१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

विश्व क्षयरोग दिवस:बागलुङमा रोग निवारण अभियान

‘हामी क्षयरोग अन्त्य गर्छौँ’ भन्ने नारासहित बागलुङमा क्षयरोग निवारण अभियान थालिएसँगै परीक्षणको दायरा बढाएर क्षयरोगी पत्ता लगाउने क्रम पनि सुरु भएको छ।

हरेक वर्ष मार्च २४ मा मनाइने विश्व क्षयरोग दिवस आज यहाँ पनि चेतना अभिवृद्धिसम्बन्धी विविध कार्यक्रम गरेर मनाइँदै छ। 

यस वर्ष गलकोट र बडिगाडलाई क्षयरोगमुक्त पालिका बनाउने लक्ष्य छ। त्यसका लागि ती क्षेत्रमा परीक्षणको दायरा पनि बढाइएको हो। परीक्षणको दायरा बढाउँदा सङ्क्रमितको संख्या पनि उल्लेख्य भेटिएका कुष्ठरोग निरीक्षक देवप्रकाश घिमिरेले बताए।  

क्षयरोगीलाई प्रत्यक्ष निगरानीमा औषधि सेवन गर्न लगाउने, तीनपटक परीक्षण गर्ने र सङ्क्रमितको परिवारका सदस्यको पनि खकार परीक्षण गर्ने योजना रहेको निरीक्षक घिमिरेले सुनाए। एकजना क्षयरोगीले २५ जनासम्मलाई श्वासप्रश्वासको माध्यमबाट रोग सार्ने भएकाले यो कोरोनाभन्दा पनि जोखिम भएको उउनले बताए।  

‘हामीले सामान्य मानेका छौँ, तर यो भयानक सङ्क्रमण हो’,घिमिरेले भने,‘सामान्यजस्तो लागे पनि हामी क्षयरोगका व्याक्टेरिया बोकेर हिँडेका छौँ।’ रोग प्रतिरोधी क्षमता कमजोर भएको समयमा ती व्याक्टेरिया सक्रिय बन्ने बताए।  

नेपालका ६० प्रतिशत युवामा क्षयरोगका ‘ब्याक्टेरिया’ भएको स्वास्थ्यकर्मीको अनुमान छ। धूमपान र मद्यपान गर्नेलाई सङ्क्रमण बढी हुने उनीहरू बताउँछन्। कुपोषण भएका बालबालिका, ज्येष्ठ नागरिक, समूहमा बस्नेहरू समेतमा क्षयरोगको सङ्क्रमण बढी हुने बताइएको छ। निरीक्षक घिमिरेका अनुसार गत वर्ष दुई सय ३५ जनामा क्षयरोग सङ्क्रमण भएकामा चालु वर्षको आठ महिनामै यो सङ्ख्या दुई सय २७ पुगेको हो।  

बागलुङमा पछिल्लो समय क्षयरोगको परीक्षणको दायरा बढेसँगै सङ्क्रमित पनि बढेको स्वास्थ्य कार्यालयका प्रमुख बाबुराम आचार्यले जानकारी दिए। जिल्लाका १४ वटा प्रयोगशालाबाट क्षयरोग परीक्षण हुने गरेको छ। जटिल प्रकारको अवस्थाबाहेक सबैलाई ती प्रयोगशालाबाट खकार परीक्षण गरिन्छ। जटिल प्रकारको भएमा धवलागिरि अस्पतालमा रहेको विशेष यन्त्रबाट परीक्षण हुनेछ। जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले सङ्क्रमण रोक्न सबै प्रकारका प्रयास गर्नुपर्ने र जनतामा सचेतना अभियान सञ्चालन गर्नुपर्ने बताए।-रासस

प्रकाशित: ११ चैत्र २०८० १०:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App