२० माघ २०८२ मंगलबार
image/svg+xml
समाज

बिक्दैनन् ठेकी र डाला

विगतमा लाग्ने चैतेदसैँको मेलामा अत्यधिक बिक्री हुने ठेकी, नाङ्ला र मादालजस्ता उत्पादनको व्यापार घटेको छ। पछिल्लो समय आँसी, बाउँसो, मदानी, मान्द्रो र मादलको व्यापार बर्सेनि खस्कँदै आएको व्यापारीहरुको भनाइ छ। 

विगतमा चैतेदसैँको अवसरमा लाग्ने बेलामा यस्ता सामग्रीको व्यापार उच्च हुने गरेकोमा अहिले बिक्री शून्यप्रायः रहेको व्यापारीहरुको भनाइ छ। यद्यपि परम्परा धान्नकै लागि भने यसप्रकार घरेलु सामग्रीको उत्पादन भने भइरहेको उनीहरुले बताएका छन्।

बागलुङको बडिगाड गाउँपालिका–४ खिमबहादुर विकले पुर्खाको परम्परा धान्नकै लागि आठ वर्षयता निरन्तर चैतेदसैँ मेलामा डालो, नाङ्लो र डाली बिक्री गर्न आइरहेको सुनाए। उनले एक सय डाला बिक्री गर्न पनि मुस्किल परेको गुनासो गरे।

‘बाबाले नाला र नाङ्लो बुनेर चैतेदसैँमा ल्याउने गर्नुहुन्थ्यो, बाबा बित्नुभएको सात वर्ष पुग्यो, परम्परा धान्नकै लागि अहिले डाला र नाङ्लो बुनेर चैतेदसैँ मेलामा आउन थालेको छु’, उनले भने, ‘एउटा डालो बुन्न दुई दिन लाग्छ, यहाँ एक हजारमा पनि बिक्री गर्न मुस्किल छ।’ उनले अब नाफाका लागि नभइ परम्परा धान्नमात्रै डालाडाली बुन्दै आएको बताए। 

‘डाला बुन्ने निगालो लिन सामुदायिक वनमा जानुपर्छ, एउटा निगालोको मूल्य छ सय पर्छ, बाबाले सिकाएको काम मैले गरे पनि छोरा र नातीहरुले गर्दैनन्’, उनले भने।

विकसहित बडिगाडका शशिराम सन्दाखरीलगायतका व्यापारीहरु अहिले बागलुङको चैतेदसैँ मेलामा डाला, डाली र नाङ्लो बिक्री गर्न आएका छन्। चैतेदसैँमा बिक्री हुने डाला, डाली र नाङ्लो अधिकांश बडिगाड गाउँपालिका, तङ्ग्राम र धम्जामा उत्पादन भएको छ। केही व्यापारीले तनहुँबाट समेत मान्द्रोे, मुडा र गुन्द्री व्यापारका लागि लिएर आएका छन्।

तीस वर्षदेखि चैतेदसैँ मेलामा चोयाका सामग्री डाला, नाङ्ला र डाली बेच्न बागलुङ बजार नजिकै रहेको कालिका मन्दिर परिसरमा आउने गरेको बडिगाडका डालो व्यापारी सन्दाखरीले बताए। उनले शुक्रबारबाट सुरु भएको मेलामा ५० थान डाला बिक्री भएको उनको भनाइ छ। उनले पहिलाको तुलानामा अहिले डालो नै कम उत्पादन हुने गरेको उल्लेख गरे।

चैत ३० गतेबाट सुरु भएको चैतेदसैँ मेला बिहीबारसम्म चल्नेछ। ‘एक सय वटा डाला बिक्री गर्न मुस्किल छ, अहिलेको ढुवानी खर्च, निगालो खरिदको मूल्यले ज्याला उठ्नै समस्या भए पनि परम्परागत रूपमा गर्दै आएको पेशा बुढेसकालमा छाड्न सकिँदैन’, सन्दाखरीले भने, ‘आफू बाचुञ्जेल चैतेदसैँ मेलामा डालो बिक्री गर्न आउँछु, छोरा, नातिले के गर्छन् थाहा छैन, डालो बिक्रीबाट घर खर्चमात्रै चल्ने गरेको छ।’

बर्सेनि डालाको व्यापार घट्दै गएपछि सन्दाखरीले डाला उत्पादनमा त्यति जाँगर नलाग्ने गरेको बताए। उनले पछिल्लो एक दशकयता घरेलु उत्पादन सामग्री मेलामा रूचाउन छाडिएको सुनाए। 

वर्षभरि उत्पादन गरेको निगालोको चोयाको डाली, नाङ्ला र डालो चैतेदसैँ मेला, रिडीको मेला र शान्तिपुरको मेलामा राम्रो बिक्री भएर जीवन गुजारा चलाउँदै आएको सन्दाखरीले अब चोयाको उत्पादनबाट जीवन धान्न मुस्किल रहेको उनको दुखेसो छ। उनले ठूलो डालोलाई मुस्किलले एक हजारमा बिक्री गर्दै आएको बताए।

चोयाबाट डाला, नाङ्ला, डोको, थुन्सेलगायतका सामग्री बुनेको देखेर १७ वर्षको उमेरबाटै अहिलेसम्म चोयाका सामग्री लिएर चैतेदसैँ मेलामा आउन थालेको उनको भनाइ छ। पछिल्लो समय प्लाष्टिकका भाँडाकुँडाका कारण चोयाका सामग्री कम बिक्री भइरहेको छ। उनका तीन छोराले चोयाको सामग्री बनाउन सिकेका छैनन्।

चैतेदसैँ मेलाको अर्को पहिचानका रूपमा रहेको दारको ठेकाको व्यापार पछिल्लो समय निकै कम भएको बागलुङको बलेवा अमलाचौरबाट चैतेदसैँमा ठेका बिक्रीका लागि आएका टीका चुँदाराले बताए। उनले भैँसी पाल्ने परम्परा हट्न थालेपछि ठेकाको व्यापार घटेको उनको भनाइ छ। अहिले प्लाष्टिक र स्टिलको भाँडामा मोही पार्ने चलन आएको भन्दै उनले परम्परागत ठेकामा पारेको मोही र घ्यू स्वास्थकर हुने भन्दै चेतनाको अभावमा ठेकी किन्नै छोडेको उल्लेख गरे।

‘सात वर्षअघिसम्म त ठेकीको व्यापार निकै राम्रो थियो, वर्षभरि उत्पादन गरेका ठेकी चैतेदसैँमा व्यापार गरेरै सकिन्थ्यो’, टीका चुदाँराले भने, ‘१२ वर्षको उमेरबाट चैतेदसैँमा बाबासँग ठेकी बिक्रीका लागि आएको अहिले ६० वर्षको उमेरमा समेत आउँदैछु, बीस घर चुँदारा परिवारमा पाँच घरमा मात्रै यो पेसा सीमित छ,आफू बाचुञ्जेल ठेका बनाइन्छ, छोराछोरीले यो पेसा सिक्नै मान्दैनन्।’

अहिले आयातित सामग्री खरिदमा स्थानीयको भीड लाग्ने गरेको उनको भनाइ छ। आधुनिक उपकरणको विकासले ठेकाको व्यापार खस्केको बताउँदै चैतेदसैँको परम्परा धान्न मात्रै ठेकी बिक्रीका लागि ल्याएको बताए। एक मानादेखि दुई पाथीसम्मका ४० ठेका बिक्रीका लागि आए पनि हालसम्म पाँचवटा मात्रै बिक्री भएको चुँदाराले जानकारी दिए।

चुदाराले गुल्मीसम्म पुगेर ठेका उत्पादन गर्दै आएका छन्। उनले ठेकी बनाउने प्रचलन पुस्ता हस्तान्तरण नहुँदा आगामी दिनमा लोप भएर जाने बताए। चैतेदसैँमेला बागलुङको पहिचानसँग जोडिएको र परम्पराकालदेखि मेला लाग्ने भए पनि विस्तारै आधुनिकताका कारण मेलाको मौलिकता हराउँदै गएको उनीहरूको भनाइ छ। रासस

प्रकाशित: ६ वैशाख २०८१ १३:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App