२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

‘भारतीय ढुवानीका गाडीले नेपाली ढुवानी व्यवसाय सकसमा’

नेपाल भित्रिने भारतीय मालवाहक सवारी साधनले नेपाली ढुवानीका साधन विस्थापित हुने अवस्थामा पुगेको यातायात व्यवसायीले गुनासो गरेका छन्।

भारतीय मालवाहक गाडी भारत तथा तेस्रो मुलुकबाट सोझै देशका प्रमुख बजारसम्म ढुवानी गर्न थालेपछि मुलुकभित्र सञ्चालित ट्रक, ट्रिपर, लहरीले काम पाउन छाडेको यातायात व्यवसायीले गुनासो गरेका हुन्।

शुक्रबार सिमरामा आयोजना गरिएको तराई यातायात व्यवसायी संघको सत्रौँ साधारणसभा नेपाली यातायात व्यवसायीले गुनासो गरेका हुन्।

भन्सारमा लोड–अनलोडलगायतका थप खर्च, जोखिम र सुरक्षाको कारण देखाई आयातकर्ता तथा भारतीय ट्रान्सपोर्टले सोझै नेपालका विभिन्न सहरमा भारतीय मालवाहक गाडीबाट ढुवानी गराउँदा नेपाली ढुवानीका साधनले कामै नपाउने अवस्थामा पुगेको कार्यक्रममा तराई यातायात व्यवसायी संघ सिमराका अध्यक्ष ओमकृष्ण कार्कीले गुनासो गरे।

राज्यलाई कर र नेपालीलाई रोजगारी दिने नेपाली ढुवानीको साधन भारतीय मालवाहक गाडीले गर्दा विस्थापन हुने अवस्था आए पनि सम्बन्धित निकाय हाम्रो समस्याप्रति गम्भीर नभएको आरोप कार्कीले लगाए।

एकातिर नेपालभित्र भारतीय मालवाहक सवारी साधनलाई  सुविधा दिँदा मुलुकको अर्बौं रुपैयाँ ढुवानी भाडामा बिदेसिने गरेको छ भने अर्कातर्फ नेपाली ट्रकहरूले काम पाउन छाडेको अवस्था आएको कार्कीले बताए।

नेपाल ट्रक यातायात व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष हिरालाल श्रेष्ठले भारतीय सवारीको प्रवेशले नेपाली लगानीको सवारीहरुको पुँजी डुब्ने अवस्थामा आएको गुनासो गरे। नारायणी यातायात व्यवसायी संघका अध्यक्षसमेत रहेका श्रेष्ठले ट्राफिक प्रहरीहरुले चेकिङका नाममा नेपाली ढुवानीका साधनलाई मात्रै दुःख दिने गरेको र बढी भार बोक्ने भारतीय गाडीलाई त्यसै छाड्ने गरेका कारण ढुवानीका साधन सञ्चालकहरु धेरै समस्यामा परेको बताए।

कार्यक्रमका मुख्य अथिति रहेका मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले समस्यामा परेका नेपाली ढुवानीका साधनहरुलाई पहिलाको अवस्थामा ल्याउन आफूले सक्दो पहल गर्ने आश्वासन दिएका छन्।

नेपालीले लगानी गरेको ढुवानीका साधनले पहिलो प्राथमिकता पाउनुपर्ने हो र नेपाली ढुवानीका साधनलाई काम पाउनका लागि आफूले कहाँ के गर्नुपर्छ, त्यो सबै गर्ने मुख्यमन्त्री यादवले बताए।

कार्यक्रममा नेपाली काँग्रेसका सहमहामन्त्री फरमुल्ला मन्सुर प्रतिनिधिसभा सदस्य अच्युत मैनाली, किसान श्रेष्ठले भारतीय ढुवानीका साधनहरुले गर्दा नेपाली ढुवानीका साधनहरुले काम नपाउने अवस्था आएको, नेपालीका लागि राम्रो नभएको र नेपाली लगानीमा रहेका ढुवानीका साधनका लागि हामीले सम्बन्धित निकायमा पहल गर्ने आश्वासन दिए।

कार्यक्रममा प्रदेशसभा सदस्य देवनारायण चौधरी, नारायणी यातायात व्यवसायी संघका निर्वतमान अध्यक्ष बद्रीप्रसाद चौलागाईं, बाराका प्रमुख जिल्ला अधिकारी शिरीष घिमिरे, प्रहरी प्रमुख महेन्द्र खड्का, राजमार्ग सुरक्षा तथा ट्रफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रमुख प्रहरी उपरीक्षक भीमकिरण बोगटीलगायतको सहभागिता थियो।

प्रकाशित: १४ वैशाख २०८१ १७:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App