७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

पहिचान संकटमा परेपछि महोत्सव

आदिवासी जनजातिको पहिचान चिनाउन महोत्सव

चितवनमा मानिसहरूको बसोबासको इतिहास त्यति लामो छैन। वि.स.२०१४ सालको जनसंख्या १६ हजार हाराहारीमा मात्र थियो। संरक्षणकर्मी रामप्रीत यादवका अनुसार, सो समयमा आदिवासी जनजाति थारु, बोटे, कुमाल र दराई समुदाय बाहेक अन्य समुदायको उपस्थिति नगन्य थियो।

पछिल्लो जनगणना अनुसार जिल्लामा ४० वटा आदिवासी जनजातिको बसोबास रहेको छ। तर, आधुनिकतासँगै उनीहरूको मौलिक सांस्कृतिक भने संकटमा पर्दै गएको बुढापाकाहरू बताउँछन्। यसलाई संरक्षण गर्न युवापुस्ता लागि परेका छन्। उनीहरुले नारायणी किनारमा आदिवासी जनजाति सांस्कृतिक महोत्सवको आयोजना गर्दैछन्। 

नारायणी नदी किनारमा यही चैत ९ देखि १८ गतेसम्म ‘प्रथम आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारिक महोत्सव’ लाग्दैछ। नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् चितवनले महोत्सव आयोजना गर्न लागेको हो। 

आदिवासी जनजाति समुदायको सांस्कृतिक पहिचानलाई विश्वव्यापी प्रचारप्रसार गराउने उद्देश्यले चितवन जिल्लाले पहिलो पटक महोत्सव आयोजना गर्न लागेको हो। करिब ४० जाति आदिवासी जनजाति समुदायको बसोबास रहेको चितवन जिल्लामा हाल १७ जाति सङ्गठित भएका छन्। सङ्गठित हुन बाँकी जातिलाई पनि सङ्गठित बनाइ महोत्सवको तयारीमा जुटिरहेको आयोजक संस्थाका अध्यक्षसमेत रहेका महोत्सव मूल समारोह समितिका संयोजक महेन्द्र दुराले जानकारी दिए।

‘किनकि यो महोत्सवले चितवनमा बसोबास गर्ने आदिवासी जनजाति समुदायको संस्कृति र पहिचान बोकेको छ । त्यस कारण पनि यो महोत्सवको भूमिका फरक छ,’ मूल समारोह समितिका संयोजक दुराले भने। मनोरञ्जनसँगै पर्यटन प्रवर्द्धन, कृषि उपजको उत्पादन र बजारीकरण तथा व्यापार व्यवसायलाई थप चलायमान गराउनको लागि महोत्सवले विशेष भूमिका खेल्ने उनको भनाइ छ।

महोत्सवस्थलमा यतिखेर धमाधम अस्थायी संरचना निर्माण गरिएको छ। महोत्सवमा आदिवासी जनजातिको पहिचानलाई स्थापित गराउन महोत्सवस्थलभित्रै गाउँ निर्माण गरिएको छ।

सबै आदिवासी जनजातिलाई समेटेर सांस्कृतिक एवम् परम्परागत घरमार्फत पहिचान दिलाउने गरी गाउँ निर्माण गरिएको हो। हालसम्म चितवनमा १७ वटा जनजाति समुदाय सङ्गठित भएर जनजाति महासङ्घमा आबद्ध छन्। तिनैमध्ये कम्तीमा १० वटा जातजातिको घर महोत्सवस्थलमा निर्माण हुने आयोजकले जनाएको छ।

महोत्सव मूल समारोह समितिका संयोजक महेन्द्र दुराका अनुसार आदिवासी जनजाति समुदायको विषयमा अध्ययन तथा अनुसन्धान गर्ने अनुसन्धाताहरूलाई समेत सघाउ पुग्ने गरी महोत्सवस्थलमा आदिवासी जनजातिका घर निर्माण गरिएको हो।

सांस्कृतिक घर निर्माण उपसमितिका संयोजक सञ्जय कुमालका अनुसार यसपटक ११ वटा जातजातिका घर निर्माण हुनेछन्। महोत्सवस्थलमा निर्मित आदिवासी जनजाति समुदायको गाउँले पुरानो पुस्तालाई भन्दा पनि नयाँ पुस्तालाई आकर्षित गर्ने विश्वास लिइएको छ।

परिवर्तित समयसँगै आदिवासी जनजाति समुदायका मौलिक परम्परा हराउँदै गएको अवस्थामा नयाँ पुस्तालाई आफ्नो जाति र समुदायबारे परिचित गराउन पनि आदिवासी जनजातिका गाउँले फरक अनुभूति दिलाउने भरतपुर ११ नौरङ्गेकी नुरमाया कुमाल बताउँछिन्।

यो महोत्सवमा निर्मित घर देख्दै गर्दा आधुनिक संरचनालाई पनि मौलिकता झल्किने गरी निर्माण गर्न सकिने महसुस गराएको उनको भनाइ छ। जनजाति परिषरकै कारण चितवनमा हुँदै आएको अन्य मेला महोत्सवभन्दा विल्कुलै फरक हुने प्रचारप्रसार उपसमितिका संयोजक रमेश राना मगरले बताए।

आदिवासी जनजाति समुदायको परिसर र करिब ३५० वटा व्यापारिक प्रदर्शनी कक्ष रहने महोत्सवले भरतपुर भ्रमण वर्षलाई समेत टेवा पु¥याउने विश्वास लिइएको छ। भरतपुर महानगरपालिकाले तय गरेको ‘घुमौँ भरतपुर’लाई सार्थ तुल्याउन महोत्सवले ठूलो भूमिका खेल्ने आयोजकको दाबी छ। प्रथम आदिवासी जनजाति सांस्कृतिक महोत्सव चितवनमा हुँदै आएको अन्य महोत्सवभन्दा फरक रहेको पनि महोत्सव मूल समारोह समितिले जनाएको छ।

चितवनमा कुल जनसंख्याको २४ प्रतिशत आदिवासी जनजातिको बसोबास छ। पछिल्लो जनगणना २०७८ अनुसार सात लाख १९ हजार ८५९ जनसंख्या रहेको चितवनमा आदिवासीको १ लाख ७१ हजार ७९२ रहेको छ। त्यसमा सबैभन्दा बढी थारु समुदायको जनसंख्या ३७ हजार ४५२ रहेको छ।  त्यसपछि तामाङ, गुरुङ, मगर, चेपाङ, नेवार, कुमाल दराई जातिको बसोबास छ।

चितवनमा विस २०१०को दशकमा थारु, बोटे, दराई समुदाय बाहेक अन्यको बसोबास नरहेको संरक्षण कर्मी रामप्रीत यादव बताउँछन्। २०१४ साल अघि माडिमा ६ वटा गाउँ थियो। बोटे, दराई फ्याट् फुट्ट थिए, उनले विगत सम्झँदै भन्छन् सन् १९५० अघि मलेरिया लाग्छ भनेर आएका मानिस पनि भागेर पहाड तिरै फर्कन्थे। मलेरिया उन्मुलन भएपछि अन्य समुदायहरूको बाक्लो उपस्थिति रहेको उनले बताए। राजा महेन्द्रले चितवनमा बस्ती बसाउन बिउँ सहित ६ बिघाको प्लट दिने गरेका थिए। तर मानिसहरू पहाड नै फर्कने गरेको उनले बताए। 

प्रकाशित: ८ चैत्र २०८० १६:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App