१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

विपन्न परिवारलाई मासिक पाँच किलो नुन

फाइल तस्बिर

मुगुको छायानाथ रारा नगरपालिकाले विपन्न परिवारलाई प्रत्येक महिना पाँच किलो आयोडिनयुक्त नुन निःशुल्क रुपमा दिने भएको छ।

गरिबसँग नगर प्रमुख कार्यक्रमअन्तर्गत यहाँका चार हजारभन्दा बढी विपन्न परिवारलाई वडा कार्यालयमार्फत प्रत्येक महिना घरघरमा नुन उपलब्ध गराउने निर्णय भएको नगर प्रमुख विष्णुकुमार भामले जानकारी दिए।

नुन किन्न सदरमुकाम गमगढी पुग्नुपर्ने बाध्यता अन्त्य गर्न नगरपालिकाले वडाबाटै नुन किनेर दिने नीति अवलम्बन गरेको छ। विपन्न घरधुरीलाई उपलब्ध गराएको परिचयपत्रका आधारमा नुन दिने व्यवस्था गरिएको हो। परिचयपत्रको नवीकरणसमेत वडा कार्यालयमार्फत हुने भएको छ।

नागरिकताका आधारमा पाँच पोका नुन लिन विपन्न समुदायले गाउँदेखि सदरमुकाम गमगढी पुग्नुपर्ने बाध्यता छ। वडाबाटै नुन उपलब्ध हुने भएपछि सदरमुकाम पुग्नुपर्ने समस्या सधैंका लागि समाधान हुने छ।

 नगरपालिकाभित्र बाँझो जमिनमा खेती गर्न नगरपालिकाले विशेष नीति ल्याएको छ। अन्नमा परनिर्भरता अन्त्य गरी खेतीयोग्य जमिन उत्पादनमूलक बनाउन विशेष योजना बनाएको नगर प्रमुख भामले बताए । सिमीलगायतका दालजन्य बाली जिल्ला बाहिर निकासीका काम भइरहेको उनको भनाइ छ ।  

‘हामीले आफैंलाई  गरिब सोचेर समस्या भयो’, नगर प्रमुख भामले भने,  ‘कृषकको उत्पादन र मासुजन्य वस्तु बजारीकरण गर्न हाट बजारको व्यवस्था गरेका छौँ। बधशाला सञ्चालन गर्न नगरपालिकाले पहल गरेको छ।’

कृषकलाई बिउ वितरण र कृषि प्राविधिक गाउँ पठाएर नगरपालिकाले कृषिजन्य वस्तु उत्पादनमा जोड दिएको छ। -रासस

प्रकाशित: ३० चैत्र २०८० १३:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App