारी निर्देशक घिसिङले विश्व बैंकले लगानी नगर्ने अवस्था आए देशभित्रका बैंक तथा वित्तीय संस्था र स्वदेश तथा विदेशमा रहेका नेपालीको लगानीमा अगाडि बढाइने जानकारी दिए । ‘विश्व बैंकले आफ्नो नेतृत्वमा एसियाली विकास बैंक ९एडिबी०, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) लगायतलाई सहभागी गराएर करिब दुई अर्ब अमेरिकी डलर लगानी जुटाउने कार्यलाई उच्च प्राथमिकतामा राखेर अगाडि बढाएको थियो,’ घिसिङले भने, ‘अन्तिम चरणमा आएर वित्तीय व्यवस्थापन हुन सकेन ।’
लगानीका लागि विश्व बैंकले सहयोग गर्ने विषयमा चासो नदेखाएपछि विद्युत् प्राधिकरणले नेपाल सरकार, प्रदेश सरकार, आयोजना प्रभावित जिल्लाका स्थानीय तह, आयोजना प्रभावित जिल्लाबासी, देशभरिका सर्वसाधारणको सेयर लगानी, अन्तर्राष्ट्रिय बहुपक्षीय विकास साझेदारको सहुलियतपूर्ण ऋण र स्वदेशी बैंक तथा वित्तीय संस्थाको ऋण लगानी रहने गरी ब्लेन्डेड फाइनान्सिङ’ ९मिश्रित लगानी०को नमुना परियोजनाका रूपमा अगाडि बढाउन लागिरहेको छ ।
मूल लगानीको स्रोत अझै अनिश्चित भए पनि प्राधिकरणले काम भने अघि बढाएको छ । भौगोलिक रूपमा विकट र जटिल रहेको आयोजनाको विद्युत्गृहबाट बाँधस्थलसम्म पुग्ने २१ किलोमिटर पहुँच सडक निर्माणको काम अघि बढाएको छ । २१ किलोमिटरमध्ये दुई किलोमिटर सुरुङ मार्ग निर्माण गर्नुपर्ने छ ।
प्रकाशित: ४ पुस २०८१ २०:२८ बिहीबार