१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पर्यावरणीय विनाश र चुनौतीले बढ्दै बेचैनी

जलवायु परिवर्तन र मानसिक स्वास्थ्य सम्बन्धबारे अध्ययनहरू बढ्दो क्रममा छन्। तस्बिर: गेटी इमेज

जलवायु परिवर्तनले निम्ताउने अनेकौं प्रभावमध्ये मानसिक स्वास्थ्य एक हो। पछिल्ला वर्षमा पृथ्वीको तापक्रम बढ्दै जाँदा मानसिक तनाव र रोग बढ्दै गएको देखिएको छ। वैज्ञानिक जर्नल ‘नेचर’मा हालै प्रकाशित विभिन्न आलेख तथा प्रतिवेदनका अनुसार जलवायु परिवर्तनले मानिसको मानसिक स्वास्थ्य र भावनात्मक कल्याण बिथोलेको छ।

विश्वमा एक अर्ब मानिस मानसिक विकारबाट प्रभावित छन्। हरेक ७ किशोरकिशोरीमध्ये एकजना यो विकारबाट प्रभावित भएको देखिएको छ। जलवायु परिवर्तनका कारण निम्तिने तातो हावा, खडेरी, बाढी तथा डढेलो जस्ता विपत्ले मानसिक आघात, तनाव र रोग बढ्दो क्रममा रहेको विभिन्न अध्ययनले देखाएका छन्।

त्यस्तै पृथ्वीको तापमान बढ्दै जाँदा पानीको अभाव तथा खाद्य असुरक्षा बढ्दा समुदाय खण्डित हुने र द्वन्द्व बढ्न सक्ने देखिएको छ। पर्यावरणीय विनाश र चुनौतीले मानिसमा पर्यावरणीय बेचैनी (इको–एन्जाइटी) बढेको छ।

जलवायु परिवर्तन र मानसिक स्वास्थ्यका विषयमा यसअघि धेरै गम्भीर अध्ययन नभए पनि पछिल्ला वर्षमा अध्ययनकर्ताको ध्यान आकृष्ट भएको छ। सन् २०२१ मा विश्वका १० देशका १६ देखि २५ वर्ष उमेर समूहका युवामा गरिएको एक अध्ययनमा समेटिएका मध्ये ६० प्रतिशतले आफूहरू जलवायु परिवर्तनका कारण अत्यन्तै चिन्तित रहेको बताएका थिए। अध्ययनमा समेटिएका मध्ये ४५ प्रतिशतले जलवायु परिवर्तनले निद्रा र दैनिकी प्रभावित भएको बताएका थिए।

सन् २०२० मा बेलायतमा १६ देखि २४ वर्ष उमेर समूहका युवामा गरिएको अर्काे अध्ययनले कोभिड–१९ भन्दा जलवायु परिवर्तनले बढी असर पारेको देखाएको थियो। यसअघि सन् २०१८ मा अमेरिकामा गरिएको अनलाइन सर्भेमा सहभागी ७२ प्रतिशतले वातावरणसम्बन्धी नकारात्मक समाचारले मनमा कुरा खेल्ने, निद्रा नलाग्ने र चिन्ता बढाएको बताएका थिए। १८ देखि ३४ वर्ष उमेर समूहका २ हजार २९ युवामा युवामाझ गरिएको सर्भेमा ९२ प्रतिशतले पृथ्वीको भविष्यलाई लिएर चिन्तित रहेको बताएका थिए।

कतिपय अनुसन्धानकर्ताले जलवायु परिवर्तनका विषयमा सामाजिक सञ्जालमा राखिने सामग्रीहरूको आधारमा समीक्षात्मक अध्ययन गरेका छन्। सन् २०२३ मा अमेरिकाको कोलम्बिया विश्वविद्यालयको ‘डाटा साइन्स इन्स्टिच्युट र जापानको ‘लाउरेट इन्स्टिच्युट अफ ब्रेन रिसर्च’का अनुसन्धानकर्ताले सामाजिक सञ्जाल ट्विटर (हाल एक्स) मा सम्प्रेषण गरिएका आठ अर्ब ट्विट अध्ययन गरेका थिए।

सन् २०१५ देखि सन् २०२२ सम्मका ट्विटको अध्ययनले पछिल्ला वर्षमा वातावरणीय परिवर्तनका विषयमा सकारात्मकभन्दा नकारात्मक प्रतिक्रिया बढदो क्रममा रहेको देखाएको छ।

सन् २०१८ मा अमेरिका र मेक्सिकोमा त्यसअघिका दुई दशकको अवधिमा भएका आत्महत्याका विषयमा गरिएको अध्ययनले प्रतिमहिना सरदर १ डिग्री सेन्टिग्रेड तापक्रम बढ्दा मेक्सिकोमा आत्महत्याको दर २.१ प्रतिशतले र अमेरिकामा ०.७ प्रतिशतले बढेको देखाएको थियो। अनुसन्धानकर्ताले सन् २०५० सम्म यी दुई देशमा ९ देखि ४० हजार अतिरिध्m आत्महत्याका घट्ना हुने आकलन गरेका छन्।

यसैगरी, अत्यधिक तापक्रमका कारण पहिल्यै मानसिक रोगबाट ग्रसित, गरिक तथा विपन्न समुदाय तथा चर्काे आर्थिक असमानतामा बाँच्न बाध्य संकटासन्न समुदायहरूमा मृत्युको जोखिम अत्यधिक हुने अध्ययनले देखाएका छन्।

केही प्रयास

पछिल्ला दिनमा जलवायु परिवर्तन र मानसिक स्वास्थ्यकाका क्षेत्रमा केही सकारात्मक प्रयास हुन थालेको छ। विश्वव्यापी मानसिक स्वास्थ्यका सूचकांकमा मौसम र जलवायुसम्बन्धी तथ्यांकसमेत समेट्ने प्रयास गरिएको छ। विश्वका ५२ प्राज्ञिक संस्था र संयुक्त राष्ट्रसंघका विभिन्न निकायको सहकार्यमा स्थापना गरिएको ‘ल्यान्सेट काउन्टडाउन’ परियोजनामा जलवायु परिवर्तन र मानसिक स्वास्थ्य विषयलाई समेटिएको छ।

गत महिना अफ्रिकाको सव–सहारा क्षेत्रका लागि ‘कनेक्टिङ क्लाइमेट माइन्ड्स प्रोजेक्ट’ घोषणा गरिएको छ। अन्तर्राष्ट्रिय अनुसन्धानकर्ता, नीति निर्माता र सर्वसाधारण सहभागी हुने यो परियोजनाले यस क्षेत्रमा विभिन्न अनुसन्धान तथा जलवायु कार्यका आवश्यकताबारे अध्ययन गरी सुझावसमेत दिनेछ।

बेचैनीबाट मुक्तिको उपाय

विश्वमा मानसिक स्वास्थ्य उपचार र हेरचाह अवस्था कमजोर रहेको अवस्थामा जलवायुजन्य विपत्ले निम्तिने मानसिक स्वास्थ्य समस्यालाई सम्बोधन गर्नु झन् ठुलो चुनौती बनेको विज्ञ मान्छन्।

विश्वका कम तथा मध्यम आय भएका राष्ट्रमा अवसाद (डिप्रेसन) बाट प्रभावितमध्ये तीन प्रतिशतले मात्र उपचार पाउने गरेका छन्। धनी राष्ट्रमा भने अवसाद प्रभावितमध्ये २३ प्रतिशतले उपचार पाउने गरेका छन्। यो चुनौतीलाई सम्बोधन गर्न समुदायस्तरमा भएका प्रयासहरूको अध्ययन यथेष्ट हुन नसकेको विज्ञ मान्छन्।

जलवायु परिवर्तनलाई सम्बोधन गर्ने कार्यहरू अगाडि बढाउन सकिएमा पर्यावरणीय बेचैनीसमेत नियन्त्रण गर्न सकिने देखिन्छ। वैज्ञानिक तथा अनुसन्धानकर्ताले यो समस्याको गहिराइमा पुगेर पीडितलाई कस्तो सहयोग गर्नुपर्छ भन्नेमा ध्यान केन्द्रित गर्न आवश्यक देखिएको छ।

जलवायु तथा मानसिक स्वास्थ्यबीचको अन्तर्सम्बन्धबारे यथेष्ट अध्ययन हुन सकेको छैन। मानसिक स्वास्थ्य समस्याको कारक जलवायु परिवर्तन नै हो भनेर यकिन गर्न यस्ता तथ्यांकलाई लामो समयसम्म पछ्याउनुुपर्ने र अध्ययनमा स्थानीय समुदायको अनुभवलाई समेटनुपर्ने विज्ञ ठान्छन्। विश्वको कुल जनसंख्याको आधा जनसंख्यामा प्रति दुई लाख जनसंख्यामा एकजना मनोचिकित्सक रहेको वर्तमान अवस्थामा मानसिक स्वास्थ्यको पहिचान तथा उपचार उत्तिकै पेचिलो बनेको छ।

जोखिममा रहेका समुदायको संकटलाई थेग्न सक्ने क्षमता बढाउन र उनीहरूलाई मनोचिकित्सकीय उपचारको सुनिश्चता गर्नुपर्ने देखिएकाे छ। सन् २०२१ मा गरिएको अन्तर्राष्ट्रिय अध्ययनमा सहभागी ५५ प्रतिशत युवाले जलवायु परिवर्तनले उनीहरूलाई शक्तिहीन बनाएको र ५८ प्रतिशतले सरकारले आगामी पुस्तालाई धोका दिएको बताएका थिए। विश्व नेतृत्वको अकर्मण्यता वातावरणीय बेचैनीको कारक रहेको सन्दर्भमा यो बहुआयामिक समस्याको सम्बोधनमा विश्व नेतृत्व र सबै देशका सरकारको सक्रियता हुनुपर्छ। 

प्रकाशित: १ वैशाख २०८१ ०६:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App