५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

चिमटीका ६६ परिवार त्रिपालमुनि

आगलागीबाट भग्नावशेषमा परिणत चिमटी बस्ती। तस्बिर: मिथिलेश/नागरिक

सप्तरीको महादेवा गाउँपालिका–१ चिमटी टोलका ६६ परिवारको बास जलेको छ। फुसको घर उभ्याएर पक्की बनाउने सपना बुन्दै यहाँका धेरै घरबाट युवा वैदेशिक रोजगारीमा गएका छन्। गत मंगलबार दिउँसो आगलागी हुँदा घरका तागतिला पुरुष सदस्य नहुँदा धेरैले आफ्ना सामान जोगाउन सकेनन्।

पाँच दिनअघिसम्म घरैघर र आफ्नै दिनचर्यामा व्यस्त देखिने चिमटी टोल अहिले भग्नावशेषमा परिणत छ। त्रिपालमुनि महिला खाना पकाउँदै र पुरुष घरका भग्नावशेषमा जोगिएका केही भेटिन्छ कि भन्दै खोज्दै गरेको अवस्थामा भेटिन्छन्।

सप्तरीको मुकाम राजविराजबाट झन्डै सात किलोमिटर दुरीमा यो गाउँ छ। स्थानीय शत्रुधन यादवको गोठबाट सुरु भएको आगो केहीबेरमै पुरै गाउँमा फैलियो। बाँस तथा माटोका ढाँचामाथि फुस, जस्ता र खबटाका छाना भएका घरमा बेगले चलेको हावाले आगो फैलाएको थियो। प्रहरीको प्रारम्भिक अनुमानमा ६६ परिवारका २८० घरटहरा, गोठ जलेका छन्।

भर्खर गहुँ भित्र्याएका धेरैले त्यसको छ्वालीको भुस गाईवस्तुलाई खुवाउन थुपारेर राखेका थिए। आइतबार विवाहपछि सोमबार दुलही भिœयाएको बरुण यादवको घरका सामान सबै जलेर खरानी भए।

उनले भने, ‘हेर्दाहेर्दै आगो फैलियो। भागेर ज्यान जोगाउनेतर्फ केन्द्रित भएँ, सामान निकाल्नै सकिनँ।’ उनका अनुसार आगो लागेपछि धेरैले गाईवस्तु दाम्लो खोलेर छाडिदिए। महिला लालाबाला च्यापेर गुहार लगाउँदै खुला ठाउँतर्फ गए।

अग्निीपीडित चन्द्रनारायण भन्छन्, ‘छोराको विवाहमा आएका फर्निचर, गरगहना, लत्ताकपडा सबै सखाप भए। आगो सल्कन थालेपछि म त बालबच्चा च्यापेर रुँदै–कराउँदै घर छाडेर निस्किएँ।’

आगोले घरमात्रै डढाएन, वर्षभरिको अन्नपात, लुगाफाटा, सुनचाँदी, नगद पनि खरानी पार्‍यो। नयाँ बुहारी भित्रिएको घरमा खुसी थियो। ‘तर यो खुसी धेरै बेर टिक्न सकेन,’ उनले भने, ‘सबै खुसी आगोले सखाप पार्‍यो, केही बाँकी राखेन।’ सबैजसोले घरमा माटाका ठुलाठुला भकारीमा अन्न राखेका थिए। घरसँगै अन्न पनि डढ्दा बासको मात्र होइन, गासको पनि समस्या भएको छ।

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बिहीबार बस्ती निरीक्षण गरेपछि आगलागीपीडितहरूको घर बनाइदिने घोषणा गरे। उनले छिट्टै राहत प्याकेज घोषणा गर्ने पनि बताए।

उनले भने, ‘अब घरहरू दैवीविपत्तिसँग प्रतिरोधात्मक बनाउन जरुरी छ।’ बाँस–काठका ढाँचामा फुस र खबटाका घर आगोको जोखिममा रहेको उनले बताए। दैवी विपत्तिबाट जोगिन सुरक्षित घर बनाउने र चेतनामूलक कार्यक्रम ल्याउन पहल गर्ने आश्वासन पनि उनले दिए।

अग्निपीडितका लागि विभिन्न संघसंस्थाले राहत संकलन गरी वितरण गरिरहेका छन्। गाउँपालिका, जिल्ला प्रशासन कार्यालय र जिल्ला रेडक्रसले राहत संकलन गरी वितरण गरिरहेका छन्। स्थानीय समाजसेवी र युवाले अग्निपीडितहरूका लागि भोजनको बन्दोबस्त गर्दै आएका छन्। चिमटी यादव, मुसहर र मुसलमान बाहुल्य टोल हो।

अहिले मधेस प्रदेशका अधिकांश जिल्लामा दिनहुँजसो आगलागीका घटना भइरहेका छन्। गर्मीसँगै आगलागीका घटना पनि बढ्न थालेको प्रहरीको भनाइ छ। प्रदेश प्रहरी कार्यालयका अनुसार मधेस प्रदेशमा तातो हावाहुरी पनि चलिरहेको छ। मधेस प्रदेशमा मुख्यतः २ कारणले आगलागीका घटना भइरहेका छन्। पहिलो, मानवीय लापरबाही र दोस्रो, फुसका कच्ची घर।

चालु आर्थिक वर्षको साउनदेखि वैशाख २१ गतेसम्म यस प्रदेशका ८ वटै जिल्लामा १ हजार २०७ वटा आगलागीका घटना भएको प्रहरी तथ्यांक छ। यी आगलागीका घटनामा परेर २० जनाको मृत्यु भएको छ भने १२० जना घाइते भएका छन्।

प्रकाशित: २२ वैशाख २०८१ ०६:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App