१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पर्वत र जलवायु परिवर्तन अन्तर्राष्ट्रिय संवादमा १० देशका मन्त्री आमन्त्रित

जेठको तेस्रो साता हुने पर्वत, मानव र जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय संवादमा विश्वका १० देशका मन्त्रीलाई निम्ता गरिने भएको छ।

आगामी जेठ ९ र १० (मे २२ र २३)मा काठमाडौँको चन्द्रागिरि हिल्समा आयोजना हुन लागेको ‘इन्टरनेसनल डाइलग अन माउन्टेन, पिपुल एन्ड क्लाइमेट’ नामक संवादमा विश्वका पर्वतीय मुलुकका प्रतिनिधि, विषय विज्ञ र साझेदार संस्थाका प्रतिनिधिसहित २०० जना सहभागी हुने बन तथा वातावरण मन्त्रालयले सोमवार जनाएको छ।

सम्मेलनको तयारीका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै वन तथा वातावरण मन्त्री नोबल किशोर साहले यो अन्तर्राष्ट्रिय संवाद सफल पार्न सबै क्षेत्रले सहयोग गर्नुपर्ने बताए। उनले जलवायु परिवर्तनको विषयमा नेपालले पर्वतीय राष्ट्रको नेतृत्व लिनु पर्ने बताए।

मन्त्रालयका सहसचिव डा महेश्वर ढकालले संवादको उद्देश्य जलवायु परिवर्तनका विषयमा पर्वतीय क्षेत्रका मुद्दामा सबै पर्वतीय राष्ट्रको समान धारणा बनाउने र यो विषयमा गरिने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहललाई थप प्रभावकारी बनाउने रहेको बताए। जलवायु विज्ञान तथा पर्वतीय प्रमाण, पर्वतीय समाधान र साझा विषयवस्तु र पर्वतीय संसाधन तथा अवसर गरी ३ प्रमुख बिषयमा सवा केन्द्रित रहने उनले बताए। यो सम्मेलनमा २ बटा प्लेनरी र सात बटा संवाद सञ्चालन गर्ने तयारी छ।

सम्मेलनले पारित गरेका विषयवस्तुलाई जूनमा जर्मनीको बोनमा आयोजना हुन लागेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी)को वैज्ञानिक तथा प्राविधिक परामर्शका लागि सहायक निकाय (एसबिएसटिए) को ६०औं बैठकमा प्रस्तुत गरिने ढकालले बताए।

सम्मेलनमा पर्वतीय क्षेत्रमा हुने जलवायु परिवर्तनको असर भोगिरहेका बङ्गलादेश, श्रीलका तथा माल्दिभ्स जस्ता तल्लो तटीय राष्ट्रलाई सहभागी गराइने तयारी रहेको छ।

प्रधानमन्त्री पुष्ककमल दाहालले उद्घाटन गर्ने उक्त सम्मेलनमा संयुक्त राष्ट्र संघका उच्च अधिकारीलाई पनि निम्तो दिइएको डा ढकालले बताए।

सम्मेलन तयारीका लागि बन तथा वातावरण मन्त्रीको नेतृत्वमा सल्लाहकारी समिति र बन तथा वातावरण सचिवको नेतृत्वमा आयोजक समिति गठन गरिएको छ। 

प्रकाशित: ३ वैशाख २०८१ १८:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App