नेपालको लगानी सम्मेलन अघि कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणलाई सुनौलो अवसरको लिनुपर्ने जानकारहरुले बताएका छन्।
कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी पहिलोपटक मंगलवार नेपालको दुई दिने औपचारिक भ्रमणमा आउँदैछन्। कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको भ्रमणबाट नेपालले कतारको लगानी, हमासमा बेपत्ता विपिन जोशीको उद्धार र श्रम सम्झौता सम्मका विषयमा लाभ लिन सक्नुपर्ने परराष्ट्रका जानकारहरुको भनाइ छ।
उनीहरुले नेपाल सरकारले कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको भ्रमणबाट धेरै फाइदा लिनसक्ने अवसर रहेको बताए। उनीहरुले नेपालको जलविद्युत, टेक्नोलोजी ट्रान्सफर लगायतमा लगानी ल्याउन सक्ने वातावरण रहेको बताए।
कतारका प्रतिष्ठित व्यवसायी तथा गैरआवासीय नेपाली संघका अभियान्ता राजेन्द्रकुमार शर्माले कतारी राजाको नेपाल भ्रमण नेपालको लागि सुनौलो अवसर भएको बताए।
उनले नेपालको लगानी सम्मेलन अगाडि हुन लागेको यो भ्रमणले गल्फ क्षेत्रका लगानीकर्ताहरुलाई विश्वास दिलाउन सक्ने उल्लेख गर्दै कतार विश्वका धेरै देशमा लगानी गरेर सफल भएको देश भएकाले नेपालमा त्यस क्षेत्रको लगानी आवश्यक रहेको बताए।
अध्यक्ष शर्माले नेपालमा जलविद्युतको ठूलो सम्भावना रहेकाले जलविद्युतमा पनि कतारको लगानी ल्याउन सक्नुपर्ने बताए।
कतारले पछिल्लो दशकमा प्रविधिको क्षेत्रमा गरेको विकाशको मोडल नेपालमा लागू गर्नसके धेरै फाइदा हुने भन्दै उनले कतारसँग नेपालमा ३ लाख ५० हजार भन्दा बढी घरघुरी जोडिएकाले नेपाल अनकुल श्रम सम्झौता गर्न आवश्यक रहेको बताए।
उनले भने, ‘विश्वमा अन्तर्राष्ट्रिय लगानी गर्ने टप १० देखि २० देशहरुलाई निरन्तर रुपमा फलोअफ गर्ने र नीति नियम,करसम्बन्ध दरहरु र त्योसँगै त्यसमा एउटा टिम लाग्न आवश्यक छ। विश्व अहिले क्लिन इनरजीको पछि दौडिरहेको छ। नेपाल सानो मात्रामा भएपनि विश्वमा नेपालमा ४२ हजार मेगावाट विद्युत उत्पादन गर्न सकिन्छ।’
उनले नेपालीहरुको आर्थिक अवस्था अझ माथि उकासिन सक्ने भन्दै सरकारले कतार सरकारसँग इगर्भरमेन्टमार्फत काम गरिरहेकाले टेक्नोलोजी ट्रान्सफरको सहयोग लिनसक्ने पनि बताए।
उनले थपे, ‘विश्वका धेरै देशमा लगानी लगाएर सफल भएको देश हो। कतारलाई कुकिङ ग्यासको उत्पादनको लागि लगानी लगाउन आग्रह गर्नुपर्छ। आगामी वैशाख १६ र १७ गते गर्न लागेको नेपालको लगानी सम्मेलन अगाडि हुन लागेको यो भ्रमणले गल्फ क्षेत्रका लगानीकर्ताहरुलाई विश्वास दिलाउन सक्छ।’
परराष्ट्र मामिलाका जानकार, परराष्ट्रविद् जयराज आचार्यले कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणमा राष्ट्रपतिदेखि मन्त्रीसम्मले विपिन जोशीको उद्धारको माग प्रमुख प्राथमिकता राख्नुपर्ने बताए। उनले कतारका प्यालेस्टाइन र हमाससँग राम्रो सम्बन्ध भएकाले कतारका राजाले भन्दा उद्धार हुनसक्ने बताए।
उनले नेपालले कतारले भनेको जस्तो श्रम सम्झौता गर्न तयार हुने तर कतारले विपिन जोशीलाई रिहा गर्नुपर्ने प्रमुख एजेण्डा बनाउनुपर्ने भन्दै सरकारले विपिन निर्दोष व्यक्ति भएको भन्दै इजरायली र प्यालेस्टाइनहरुसँग कुनै शत्रुता नभएको दाबी पेश गर्न आवश्यक रहेको बताए।
उनले विपिन जोशीलाई हमासबाट उद्धारको लागि नेपाल सरकारले कुटनीतिक प्रयोग गर्ने समय आएको दाबी गरे। उनले सरकारले एक लाख जनता र एक जना आफ्नो नागरिकलाई त्यति नै महत्व दिन आवश्यक रहेको बताए।
प्रकाशित: १० वैशाख २०८१ १२:४६ सोमबार