३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

अग्निपीडितलाई बासको आश

महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवागाछीका एक सय १० परिवार अग्निपीडितलाई सुरक्षित बासको टडकारो आवश्यकता छ। अग्निपीडितका लागि खानेकुरा, खाद्यान्न (चामल, दालसहित), लत्ताकपडा र भाँडाकुडा जुटेपनि सुरक्षित बसोबासको व्यवस्था भने हुन सकेको छैन।

पीडितको अबको आवश्यकता सुरक्षित बसोबास नै हो। उनीहरु एक सातादेखि राम्रोसँग सुत्न पाएका छैनन्। ‘जेनतेन खानेकुरा त जुटेकै छ, तर घटनायता हामी राम्रोसँग सुत्न सकेका छैनौँ’, अग्निपीडित सीताराम पासवान भन्छन्–‘बालबालिका, बुढाबुढी, सुत्केरी र बिरामीको कन्तविजोग छ।’ 

अग्निपीडितका लागि तत्काल बासको प्रबन्ध गर्नुपर्ने मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डलले बताए। ‘एक सयभन्दा बढी परिवारको व्यवस्थापनको कुरा छ, यो प्रबन्ध मिलाउन केही समय लाग्छ’, उनले भने।

पीडित बस्तीमा पुगेका मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बासको प्रबन्ध गर्न सहयोग गर्ने प्रतिबद्धता जनाए। यसैगरी सङ्घीय सरकारले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विज्ञ टोली स्थलगत अवस्था बुझेर फर्केको छ।

बस्तीमा छाप्रो बनाउन बाँस, जस्तापाता, चुलो र ग्यास, खाट, ओढ्ने/ओछ्याउने लुगा, बालबालिकाका लागि झोला, कापी, कलम, पेन्सिललगायत सामग्रीको आवश्यकता छ। बालबालिका घटनापछि विद्यालय जान सकेका छैनन्। उनीहरुलाई पोसाक, पुस्तक, कापी÷कलमजस्ता सामग्रीको अभाव भएको छ।

नगरप्रमुख मण्डल जिल्लास्थित विपद् व्यवस्थापन समिति, रेडक्रससहितका सामाजिक सङ्घ संस्था र सम्पर्कमा रहेका दाताहरुसँग सहयोगका बारेमा छलफल भइरहेको बताउँछन्। -रासस

प्रकाशित: १८ वैशाख २०८१ १३:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App