२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

काठमाडौं विश्वकै प्रदूषित सहर

वायु प्रदूषणका कारण धुम्म परेको राजधानी काठमाडौं। फाइल तस्बिर : नागरिक

राजधानी काठमाडौं आइतबार विश्वको सबैभन्दा प्रदूषित सहर बनेको छ। विश्वका प्रमुख सय सहरमा काठमाडौंको वायु सबैभन्दा बढी प्रदूषित रहेको स्विजरल्यान्डस्थित वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यु एयरले जनाएको छ।

उक्त संस्थाका अनुसार आइतबार साँझ काठमाडांैको वायु गुणस्तर सूचकांक (एक्युआई) २०० अंक पुगेको छ। यो जनस्वास्थ्यको हिसाबले अत्यन्त अस्वस्थकर तह हो। काठमाडौंपछि १६७ अंकसहित बंगलादेशको ढाका विश्वकै दोस्रो र त्यति नै अंकसहित थाइल्यान्डको चेङमाई तेस्रो प्रदूषित सहरको सूचीमा परेका छन्।

वायु प्रदूषणले जनस्वास्थ्यमा पार्ने प्रभावका हिसाबले शून्यदेखि ५०० सम्म विभिन्न तहमा अंक विभाजन गर्दा २०१ देखि ३०० सम्मको एक्युआईलाई वैजनी रङ दिइएको छ। मानव स्वास्थ्यका लागि अत्यन्त अस्वस्थकर यो तहमा खुला ठाउँमा कुनै शारीरिक गतिविधि नगर्न सुझाइन्छ।

त्यस्तो अवस्थामा घरभित्रै बस्न हितकर ठानिन्छ। वैजनी रङभन्दा माथिको तह अर्थात् ३०० भन्दा माथिको एक्युआईलाई मरुन रङ दिइएको छ, जुन जनस्वास्थ्यका लागि घातक तह मानिन्छ।

विशेषगरी डिजेलमा आधारित सवारीसाधनले गर्ने उत्सर्जन, वनजंगलमा डढेलो लाग्दा निस्कने धुवाँ, इँटा कारखानाले गर्ने उत्सर्जन, कृषि अवशेष जलाउँदा हुने उत्सर्जन तथा फोहोर बाल्दा हुने उत्सर्जन वायु प्रदूषणको प्रमुख कारण मानिँदै आएको छ।

शरीरका अधिकांश अंगलाई असर पार्ने वायु प्रदूषणका कारण पछिल्ला वर्षहरूमा विशेषगरी श्वासप्रश्वास, फोक्सोको क्यान्सर, मुटुरोग, हाइपर टेन्सन, मस्तिष्कघातका बिरामीको संख्या बढेको देखिएको छ।

स्टेट अफ ग्लोबल एयर–२०२० का अनुसार घरभित्र र बाहिर हुने वायु प्रदूषणका कारण सन् २०१९ मा नेपालमा ४२ हजार जनाको मृत्यु भएको थियो। वायु प्रदूषणजन्य मृत्युमध्ये १९ प्रतिशत पाँच वर्षमुनिका बालबालिका र २७ प्रतिशत ७० वर्षमाथिका रहेको अध्ययनहरूले देखाएका छन्।

प्रकाशित: २६ चैत्र २०८० ०६:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App