७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

डढेलोले ध्वस्त बन्दै वन क्षेत्र, सरकारसँग छैन प्रभावकारी योजना

देश यतिबेला डढेलोका कारण जलिरहेको छ। हिउँद सकिएसँग नेपालका विभिन्न क्षेत्रमा दैनिक जसो वनजङ्गलमा डढेलो र गाउँ वस्तीहरूमा आगलागीका घटनाहरू घटिरहेका छन्। जसका कारण करोडौँको जनधनको क्षति भइरहेको छ भने कैयन हेक्टर वन सखाप भइसकेका छन्।

सुक्खायाम सुरु भएसँगै यस वर्ष अर्थात् सन् २०२४ को मार्चदेखि अप्रिलसम्म ४ हजार ४ सय ४१ आगलागीका घटनाहरू भइसकेका छन्। जसमा कति घरपरिवार प्रभावित बने र कति हेक्टर वन डढे त्यसको यकिन तथ्याङ्क सरकारसँग छैन। तर, प्रायःजसो दैनिक देशको कुनै न कुनै जिल्लामा १० देखि ७०/८० घरमा क्षति पुगिरहेको छ भने कैयन हेक्टर वन सखाप हुँदै गइरहेका छन्।

डढेलो विज्ञ सुन्दर शर्माका अनुसार सन् २०२४ को मार्चदेखि अप्रिलसम्म नेपालका ७४ जिल्ला आगलागीको चपेटामा आइसकेको छ। ‘हरियो वन नेपालको धन’ भनेर कुनै समय चिनिँदै आएको नेपालको वन पछिल्लो समय निरन्तर मासिँदै गएको छ। विज्ञ शर्माका अनुसार सरकारले आगलागी र डढेलोका कारण बर्सेनि कति वन नष्ट हुन्छ भन्ने तथ्याङ्क सङ्कलन गर्न नसके पनि वार्षिक सरदर २ लाख हेक्टर जङ्गल मासिने गरेको छ।

गाउँवस्तीमा हुने आगलागीका घटना अन्जानमा भएको देखिन्छ भने वनमा लाग्ने डढेलोको प्रमुख कारण मानव जाती नै रहेको विज्ञ शर्माको भनाइ छ।

उनी भन्छन्, ‘नेपालको सन्दर्भमा हेर्ने हो भने बर्सेनि २ हजारदेखि ३ हजारभन्दा बढी आगलागी र डढेलोका घटनाहरू हुन्छन्। तर, सन् २०२४ को २ महिनामै ४ हजार ४ सयभन्दा बढी आगलागी र डढेलोको घटना घटिसकेको छ। जुन गम्भीर विषय हो। सुक्खा याम सकिन अझै १ महिना बाँकी नै छ। त्यस अवधिमा थप कति घटना हुने हुन् अहिले नै भन्न सकिँदैन।’

विज्ञ शर्माका अनुसार यो वर्ष प्रि मनसुन भित्रिए पनि अपेक्षा अनुसारको पानी पर्न सकेको छैन। जङ्गलमा थुप्रिएका घाँसपात, दाउराले आगलागी गराउने काम गरिरहेको छ। त्यही आगलागी बस्तीसम्म पुग्छ र मानवीय तथा धनमालको क्षति गराउँछ। विज्ञ शर्माका अनुसार वनजङ्गलमा नयाँ घाँसपात पलाउने लोभमा जानेरै आगो लगाइन्छ। पछिल्लो समय नेपाल मात्रै नभएर विश्वकै विभिन्न क्षेत्रमा डढेलोको घटना बढ्नुमा जलवायु परिवर्तन मुख्य कारण रहेको छ।

उनी भन्छन्, ‘जनघनत्व बढ्दै जानु र वन क्षेत्र मासेर घर बस्तीको सङ्ख्या बढ्नु पनि आगलागीको कारण बन्दै गएको छ। वन क्षेत्र नजिकै घर बस्तीमा बालेको आगो र जङ्गलमा मानिसको सहज पहुँचले गर्दा आगोका झिल्काहरूले आगलागी र डढेलेको घटना बढिरहेको छ। समयमै पानी नपर्ने, परे पनि पर्याप्त मात्रामा नपर्नाले पनि आगलागी नियन्त्रणमा समस्या भइरहेको छ।’

जङ्गलले कार्बनलाई सोसेर जलवायु परिवर्तनको असर कम गर्न सहयोग गर्छन्। तर, जङ्गल फडानी, कृषि र पशु चरणका लागि गरिएको अतिक्रमण, डढेलो लगायत मानवीय गतिविधिका कारण जङ्गलहरू दबाबमा परेका र कार्बन उत्सर्जक बनेका कारणले डढेलोको घटनामा वृद्धि भएको हुन सक्ने उनको भनाइ छ।

विज्ञ शर्माका अनुसार ६४ प्रतिशत डढेलो मानिसले जानाजान आगो लगाइदिएका कारण लाग्ने गरेको छ भने ३२ प्रतिशत आगलागी असावधानी र दुर्घटनावश हुने गरेका छन्। जबकि ४ प्रतिशत आगलागीको कारण खुल्दैन। मानवीय कारण मात्र नभई चट्याङ र रूखका हाँगा आपसमा घर्षण भई निस्किने झिल्का जस्ता प्राकृतिक कारणले पनि डढेलो लाग्ने गरेको उनले बताए।

सरकारसँग छैन आवश्यक जनशक्ति र प्रभावकारी योजना

सरकारले वन डढेलो नियन्त्रणका लागि डढेलो व्यवस्थापन रणनीति २०६७ जारी गरेपनि त्यो प्रभावकारी रूपले कार्यान्वयनमा आउन सकेको छैन। कारण, सरकारसँग आवश्यक जनशक्ति र प्रभावकारी योजना अभाव हुनु।

जसरी जसरी आगलागीका घटनामा वृद्धि हुँदै गएको छ त्यसरी नै मानवीय क्षतिका घटनाहरूमा पनि वृद्धि हुँदै गएको छ। डढेलो विज्ञ शर्माका अनुसार सरकारसँग डढेलो नियन्त्रण गर्ने संयन्त्रदेखि जनशक्ति पनि नभएका कारण समस्या भइरहेको छ।

तर, पहिलो पटक गोदावरीमा लागेको डढेलो नेपाल सरकारको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको फायरफाइटरले नियन्त्रणमा लिएको उनले बताए। विज्ञ शर्माले अन्य विपद्को तुलनामा आगलागी र डढेलोलाई सरकारले कम महत्त्व दिएको भन्दै डढेलो र आगलागीका कारण कुनै एक क्षेत्र मात्र नभई त्यसले समुदायका हरेक क्षेत्रलाई नराम्रोसँग प्रभावित बनाउने गरेको बताए।

उनले विश्वका विभिन्न मुलुकहरूमा डढेलो र आगलागी नियन्त्रणका लागि बजेट नै छुट्टाउने गरिएकोमा नेपालमा कुल बजेटको निकै कम बजेट छुट्टाइने गरेको उल्लेख गरे।

सरकारले डढेलो नियन्त्रणका लागि बेलाबेलामा विभिन्न अभ्यास गरेपनि त्यो पर्याप्त नभएको र यसका लागि बजेट विनियोजनदेखि ठोस योजना र त्यसको प्रभावकारी कार्यान्वयनको खाँचो रहेको उनको भनाइ छ। 

प्रकाशित: २३ वैशाख २०८१ १५:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App